Kathmandu Press

सुवास नेम्वाङ भन्छन्– संसद् पुनर्स्थापनापछि सरकार झन् बलियो

काठमाडौं, फागुन १५ : नेकपा ओली समूहका नेता सुवास नेम्वाङले सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनस्र्थापना गरेपछि केपी ओली नेतृत्वको सरकार झन बलियो भएको बताएका...
सुवास नेम्वाङ भन्छन्– संसद् पुनर्स्थापनापछि सरकार झन् बलियो
फाइल तस्बिर ।

काठमाडौं, फागुन १५ : नेकपा ओली समूहका नेता सुवास नेम्वाङले सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनस्र्थापना गरेपछि केपी ओली नेतृत्वको सरकार झन बलियो भएको बताएका छन्। ओली समूह निकट सिन्धुपाल्चोक–काठमाडौं सम्पर्क मञ्च गरेको कार्यक्रममा नेता नेम्वाङले संविधानसभा विघटनपछि कामचलाउ बनेको ओली सरकार पुनस्र्थापनापछि झन बलियो भएको बताएका हुन्।

पुनर्स्थापना नहुँदासम्म केपी ओली त केयर टेकर हो निर्वाचन घोषणा गरेको छ, निर्वाचन घोषणा गरेपछि कामचलाउ भएका प्रधानमन्त्रीले निर्णय गर्न पाउँदैनन्, यो कामचलाउ सरकारको प्रधानमन्त्री भन्ने गर्नुहुन्थ्यो, हामी त्यो ठीक होइन भनिरहेको थियौं,’ नेता नेम्वाङले भने, ‘अब त त्यो दुःख पनि गर्नु परेन । प्रतिनिधिसभा पुनस्र्थापना भयो, उहाँ त हिजोभन्दा झन् दह्रो पो हुनुभयो ।’

प्रतिनिधिसभा भंग गरेर जनतामा जाने प्रधानमन्त्री ओलीको निर्णय लोकतन्त्रसम्मत भएको उनले बताए । प्रतिनिधिसभा पुनर्स्थापना भएपछि अविश्वासको प्रस्ताव ल्याउने हल्ला सुनिएको भन्दै नेम्वाङले सरकारले प्रस्तावको सामना गर्ने बताए । अविश्वास प्रस्ताव फेल भएमा सरकार फेरि एक वर्ष चल्न पाउने व्यवस्थाले विपक्षीहरूलाई प्रस्ताव ल्याउन नै डर लागेको पनि नेम्वाङले बताए ।

कानुनी रूपमा नेकपा विभाजन नभएको बताउँदै नेम्वाङले अहिले पनि पहिलो अध्यक्ष केपी ओली र दोस्रो अध्यक्ष प्रचण्ड कायम नै रहेको बताए ।

 

प्रकाशित मिति: १८:५९ बजे, शनिबार, फागुन १५, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्