घानामा खोप अभियान सुरु हुँदै, राष्ट्रपतिले खोप लगाएर अभियान थालिने
एजेन्सी, फागुन १४ : घानामा आगामी मार्च २ देखि कोरोनाभाइरस विरुद्धको खोप लगाउने अभियान सुरु गरिने भएको छ । खोप अभियानको सुरुवात भने...
एजेन्सी, फागुन १४ : घानामा आगामी मार्च २ देखि कोरोनाभाइरस विरुद्धको खोप लगाउने अभियान सुरु गरिने भएको छ । खोप अभियानको सुरुवात भने राष्ट्रपति नाना अड्डो डङ्क्वा अकुफो अड्डोले खोप लगाएर गर्ने तय भएको छ ।
राष्ट्रपतिका स्वास्थ्य मामिला सल्लाहकारले राष्ट्रपतिले लगाएपछि उच्च प्राथमिकताको सूचिमा परेकाहरुलाई कोरोनाविरुद्धको खोप लगाइने जानकारी दिए । खोप लगाउनु सुरक्षित हुन्छ भन्ने सन्देश दिनका लागि र खोपप्रति सवैलाई विश्वास दिलाउनका लागि राष्ट्रपतिले आफैले लगाएर सुरु गर्न लागेको पनि उनले स्पष्ट पारे ।
राष्ट्रपतिले नै खोप लगाएपछि आम नागरिकहरु पनि खोप लगाउन प्रोत्साहित हुने सरकारी अधिकारीहरुले अपेक्षा गरेका छन् । खोप लगाएमा स्वास्थ्यलाई फाइदा हुन्छ भन्ने बुझाउन आवश्यक रहेको स्वास्थ्य अधिकारीहरुले बताएका छन् । “खोप लगाउन पाउनु राम्रो अवसर हो, त्यसलाई उपयोग गर्नुपर्छ भनेर सवैलाई प्रेरित गर्नु आवश्यक छ, खोप लगाएपछि हामी सवै सुरक्षित हुन्छौँ भन्ने पनि बुझाउनुछ,” उनले भने ।
घानामा बुधबार छ लाख अस्ट्राजेनिका खोप ल्याइएको छ । यो खोप भारतको सेरुम इन्स्टिच्युटले उत्पादन गरेको हो । कोरोनाभाइरसका कारण घानामा अहिलेसम्म ८१ हजार २४५ जना सङ्क्रमित भएका छन् भने ५८४ जनाको मृत्यु भएको छ ।












