अमेरिकामा मंगलबारसम्म ४० लाख डोज खोप वितरण गरिने
वासिङ्टन, १७ फागुन : अमेरिकामा मंगलबारसम्म कोरोना भाइरसविरुद्धको ४० लाख डोज खोप वितरण गरिने भएको छ। जोन्सन एन्ड जोन्सन कम्पनीको ४० लाख डोज...
वासिङ्टन, १७ फागुन : अमेरिकामा मंगलबारसम्म कोरोना भाइरसविरुद्धको ४० लाख डोज खोप वितरण गरिने भएको छ। जोन्सन एन्ड जोन्सन कम्पनीको ४० लाख डोज खोप मंगलबारसम्म अमेरिकाका विभिन्न राज्यमा वितरण गरिने तयारी छ।
खाद्य तथा औषधि प्रशासन (एफडीए)ले शनिबार जोन्सनको खोप प्रभावकारी देखिएको भन्दै आपतकालीन प्रयोगका लागि अनुमति दिएको थियो। अमेरिकामा जोन्सन समेत गरी तीन कम्पनीका खोपले प्रयोगको अनुमति पाएका छन्। यसअघि फाइजर र मोडर्नाका खोपले स्वीकृत पाएका थिए।
एक डोज मात्र लगाए पुग्ने जोन्सनको खोप गम्भीर प्रकृतिको कोभिड–१९ रोकथाम गर्न पनि सफल हुने दाबी गरिएको छ। अमेरिकी खाद्य तथा औषधि प्रशासनले कोभिड–१९ को नयाँ स्वरुपलाई पनि रोकथाम गर्न जोन्सनको खोप प्रभावकारी भएको बताएको छ।
अमेरिकी राष्ट्रपति जो बाइडेनले अमेरिकाले तेस्रो खोपलाई अनुमति दिएको बताउँदै कोभिड–१९ विरुद्धको संघर्ष अझै समाप्त भइनसकेको बताए। बाइडेनले जोन्सन कम्पनीको खोप सफल देखिएकोमा सबै अमेरिकी खुशी भएको बताएका छन्। उनले कोरोना भाइरसले सिर्जना गरेको संकट समाधान गर्न यो महत्वपूर्ण भएको बताएका छन्।
अमेरिकामा हालसम्म ६ करोड ५० लाख व्यक्तिले कोभिड–१९ विरुद्धको खोप लिइसकेका छन् । जोन्सनको खोपलाई कम तापक्रममा पनि भण्डार गर्न सकिने र एक डोज मात्र लगाए हुने भएकाले यसको आपूर्ति व्यवस्था मिलाउन निकै सहज हुनेछ ।
क्लिनिकल ट्रायल (नमुना परीक्षण)मा जोन्सनको खोप अमेरिकामा ८५.९ प्रतिशत, दक्षिण अफ्रिकामा ८१.७ र ब्राजिलमा ८७.६ प्रतिशत प्रभावकारी देखिएको थियो।












