संसद् विघटनसम्बन्धी प्रस्ट व्यवस्था नहुँदा जटिलता आयो : थापा
झापा, फागुन ९ : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले संसद् विघटन सम्बन्धी प्रस्ट व्यवस्था नहुँदा जटिलता आएको बताएका छन्।मिडिया नेपालद्वारा आइतबार...
झापा, फागुन ९ : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले संसद् विघटन सम्बन्धी प्रस्ट व्यवस्था नहुँदा जटिलता आएको बताएका छन्।
मिडिया नेपालद्वारा आइतबार झापाको दमकमा आयोजित पत्रकार भेटघाटमा उनले संसदीय अभ्यास र प्रधानमन्त्री प्रणालीमा संसद् विघटनको अधिकार अन्तर्राष्ट्रिय अभ्याससमेत भएको तर्क गरे। प्रधानमन्त्री केपी शर्मा ओलीले चालेको संसद् विघटनको कदम असंवैधानिक भए पनि अबको विकल्प निर्वाचन मात्रै रहेको उनले बताए। ‘अब यो समस्या हल गर्न जनतामाझ जानुको विकल्प छैन,’ उनले भने।
अध्यक्ष थापाले आफूहरूले पहिल्यैदेखि नेपालले संघीयता थेग्न नसक्ने बताउँदै आएको र अहिले त्यो प्रमाणित हुँदै आएको बताए । तर अबको आवश्यकता संघीयता खारेज गर्ने नभई त्यसैलाई नयाँ ढंगले अगाडि लानुपर्ने उनको भनाइ थियो।
‘संघीयतामा तीन तहको सरकार हुनुपर्छ भन्ने विश्वव्यापी नियम केही छैन, केन्द्रमा बलियो सरकार र स्थानीय तहमा शक्तिशाली स्थानीय सरकारसहितको संघीयतामा जानुपर्छ,’ उनले भने, ‘यसो गरियो भने संघीयता पनि रहन्छ र देशले धान्न पनि सक्छ ।’
प्रदेश तहको कुनै औचित्य नभएको उल्लेख गर्दै उनले प्रदेशको अधिकार पनि स्थानीय तहलाई दिएर दुई तहको बलियो संघीयता स्थापित गर्नुपर्नेमा जोड दिए।
राजसंस्था सहितको लोकतन्त्र र धार्मिक स्वतन्त्रता सहितको सनातन हिन्दू राज्यको मान्यतामा राप्रपा अडिग रहेको स्पष्ट पार्दै उनले यसलाई जनताले पनि साथ दिँदै जाने विश्वास व्यक्त गरे । उनी गौरीगञ्जमा आयोजित सभालाई सम्बोधन गर्न शनिबार झापा आएका हुन्।











