नेकपा र सूर्य चिन्ह हाम्रै हो, घोषणा हुन मात्र बाँकी छ: प्रचण्ड
काठमाडौं, फागुन १७ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रचण्ड-नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेकपाको वैधानिकता र चिन्ह आफूहरुले पाउने बताएका छन्।उनले...
काठमाडौं, फागुन १७ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रचण्ड-नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेकपाको वैधानिकता र चिन्ह आफूहरुले पाउने बताएका छन्।
उनले निर्वाचन आयोगले घोषणा गर्न मात्रै बाँकी रहेको बताएका छन्। उनले भने, 'त्यसको आधिकारिक घोषणा हुन मात्रै बाँकी छ।'
सोमबार नेकपा निकट पेसागत महासङ्घ नेपाल र नेपाल राष्ट्रिय कर्मचारी महासङ्घको एकता घोषणासभालाई सम्बोधन गर्दै उनले सूर्य चिह्न पनि आफ्नै हुने बताए। 'कोही भ्रममा पर्नुपर्दैन। नेकपा र सूर्य चिन्ह हाम्रै हो, घोषणा हुन मात्र बाँकी छ,' प्रचण्डले भने।
निर्वाचन आयोगको सेटिङ भत्किँदै गएको उनको भनाइ थियो। आयोगले केही दिनमै बहुमतले गरेको निर्णयलाई आधिकारिकता दिने उनको विश्वास थियो।
अध्यक्ष प्रचण्डले भने, 'अब छिट्टै नयाँ सरकार बन्छ र त्यस सरकारले लोकतान्त्रिक व्यवस्था अनुसारको सुशासन दिनेछ।'
उनले पार्टीका स्थायी कमिटी र केन्द्रीय कमिटीको निर्णयलाई नमान्ने र आफू सर्वेसर्वा भएको घमण्ड गर्दै ओलीले लोकतान्त्रिक मूल्य र मान्यतालाई लत्याएको आरोप लगाए।
प्रचण्डले पार्टीभन्दा बाहिर रहेका नेता तथा कार्यकर्तालाई मूल पार्टीमा फर्कन आग्रह गरे। उनले नेकपाको मूल पार्टीको मान्यता र निर्वाचन चिह्न आफूहरुले नै पाउने र त्यसको घोषणा हुन मात्रै बाँकी रहेको बताए।
अब केही दिनमै दलबीच एउटा समझदारी बन्ने र मुलुकले निकास पाउने भन्दै जनताको आशा भरोसालाई माथि उठाउनुपर्नेमा उनको जोड थियो।











