Kathmandu Press

तीन हजार वर्षदेखि विद्यमान जात व्यवस्थाको ‘दैव’

लेखकले प्रतीकात्मक रूपमा भनेको ‘दैव’ एउटा धार्मिक आस्था हो, जसले जात व्यवस्थालाई टिकाइराख्न, जात व्यवस्था बमोजिम विभेद गर्न वा गराउन भूमिका खेलेको छ । यही जात व्यवस्थाका कारण तमाम दक्षिण एसियाली दलितले अछुतको जीवन बिताइरहेका छन् । अनि, स्थायी उचनीचमा विभाजित छ, सिंगो समाज।
तीन हजार वर्षदेखि विद्यमान जात व्यवस्थाको ‘दैव’

तथ्यांकले भन्छ, नेपाली समाजको पिँधमा रहेका दलित नै सबैभन्दा बढी कोरोनाको कहरमा परे । हत्या–हिंसा लगायत अन्य सामाजिक–आर्थिक विभेद भोग्न सबैभन्दा बढी दलित नै बाध्य भए । वर्ष २०२० भरि नै कोरोनाको त्रासले मानव मथिंगल हल्लाइदियो र संसारभरि नै कोरोना कहरकै वरिपरि वार्ता भए । तर, प्रायः सधैँ दक्षिण एसियाली समाजमा रहेको जात व्यवस्थाको विषयमा दार्शनिक, सैद्धान्तिक र ऐतिहासिक बहस गर्दै आएका लेखक, साहित्यकार एवं राजनीतिज्ञ विश्वभक्त दुलाल आहुतिले जातमाथि महत्त्वपूर्ण वार्ता गरे, जसलाई बेला प्रकाशनले ‘जात वार्ता’ पुस्तकका रूपमा प्रकाशन गरेको छ । सम्पादकका रूपमा पत्रकार एवं कवि संगीतसँग गरिएको ‘जात वार्ता’ २६ उप–वार्तामा बाँडिएको छ, जसले भारतीय उपमहाद्वीपमा रहेको जात व्यवस्थामा आधारित समाजको इतिहास र वर्तमान अवस्थाको मिहीन ढंगले चर्चा गरेको छ। 

प्रस्तुत पुस्तक ‘जात वार्ता’मा लेखक विश्वभक्त दुलाल आहुति भन्छन्, ‘दक्षिण एसियाली समाजको ठूलो हिस्सालाई एउटा ‘दैव’ले शासन गरिरहेको छ– जात व्यवस्थाको ‘दैव’ । यो ‘दैव’ तीन हजार वर्षदेखि विद्यमान छ, फरक–फरक रूपमा, रूप फेर्दै तर झन् बलियो हुँदै ।’ सजिलै बुझ्न सकिन्छ, लेखकले प्रतीकात्मक रूपमा भनेको ‘दैव’ एउटा धार्मिक आस्था हो, जसले जात व्यवस्थालाई टिकाइराख्न, जात व्यवस्था बमोजिम विभेद गर्न वा गराउन भूमिका खेलेको छ । यही जात व्यवस्थाका कारण तमाम दक्षिण एसियाली दलितले अछुतको जीवन बिताइरहेका छन् । अनि, स्थायी उचनीचमा विभाजित छ, सिंगो समाज। 

तीन हजार वर्षदेखि भारतीय उपमहाद्वीपमा जात व्यवस्था कायम छ । हिन्दू धर्मको गर्भमै जात व्यवस्था छ । जात व्यवस्थाले नै समाज र राजनीति चलाएको छ । यसैले बनाएको छ वर्ग । तर, आहुति भन्छन्, ‘भारत लगायत नेपालका कम्युनिस्ट पार्टी र तिनका नेतृत्वले भारतीय उपमहाद्वीपमा निर्माण भएको वर्गलाई सही अर्थमा बुझ्न सकेन, जसका कारण नेपाल र भारतका कम्युनिस्ट आन्दोलनले जात व्यवस्थाको जाँतोमा पिसिएकाको मुक्ति गर्न सकेन र अझै पनि यसलाई नबुझ्ने हो भने गर्न सक्दैन । जात व्यवस्थाको गुह्य कुरोलाई नबुझेका कारण दक्षिण एसियाली राज्यमा आहुति भन्छन्, ‘कुनै त्यस्तो पार्टी छैन, जसले जात व्यवस्था मास्ने अभियानलाई आफ्नो कर्तव्य सम्झोस्, त्यस्तो कुनै सरकार छैन, जसले जातकै कारण हर दिन बलात्कारीसँग जुधिरहेका महिलाको पक्षमा काम गरोस् । र, त्यस्तो कुनै विद्रोही शक्ति छैन, जसले जात उन्मूलनलाई आफ्नो जीवन व्यवहारको अंग बनाओस्। 

Hardik ivf

नेपालमा दलित शब्दप्रति नै संकुचित धारणा राख्ने दलित र गैरदलितको ठूलो जमात छ । आहुतिले आफ्नो वार्तामा यसको उत्पत्तिको इतिहास र महत्त्वको विषयमा पहिलाभन्दा (हेर्नुहोस्, आहुति (नेपालमा वर्ण व्यवस्था र वर्ग संघर्ष, पेज ६०–६१) सटीक र थप अर्थका साथ राम्रै वार्ता गरेका छन् । वार्ताकै सिलसिलामा उनी भन्छन्, ‘दलित शब्द संस्कृत शब्द हो । यसको अर्थ– पिल्सिएको, छियाछिया पारिएको, दलिएको इत्यादि हुन्छ ।’ जुन कुरा, भारतीय उपमहाद्वीपमा बसोबास गर्ने दलितको जीवनको सामान्य अध्ययन गर्दा पनि थाहा पाइन्छ । उनी अझै थप्छन्, ‘दलित शब्द कुनै उत्पीडक समुदायले हेपेर, अपमान गरेर वा षड्यन्त्र गरेर दलितलाई दिएको परिचय होइन । बरु भारत र नेपालको दलित आन्दोलनले आफ्नो मुक्तिको संघर्ष चलाउने क्रममा आफैँले निर्माण गरेको गौरवमय परिचय हो, आफूलाई परम्परागत समाजले दिएको कलंकपूर्ण अछुत परिचयको अस्वीकृति हो ।’ दलित शब्दप्रतिको भ्रम र संकुचनलाई दूर गर्ने क्रममा आहुति तमाम दलित समुदायमा संघर्षको बिगुल फुक्न आग्रह गर्छन् र भन्छन्, ‘जो मानिस आफूमाथि भएको जात व्यवस्थाजन्य छुवाछुतसहितको अत्याचारलाई स्वीकार गर्छ, त्यो अछुत हो । तर, जुन बिन्दुबाट आफूमाथि भएको जात व्यवस्थाजन्य अत्याचारविरुद्ध मानसिक र भौतिक रूपमा विद्रोह वा संघर्ष गर्न सुरु गर्छ, त्यस बिन्दुबाट एउटा अछुत दलितमा रूपान्तरण हुन्छ ।’ दलित शब्द रहुन्जेल विभेद रहन्छ । दलितले पहिला दलित भन्न छोड्नुपर्यो अनि मात्र दलित अवस्थाको अन्त्य हुन्छ भनेर काइते तर्क गर्नेलाई दरो झटारो हान्दै आहुति अगाडि भन्छन्, ‘दलित परिचय संघर्षशील मानवको विम्ब हो । यो कुनै पनि अर्थमा अपमानजनक चिनारी होइन।’ 

जात व्यवस्थाको दर्शन, राजनीति र संस्कृति उपशीर्षकमा जात व्यवस्था राजनीति, संस्कृति, अर्थतन्त्र र दर्शनशास्त्रको छोटो तर सपाट चर्चा गरेका आहुति जात व्यवस्थामाथिको आफ्ना पुराना बुझाइ र मान्यतालाई परिस्कृत र फराकिलो बनाउँदै उनकै शब्दमा भन्छन्, ‘जात व्यवस्था सांस्कृतिक क्षेत्रको एउटा सामान्य भेदभावको विषय मात्रै होइन, त्यसैगरी छुवाछुत मात्र पनि जात व्यवस्था होइन । बरु जात व्यवस्था भनेको सिंगै समाजको अर्थतन्त्र, राजनीति र संस्कृतिसहितको विशिष्ट शोषणमूलक प्रणाली हो।’

‘नेपालमा दलित आन्दोलन’ शीर्षक अन्तर्गतको वार्तामा लेखक आहुतिले दलित मुक्तिको प्रयासमा इतिहासदेखि भएका अभियान र घटनाको क्रमागत चर्चा गरेका छन् । २००३ सालको भगत सर्वजितहरूको संघर्ष, २००७ सालको पशुपति मन्दिर प्रवेश संघर्ष, २०५० सालमा योगी नरहरिनाथको नेतृत्वमा भएको माडी कोटिहोमको दलित विभेदका विरुद्धको माडीको कोटि होम संघर्षदेखि १० वर्षको माओवादी जनयुद्धका समयसम्म भएका दलित मुक्तिका संघर्षको दस्ताबेजीकरण मात्र गरेका छैनन् । दलित मुक्तिको ऐतिहासिक अभियान र घटनाको मिहीन ढंगले आलोचनात्मक चर्चा पनि गरेका छन् । जात वार्ता पुस्तकका सम्पादक संगीतको ‘नेपालको राजनीतिक आन्दोलन र दलित आन्दोलनको सम्बन्ध कस्तो छ ?’ भन्ने प्रश्नको उत्तर दिने क्रममा लेखक आहुति भन्छन्, ‘विक्रम संवत्, १९९० को हाराहारीबाट सुरु भएको सामन्तवादविरोधी लोकतान्त्रिक धारा र २००६ सालबाट सुरु भएको कम्युनिस्ट धाराले नेपाली समाजको सामन्तवादको ठीक विश्लेषण र संश्लेषण गर्न सकेको देखिँदैन। 

विश्वका अन्य भागमा विकसित भएका सामन्तवादजस्तै सरलीकृत रूपमा नेपाली समाजलाई पनि सामन्तवादी समाजको रूपमा बुझेको देखिन्छ । तर, नेपाली समाज र दक्षिण एसियामा रहेको हिन्दू र हिन्दूद्वारा शासित समाजको सामन्तवाद जात व्यवस्थामा आधारित थियो । जात व्यवस्थाले नै वर्ग निर्माणमा मुख्य भूमिका खेल्दै आएको हो । अर्थतन्त्र, राजनीति र संस्कृतिमा जात व्यवस्था नै मुख्य रूपमा छाएको थियो । त्यसकारण सामन्तवादलाई अन्त्य गर्ने लक्ष्य लिनुको अर्थ जात व्यवस्थालाई पनि अन्त्य गर्ने रणनीति अख्तियार गर्नु अनिवार्य हुन्थ्यो, जुन दिशा लोकतान्त्रिक वा कम्युनिस्ट दुवै धाराले तय गर्न सकेनन् ।’ सात दशक लामो नेपाली राजनीतिक आन्दोलन र नेपाली कम्युनिस्ट आन्दोलनभन्दा पनि पुरानो दलित आन्दोलनले दलित समुदायको आर्थिक, राजनीतिक र सांस्कृतिक जीवनलाई किन छुन सकेन र यथोचित सम्बोधन गर्न सकेन भन्ने जिज्ञासाको सवालमा लेखक आहुतिको माथि प्रस्तुत गरिएको उत्तर पर्याप्त छ । जबसम्म कुनै पनि समाजको दार्शनिक आधार र सैद्धान्तिक अवस्थाको वस्तुपरक विश्लेषण गर्न सकिँदैन, त्यो समाजको अन्तरविरोधको सम्बोधन कुनै पनि राजनीतिक एवं सामाजिक आन्दोलनले गर्न सक्दैन । त्यसकारण होला, सवैधानिक रूपमै समाजवादमा पुग्ने लक्ष्य लिएको नेपालको पछिल्लो राजनीतिक व्यवस्थाले पनि दलित मुक्तिको सवालमा आवश्यक नीति र कार्यक्रम तर्जुमा गर्न सकेन । आहुति प्रस्टसँग तर्क गर्छन्– जात व्यवस्थामा आधारित भएको नेपाली समाज र त्यसले निर्देशित गरेको अर्थतन्त्र, राजनीति र संस्कृतिको यथार्थलाई आत्मसात गर्न नसकेको वा भनौँ गर्न नचाहेको राजनीतिक पार्टी र तिनको आन्दोलनले हदै भए उत्थानसम्म गर्छ । मुक्तिको रेखांकनसम्म पनि कोर्न सक्दैन।

आरक्षण, विशेषाधिकार, विशेष व्यवस्था र समानुपातिक प्रतिनिधित्वजस्ता दलित आन्दोलनले स्थापित गरेका बहस र राजनीतिक पार्टीले कुनै न कुनै रूपमा स्वीकार गरेका दलित लक्षित अवधारणाका ऐतिहासिक राजनीतिक–सामाजिक यथार्थको आलोकमा गहन विश्लेषण गरेका आहुति, कुन अवधारणा र कार्यक्रमले कुन हदसम्मको दलित उत्थान गर्छ र कसरी समग्र दलित मुक्तिको सवलमा भाँजो हाल्छ भन्ने कुरामा कुनै दुविधामा अलमलिएका छैनन् । पश्चिमा युद्धोत्तर विकासका अवधारणा अन्तर्गतका कार्यक्रमले दक्षिण एसियाको जात व्यवस्थाले चलाएको उच्च जातीय शासनले दलितको मुक्ति नगर्ने कुरामा निश्चित छन्। 

दलितबारे लिनुपर्ने सही नीति कुन हो त ? भन्ने प्रश्नमा आहुति भन्छन्, ‘विद्यमान पुँजीवादी व्यवस्थाभित्रै पनि विशेषाधिकारको नीति लागू गराउन संघर्ष गर्नुपर्छ, केही आंशिक मात्र प्राप्त भए, तिनलाई पनि लागू गर्दै र तिनको रक्षा गर्दै पनि जानुपर्छ । निर्णायक यथार्थ के हो भने आजको पुँजीवादी व्यवस्था यस प्रकारको व्यवस्था लागू गर्न तयार हुँदैन । त्यसैले आम श्रमजीवी वर्ग, उत्पीडित समुदाय र न्यायका पक्षधर जनतासहित दलितहरूले आजैदेखि बनाउन सुरु गर्ने वैज्ञानिक समाजवादी व्यवस्थाका विभिन्न अंगमार्फत नै यो नीतिलाई लागू गर्न सुरु गर्नुपर्छ।’

धर्म र धर्म परिवर्तनको बाटो उपशीर्षक अन्तर्गत हिन्दू धर्मको ऐतिहासिकताको चर्चा गर्दै आहुति भन्छन्, ‘सुरुमा हिन्दू धर्म ब्राह्मण धर्मका रूपमा विकसित भयो । ब्राह्मण वर्णले आफूलाई शासक बनाइराख्न र अरुलाई शोषित एवं शासित बनाइराख्न जे जति दृष्टिकोण विकास गर्यो, त्यो नै ब्राह्मण धर्म थियो । पारसवासीले सिन्धु नदीलाई हिन्दू नदी भन्थे । किनभने, उनीहरूको भाषामा ‘स’ अक्षर ‘ह’ उच्चारण हुन्थ्यो । उनीहरूले नै सिन्धु उपत्यकावासीलाई हिन्दू र तिनका शासकको धर्मलाई हिन्दू धर्मका रूपमा सम्बोधन गरेपछि यो धर्मको नाम हिन्दू बन्न पुग्यो ।’ धर्मले स्थापना गरेको राज्यको विभिन्न आयाम र चरित्रको फराकिलो चर्चा गरेका आहुति धर्म परिवर्तनलाई दलित मुक्तिको रूपमा बुझ्न सहमत छैनन् । धर्म परिवर्तनको बाटो सही छैन भने सही बाटो के हो त भन्ने प्रश्नमा, गहिरो दार्शनिक उत्तर दिँदै लेखक भन्छन्, ‘धर्म समाजका निम्ति अनिवार्य विषय नै होइन ।’ समाजका निम्ति त विचारधारा र संस्कृति मात्र स्वाभाविक र अनिवार्य विषय हुन् । माक्र्सवाद र दलित मुक्तिको साइनो विषयमा लामो र सिलसिलेवार वार्ता गरेका लेखकले माक्र्सवादलाई दर्शनशास्त्र, राजनीतिक अर्थशास्त्र र वैज्ञानिक समाजवाद गरी तीन उपशीर्षकमा चर्चा गरेका छन् । माक्र्सवादी दर्शनको बुझाइमा रहेको समस्या र कार्यक्रमका रूपमा माक्र्सवादीले विगतमा गरेका गल्ती र त्यसले उत्पादन गरेका समस्यालाई मात्र बुझेर एकांकी र सतही बुझाइ नराख्न आग्रह गरेका छन् । माक्र्सवाद र दलित मुक्तिको सवालमा आहुति भन्छन्, ‘माक्र्सवादी दर्शनशास्त्रले रूढीवाद, अविज्ञान, धर्म आदिको प्रयोगबाट गुमराहमा पारिएका दलित वा तमाम श्रमजीवी मानिसलाई संसार र समाजलाई बुझ्न एवं बदल्न सक्ने दार्शनिक हतियार दिन्छ।’

अन्तर्जातीय प्रेम र विवाह, संविधान र विद्यमान कानुन, दलित साहित्य र सौन्दर्यशास्त्र, अन्तर्दलित भेदभाव, दलित मुक्ति र अन्तर्राष्ट्रिय मुद्दा लगायत अन्य महत्त्वपूर्ण विषयमा घनीभूत वार्ता गरेका लेखकले प्रस्तुत पुस्तकमा आफ्नो लेखकीय बुझाइ र दायरालाई पनि विगतको भन्दा अझ गहिरो र फरकिलो बनाएका छन् । फेरि पनि हामीलाई भनेका छन्, ‘आज जतिसुकै असम्भव जस्तो लागे पनि सामाजिक अन्तर्घुलन नै जात व्यवस्था अन्त्य र दलित मुक्तिको रणनीतिक लक्ष्य हुन पुग्छ।’ 

सम्पादक संगीत र लेखक आहुतिबीचको वार्ताको रूपमा प्रस्तुत गरिएको पुस्तक परम्परागत प्राज्ञिक लेखनका संकुचित अवधारणाबाट निकै टाढा रहेको छ । यो राम्रो हो वा होइन, त्यो बहसको विषय होला । यसले पुस्तकलाई फाइदा गर्छ या घाटा, त्यो लेखक र प्रकाशकले चिन्ता गर्ने विषय होला । तर, दक्षिण एसियाली जात व्यवस्थाको इतिहास र यसको गुह्य कुरा बुझ्नलाई र जात व्यवस्थाको अन्त्यको ‘युटोपियन’ (आजसम्मको) कल्पनालाई वास्तविकतामा बदल्न दृढ र संघर्षशीलका लागि भने यो पुस्तक माक्र्सियन भाषामा जात व्यवस्था अन्त्यको घोषणापत्र भन्दा अतियुक्ति नहोला । भाषा र मुद्रणका सामान्य त्रुटिका बाबजुद जात वार्ता विषयवस्तुका हिसाबमा गहन, दर्शनका हिसाबमा गहिरो, जटिल सिद्धान्तको हिसाबमा सरल पुस्तक हुन सफल भएको छ। 

अन्त्यमा, 

जातको वार्ताकै क्रममा लेखक आहुति भन्छन्, ‘प्रत्येक समयको वर्तमानको समाज र जीवनलाई प्रगतिशील बनाउने त्यतिबेलाकै आवश्यकता अनुसारको ज्ञान विकास गर्नु जरुरी हुन्छ ।’ त्यसैले, दक्षिण एसियाली समाजमा रहेको वर्तमान जात व्यवस्थालाई बुझ्न र यसको प्रगतिशील रूपान्तरण गर्दै जात व्यवस्थाकै अन्त्य गर्न ‘जात वार्ता’ पुस्तकले अवश्य नै महत्त्वपूर्ण योगदान गर्नेछ। 
 

प्रकाशित मिति: १२:१२ बजे, शनिबार, फागुन ८, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्