तनहुँ जलविद्युत् आयोजनाका मजदूर आन्दोलित, निर्माण ठप्प
तनहुँ, फागुन १६ : तनहुँको १४० मेगावाट विद्युत् उत्पादन गर्न लागेको तनहुँ जलविद्युत् आयोजनाको प्याकेज–२ को ठेकेदार कम्पनी सिनो हाइड्रो कर्पोरेसनका व्यवस्थापक र...
तनहुँ, फागुन १६ : तनहुँको १४० मेगावाट विद्युत् उत्पादन गर्न लागेको तनहुँ जलविद्युत् आयोजनाको प्याकेज–२ को ठेकेदार कम्पनी सिनो हाइड्रो कर्पोरेसनका व्यवस्थापक र कार्यरत मजदूरबीच तनाब भएको छ।
शुक्रबार राति विद्युत् गृहमा अपरेटर पुष्कर थापाले स्काभेटर सफा गर्ने क्रममा पानी उछिटिन गई एक चीनियाँ व्यक्ति भिजेपछि त्यसको प्रतिशोधमा चीनियाँ व्यक्तिले ढुङ्गा प्रहार गर्दा स्काभेटरको सिसा फुटेपछि कर्पोरेसनका व्यवस्थापक र मजदूरबीच तनाब उत्पन्न भएको हो। त्यहि विषयलाई लिएर मजदूर आन्दोलित भएका छन्।
त्यससँगै लामो समयदेखि आयोजनासँग भएको सम्झौता कार्यान्वयन नभएको भन्दै चार सय मजदूर आन्दोलनमा उत्रिएका छन्। आयोजनामा काम गर्दै आएका मजदूरले शनिबारदेखि निर्माण कार्यमा सहभागी नभएको सिनोहाइड्रो मजदूर युनियनका अध्यक्ष आशिष श्रेष्ठले बताए।
दुवै पक्षबीच खतरा हुने देखिएकाले समस्या समाधान नहुँदासम्म काम रोकेर छलफलका माध्यमबाट सहजीकरण गर्न लागिएको बताइएको छ। वर्षमा १० प्रतिशतका दरले तलब वृद्धि गर्ने, सञ्चय कोषको व्यवस्था, जोखिम बहन अनुमति बहनलगायत माग राख्दै आएकामा सम्बोधन हुन नसकेको सरोकार समितिका सचिव कुशबहादुर थापाले बताए।
हाल निर्माण कार्य बन्द गरी आन्दोलनमा रहे पनि वार्ताको माध्यमबाट विवाद टुङ्ग्याउने गरी टोली गठन गरेर छलफल भइरहेको आयोजनाका उपनिर्देशक तुलसीप्रसाद सापकोटाले बताए।
तनहुँ जलविद्युत् आयोजनाबाट प्रभावित क्षेत्रलाई चार समूहमा विभाजन गरी निर्माण कार्य थालेको छ। जिल्लाको साविकको झण्डै १८ गाउँ विकास समिति प्रभावित हुने सो आयोजनाले जनाएको छ। जलाशय क्षेत्रअन्तर्गत भीमाद, छाङ, माझकोट, ऋषिङ, रानीपोखरी, कोटदरबार, जामुने, साबुङभगवतीपुर, काहुँ शिवपुर र व्यास नगरपालिका रहेका छन्।
त्यसैगरी बाँध, विद्युत् गृह, पानी निस्कासन सुरुङ र स्वीच वार्ड काँहु शिवपुर र व्यास नगरपालिकामा रहने छ । आयोजनाको सुविधा संरचना (पहुँच मार्ग, बसोवास क्षेत्र, ब्याचिङ्ग वार्ड) काँहु शिवपुर र व्यास नगरपालिकामा रहेको छ भने तल्लोतटीय क्षेत्र काँहु शिवपुर, पोखरी भञ्ज्याङ, केशवटार, धरमपानी, बैदी, छिपछिपे, देवघाट र देउराली रहेको छ।
आयोजनाको लम्बाइ १८ किलोमिटर रहने छ । पानीले भरिंदा पानीको अधिकतम सतह समुन्द्र सतहबाट ४१५ मिटर रहने छ। (रासस)











