Kathmandu Press

‘प्रधानमन्त्री ओलीकाे पक्षमा बहुमत सांसद’

काठमाडौं, फागुन १५ : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ओली समूहका संसदीय दलका मुख्य सचेतक विशाल भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीको पक्षमा एक सयभन्दा...
‘प्रधानमन्त्री ओलीकाे पक्षमा बहुमत सांसद’

काठमाडौं, फागुन १५ : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ओली समूहका संसदीय दलका मुख्य सचेतक विशाल भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीको पक्षमा एक सयभन्दा बढी सांसद रहेको दाबी गरेका छन् ।

रिपोर्टर्स क्लब नेपालद्वारा शनिबार आयोजित साक्षात्कारमा बोल्दै भट्टराईले संसदमा आवश्यक परे त्यो संख्या देखाउन आफूहरू तयार रहेको बताए । ‘प्रधानमन्त्री ओली अल्पमतमा हुनुहुन्छ भनेर बाहिर हल्ला चलाइएको छ तर उहाँ बहुमतमा हुनुहुन्छ,’ उनले भने।

मुख्य सचेतक भट्टराईले जनताले नेकपालाई झन्डै दुई तिहाइ बहुमत दिएर पठाएको तर पार्टीभित्रकै केही नेताको स्वार्थका कारण दुई वर्ष नपुग्दै प्रधानमन्त्री ओलीलाई हटाउने खेल सुरु भएको बताए।

‘प्रधानमन्त्री ओलीलाई प्रधानमन्त्री र अध्यक्ष दुवै पदबाट हटाउने खेल सुरु भयो,’ उनले भने, ‘यसको आभास पाउनेबित्तिकै उहाँसँग दुई विकल्प थिए, एउटा आत्मसमर्पण, अर्को संसद् विघटन।’

प्रतिनिधिसभा विघटनपछिका दुई महिनाबीच आफूहरू पार्टीलाई जनस्तरसम्म लिएर जान सफल भएको पनि उनको भनाइ थियो । सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनःस्थापना फैसलालाई आफूहरुले सम्मान गरेको र सोहीबमोजिम अधिवेशन बोलाउन सिफारिस गरिसकेको उनले जानकारी दिए।

संसद प्रधानमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव आए आफूहरुले त्यहीँ प्रतिवाद गर्ने पनि भट्टराईले जनाए । उनले आफूहरुले प्रचण्ड र माधवकुमार नेपाललाई अहिलेसम्म कारबाही नगरेको पनि जनाए।

उनले प्रचण्ड र माधव नेपाललाई पनि अझै सच्चिने ठाउँ रहेको तर त्यसका लागि प्रचण्डले पार्टी कमिटी बैठकमा पेस गरेको १९ पृष्ठ लामो आरोपपत्र फिर्ता गर्नुपर्ने र संसद्को पूरा अवधि नै ओलीलाई प्रधानमन्त्री र अर्को महाधिवेशनसम्म अध्यक्ष स्विकार गर्नुपने धारणा राखे।

संसद् अधिवेशनअघि नै आफूहरुको संसदीय दलको बैठक बस्ने पनि उनले जानकारी दिए । उनले दाहाल–नेपाललाई पनि सो बैठकमा सहभागी हुन आग्रह गरे।

प्रधानमन्त्रीविरुद्ध संसद्मा अविश्वासको प्रस्ताव दर्ता भए त्यसको डटेर सामना गर्ने उनले जनाए । सांसदहरूले ह्विप उल्लंघन गरे विधानअनुसार कारबाही गर्ने चेतावनीसमेत उनले दिए।

उनले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संस्थागत रूपमा प्रधानमन्त्रीको राजीनामा नमागेको पनि जिकिर गरे । उनले पहिला कसको कित्तामा उभिने भनेर कांग्रेसले कित्ता क्लियर गर्नुपर्ने बताए।

निर्वाचन आयोगले नेकपाको आधिकारिकता आफूहरूलाई नै दिने विश्वास पनि उनले व्यक्त गरे ।
 

प्रकाशित मिति: १७:२० बजे, शनिबार, फागुन १५, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्