म्यानमारमा आन्दोलन चर्किँदै, दुई प्रदर्शनकारीको मृत्यु
म्यानमार, फागुन ८ : म्यानमारको दोस्रो सबैभन्दा ठूलो शहरमा शनिबार सुरक्षाकर्मीले चलाएको गोली लागी दुई जनाको मृत्यु भएको छ।म्यानमारको सङ्कट व्यवस्थापन अधिकारीले एएफपीसँगको...
म्यानमार, फागुन ८ : म्यानमारको दोस्रो सबैभन्दा ठूलो शहरमा शनिबार सुरक्षाकर्मीले चलाएको गोली लागी दुई जनाको मृत्यु भएको छ।
म्यानमारको सङ्कट व्यवस्थापन अधिकारीले एएफपीसँगको कुराकानीमा सुरक्षा कारबाहीमा दुई व्यक्तिको मृत्यु भएको पुष्टि गरेका छन्। “आक्रोशित प्रदर्शनकारीहरूको भीडमाथि नियन्त्रणका लागि गोली चलाउनु परेको उक्त घटनामा दुई व्यक्तिको मृत्यु भएको छ भने करिब ३० जना घाइते भएका छन्,” मन्डलायास्थित स्वयंसेवी आपतकालीन उद्धार टोलीका प्रमुख ह्लाइंग मिन ओओले भने।

घाइतेमध्ये अधिकांश व्यक्तिलाई प्रहरीले सिधै गोली हानेको प्रत्यक्षदर्शीहरूले बताए। मृतकमध्ये एक जना किशोर रहेको र उनको टाउकोमा गोली लागेको ओओले बताए।
एक अर्का स्वयंसेवी उद्धारकर्ताले पनि मृत्यु भएकाको सङ्ख्या दुई पुगेको पुष्टि गरेका छन्। म्यानमारमा केही हप्ता पहिले निर्वाचित सरकारलाई सैनिक ‘कू’ मार्फत् हटाएर सेनाको नेतृत्वमा प्रशासनिक कामलाई अघि बढाइएको छ।
यसका विरुद्ध म्यानमारका नागरिक आन्दोलनमा उत्रिएका छन्। शान्तिपूर्ण प्रदर्शनमाथि सुरक्षाकर्मीले गोली चलाउन थालेका छन्।











