सर्वोच्चमा 'नेकपा' नामसम्बन्धी मुद्दामा सुनुवाइ सकियो, २० गते फैसला हुने
काठमाडौं, फागुन १३ : सर्वोच्च अदालतमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नामसम्बन्धी परेको मुद्दामा सुनुवाइ सकिएको छ। सर्वोच्चले फागुन २० गते फैसला सुनाउने भएको...
काठमाडौं, फागुन १३ : सर्वोच्च अदालतमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नामसम्बन्धी परेको मुद्दामा सुनुवाइ सकिएको छ। सर्वोच्चले फागुन २० गते फैसला सुनाउने भएको छ।
नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)बीच एकता भएपछि नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नाम राखिएको थियो। यस नामले त्योभन्दा अघि नै ऋषिराम कट्टेलले निर्वाचन आयोगमा दल दर्ता गरिसकेका थिए। नाम जुधाएको भन्दै उनले सर्वोच्च अदालतमा मुद्दा हालेका थिए।
लामो समयदेखि पेसी सर्दै आएको यसमुद्दामा बिहीबार सुनुवाइ भएको हो। न्यायाधीशहरू बमकुमार श्रेष्ठ र कुमार रेग्मीको इजलासले सुनुवाइ सकेर अब फागुन २० गते फैसला सुनाउने दुवै पक्षका वकिललाई जानकारी दिएको छ। सर्वोच्च अदालतका सञ्चार विज्ञ किशोर पौडेलले पनि फागुन २० गते फैसला सुनाइने भएको बताए।
अध्यक्ष कट्टेलले नेकपासँगै निर्वाचन आयोगलाई पनि विपक्षी बनाएर मुद्दा हालेका थिए।
२०७५ साल जेठ ३ गते तत्कालीन एमाले र माओवादी केन्द्रबीच एकता भएर नेकपा गठन गरिएको थियो। त्यसपछि कट्टेलले निर्वाचन आयोगमा उजुरी दिएका थिए।
आयोगले २०७५ कात्तिक ९ गते केपी शर्मा ओली र पुष्पकमल दाहाल अध्यक्ष रहेको नेकपाकै पक्षमा निर्णय गरेको थियो। त्यसपछि कट्टेल २०७५ मंसिर २१ गते सर्वोच्च पुगेका थिए।











