म्यान्मारमा प्रहरीको गोली लागेर १८ जना प्रदर्शनकारीको ज्यान गयो
काठमाडौं, फागुन १७ : म्यानमारमा प्रहरीले चलाएको गोली लागेर १८ जना प्रदर्शनकारीको ज्यान गएको छ । ३० जनाभन्दा धेरै प्रदर्शनकारी घाइते भएका बीबीसीले जनाएको...
काठमाडौं, फागुन १७ : म्यानमारमा प्रहरीले चलाएको गोली लागेर १८ जना प्रदर्शनकारीको ज्यान गएको छ । ३० जनाभन्दा धेरै प्रदर्शनकारी घाइते भएका बीबीसीले जनाएको छ ।
प्रहरीले प्रदर्शनकारीमाथि आइतवार गोली चलाउँदा उक्त घटना भएको हो। प्रहरीले गोली र अश्रुग्यास प्रहार गर्दा याङ्गुन लगायतका सहरमा मानिसहरू मारिएको विवरणहरूमा जनाइएको छ। सुरक्षाकर्मीहरू प्रदर्शनविरुद्ध शनिवारदेखि कडा रूपमा प्रस्तुत हुन थालेका छन्। फेब्रुअरी १ मा सेनाले सत्ता हातमा लिएयता म्यान्मारमा व्यापक रूपमा शान्तिपूर्ण प्रदर्शन भइरहेका छन्।
संयुक्त राष्ट्रसङ्घको मानवअधिकार कार्यालयले कम्तीमा १८ जना मारिएको म्यान्मारको घटनालाई अहिलेसम्मकै घातक भनेको छ। आङ सान सू ची लगायत तत्कालीन सरकारका नेताहरूलाई अपदस्थ गरिनुका साथै उनीहरूलाई बन्दी बनाइएको छ। सामाजिक सञ्जालहरूमा आएका भिडिओ फुटेजहरूमा प्रहरीले कारबाही गर्दा प्रदर्शनकारीहरू भागिरहेको देखिन्छ।
बाटो छेक्न अवरोधहरू खडा गरिएको र मानिसहरू रगतमा लतपतिएको देखिन्छ। एकजना प्रदर्शनकारीले प्रहरी दमनबाट आन्दोलन नरोकिने बताएका छन् ।












