Kathmandu Press

बूढानीलकण्ठमा कांग्रेस सभापति देउवासँग प्रचण्ड र नेपालकाे २० मिनट भेटवार्ता

काठमाडौं, फागुन १२ : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहका अध्यक्षहरू पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेट्न...
बूढानीलकण्ठमा कांग्रेस सभापति देउवासँग प्रचण्ड र नेपालकाे २० मिनट भेटवार्ता

काठमाडौं, फागुन १२ : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहका अध्यक्षहरू पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग उनको बूढानीलकण्ठस्थित निवासमा भेटवार्ता गरेका छन्।

सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनलाई बदर गर्दै संसद् पुनःस्थापनाको आदेश दिएसँगै नयाँ राजनीतिक परिस्थिति सिर्जना भएपछि त्यसबारे छलफल गर्न प्रचण्ड–नेपाल र देउवा निवास पुगेका हुन्।

करिब २० मिनेटको भेटमा तीन नेताबीच नयाँ परिस्थितिमा सहकार्य गरेर अगाडि बढ्ने सहमति भेटवार्तामा भएको देउवा निकट स्रोतले जनाएको छ। भविष्यमा छलफलबाट अगाडि बढ्ने सहमति पनि तीन नेताबीच भएको छ। प्रचण्ड र नेपालले सहकार्यको प्रस्ताव देउवासँग गरेका थिए । सभापति देउवाले नेताद्वयको प्रस्तावमा सहमति जनाएका छन्। 

प्रतिनिधिसभा विघटनपछि ट्रयाकबाहिर गएको राजनीति सर्वोच्च अदालतबाट पुनर्स्थापना हुने फैसलापछि ट्रयाकमा आएको र मुलुकलाई निकास दिएर अगाडि बढ्ने सकारात्मक सहमति तीन नेताबीच भएको छ।

बुधबारका लागि तय गरिएको विरोधसभालाई सम्बोधन गर्न मंगलबार साँझ चितवन पुगेका प्रचण्ड र नेपाल उक्त कार्यक्रमलाई सम्बोधन नगरी विजयोत्सव मनाउन निर्देशन दिँदै बुधबार मध्याह्नतिर काठमाडौं फर्किएका हुन् । काठमाडौं आएलगत्तै उनीहरू विजय जुलुसमा समेत सहभागी नभई देउवासँग भेटवार्ता गर्न लागेका हुन्।

अध्यक्षद्वयले देउवासँग चितवनबाट पनि फोनवार्ता गरेका थिए । नेकपा विभाजित अवस्थामा रहेको र संसद् पुनःस्थापना भएपछि कस्तो राजनीतिक समीकरण बन्ला भन्ने चर्चा राजनीतिक वृत्तमा चलिरहेका बेला देउवासँगको भेटवार्तालाई विशेष चासोका साथ हेरिएको छ ।

प्रकाशित मिति: १३:४७ बजे, बुधबार, फागुन १२, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्