गुमेको भूभाग फिर्ता ल्याएरैछाडिन्छः प्रधानमन्त्री ओली
कञ्चनपुर, फागुन १० : प्रधानमन्त्री केपी शर्मा ओलीले सुदूरपश्चिमको गुमेको भूभाग फिर्ता ल्याउनका लागि तथ्य र प्रमाणका आधारमा भारतसँग अनौपचारिक वार्ता भइरहेको बताएका...
कञ्चनपुर, फागुन १० : प्रधानमन्त्री केपी शर्मा ओलीले सुदूरपश्चिमको गुमेको भूभाग फिर्ता ल्याउनका लागि तथ्य र प्रमाणका आधारमा भारतसँग अनौपचारिक वार्ता भइरहेको बताएका छन्।
आज वेदकोट नगरपालिका–२, छेलामा दैजी छेला औद्योगिक क्षेत्रको शिलान्यास गर्दै प्रधानमन्त्री ओलीले गुमेको नेपालको भूभाग फिर्ता ल्याएरै छाड्ने दृढता व्यक्त गरेका हुन्। कालापानीकाे गुमेकाे भूमि फिर्ता गरिने उनकाे भनाइ थियाे।
दोधारा चाँदनी क्षेत्रमा भारतसँगको महाकाली सन्धिबमोजिम १० क्युसेक पानी नेपालले पाउनुपर्नेमा नपाएकामा अब प्राप्त गर्नका लागि भारतसँग वार्ता भइरहेको उनले बताए। ६ महिनाभित्र विस्तृत सर्भेको काम पूरा गरी नहर निर्माणको काम शुरु हुने उनको भनाइ थियो।
महाकाली सिंचाइ आयोजनाअन्तर्गत तेस्रो चरणको नहर निर्माण शुरु भइसकेको जनाउँदै प्रधानमन्त्रीले वर्षौँदेखि सिंचाइ हुन नसकेका क्षेत्रमा सोको प्रबन्ध गरी कृषि उत्पादनमा बढोत्तरी गरिने बताए। उनले भने, 'पूर्वपश्चिम राजमार्ग चौडा गर्ने कार्य शुरु भइसकेको छ, अब मेचीदेखि महाकालीसम्म केही वर्षमै रेल पनि कुद्छ।'
प्रधानमन्त्रीले ओलीले अव्यवस्थित बसोबासीलाई जग्गाधनी पुर्जा दिलाउन लाग्ने दस्तुर घटाउन सरकारले पुनःविचार गर्ने बताए।
औद्योगिक क्षेत्रको निर्माणपछि रोजगारी प्राप्त हुने जनाउँदै प्रधानमन्त्रीले सीप विकास र तालीमबाट दक्ष जनशक्ति उत्पादन हुने र सुदूरपश्चिम क्षेत्र विकासको गतिमा अघि बढ्ने बताए।
कार्यक्रममा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट, वन तथा वातावरणमन्त्र प्रेमबहादुर आले, श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गौरीशङ्कर चौधरी र सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री गणेशसिंह ठगुन्नाले वर्तमान सरकारको नेतृत्वमा सुदूरपश्चिमले विकास भइरहेको जिकिर गरे।











