विश्वको उत्कृष्ट संविधान भन्नेहरु संविधान मास्नतिर लागे : यादव
जनकपुर, फागुन १० : जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले विश्वको उत्कृष्ट संविधान भन्नेहरुनै अहिले संविधान मास्नतिर लागेको बताएका छन्।सोमबार जनकपुरमा आयोजित ‘मुस्लिम...
जनकपुर, फागुन १० : जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले विश्वको उत्कृष्ट संविधान भन्नेहरुनै अहिले संविधान मास्नतिर लागेको बताएका छन्।
सोमबार जनकपुरमा आयोजित ‘मुस्लिम समुदायको समस्या तथा समाधान’ विषयक अन्तरक्रियालाई सम्बोधन गर्दै अध्यक्ष यादवले संविधान जारी गर्दा विश्वकै उत्कृष्ट भन्नेहरु नै अहिले मास्नेतिर लागेको बताए। ‘फुटबल म्याचको हाफटाइम जस्तै अहिले हाम्रो गोल पोस्ट परिवर्तन भएको छ। विश्वको उत्कृष्ट संविधान भन्नेहरु संविधान मास्ने पोस्टतिर खडा छन्। असहमतिका बाबजूद पनि हामी संविधान जोगाउने पोस्टतिर डटेका छौं,’ यादवले भने।
उनले असन्तुष्टि हुँदाहुँदै पनि संविधानको प्रतिरक्षा गर्नु परेको बताए। 'संविधानप्रति व्यापक असन्तुष्टि भए पनि यही संविधानले संघीयता, गणतन्त्र, समावेशीता, समानुपातिकता तथा धर्मनिरपेक्षता लगायतका उपलब्धि दिएकाले यसको प्रतिरक्षामा उत्रिनु परेको छ,' यादवले भने।
केपी शर्मा ओली नेतृत्वको सरकार संघीय प्रणाली समाप्त पार्ने षड्यन्त्रमा लागेको उनको आरोप थियो। संघीय प्रणाली साझेदारीको प्रणाली भएकाले यसलाई संरक्षण गर्न सबैको दायित्व भएको अध्यक्ष यादवले बताए। उनले भने,'यस संविधानले संघीयता, जनताको सार्वभौमसत्ता, धर्मनिरपेक्षता तथा मौलिक हकहरुको ग्यारेन्टी गरेको छ। यसै संविधानलाई टेकेर हामी संशोधनमार्फत बाँकी अधिकार प्राप्त गर्न चाहन्छौं।’
कार्यक्रममा प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले केन्द्रिकृत राज्य व्यवस्थाको कारण मुलुकका दलित, जनजाति, महिला, मुस्लिम, थारु लगायतका जातजाति राज्यको मूल प्रवाहमा आउन नसकेको बताए। प्रदेश २ सरकारले प्रदेशमा पनि आरक्षणको व्यवस्था गरेको उनले बताए।











