प्रधानमन्त्रीको गल्तीमा राष्ट्रपतिले साथ दिँदा संविधान र संघीयता खतरामा : पूर्वराष्ट्रपति डा.यादव
जनकपुर, फागुन ७ : पूर्वराष्ट्रपति डा.रामवरण यादवले प्रधानमन्त्री केपी शर्मा ओलीको गल्तीमा राष्ट्रपति विद्यादेवी भण्डारीले साथ दिँदा संविधान र संघीयता खतरामा परेको बताएका...
जनकपुर, फागुन ७ : पूर्वराष्ट्रपति डा.रामवरण यादवले प्रधानमन्त्री केपी शर्मा ओलीको गल्तीमा राष्ट्रपति विद्यादेवी भण्डारीले साथ दिँदा संविधान र संघीयता खतरामा परेको बताएका छन्।
शुक्रबार जनकपुरमा ‘समाजवाद र बीपी कोइराला’ र ‘बीपी विचारसंग्रह’को लोकार्पण गर्दै पूर्वराष्ट्रपति डा.यादवले संविधान रक्षा गर्ने राष्ट्रपतिकै कारण समस्या भएको बताएका हुन्। 'मुलुकमा हुलमुलको अवस्थाले लोकतन्त्रमाथि ग्रहण लागेको छ,' पूर्वराष्ट्रपति यादवले भने।
प्रधानमन्त्री ओलीले सत्ताको उन्मादमा संविधानको धारा नै उल्लेख नगरी संसद् विघटन गरेको उनको भनाइ थियो। 'प्रधानमन्त्रीको गल्तीमा राष्ट्रपति कार्यालयले साथ दिँदा संविधान र संघीयता खतरामा परेको छ,' पूर्वराष्ट्रपति डा.यादवले भने।
प्रतिनिधिसभा विघटन गराउँदा राष्ट्रपति समय नलिएको उनको भनाइ थियो। ‘संसद् विघटन गर्नुअघि राष्ट्रपतिले विपक्षी दल र विज्ञसँग सल्लाह लिनुपर्थ्यो,’ उनले भने।
संविधान रक्षा गर्ने राष्ट्रपतिले ‘कुलिङ पिरियड’ लिएर अगाडि बढ्नु पर्ने समयमा हतार गरेको उनको भनाइ थियो। प्रधानमन्त्रीको असंवैधानिक कदममा हस्ताक्षर गरेर राष्ट्रपति गल्ती गरेको उनको जिकिर थियो।
पूर्वराष्ट्रपति डा.यादवले मुलुक आईसीयूमा रहेको बताए। उनले अब सबै मिलेर मुलुकलाई आईसीयूबाट जनरल वार्डमा ल्याउन सहकार्य र समन्वयन गर्नुपर्ने बताए।
उनले लोकतन्त्रको आधार स्तम्भ राजनीतिक दल भएको उल्लेख गर्दै अहिले दलहरुको अवस्था ठीक नभएको बताएका छन्। 'अहिले सबैभन्दा ठूलो दल विभाजित भएको छ भने अर्को दल कांग्रेसको अवस्था पनि ठीक छैन,' उनले प्रश्न गरे, 'सबैभन्दा ऐतिहासिक, लोकतन्त्र र समाजवादीको पर्यायवाची बनेको पार्टीको अवस्था के छ? ठीक छ?'
पुस्तक लोकार्पण कार्यक्रममा कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले प्रधानमन्त्रीले प्राप्त उपलब्धिलाई वेवास्ता गरी चुनावको मिति तोक्नेतर्फ लागेको बताए। प्रधानमन्त्री ओलीकाे यस कदमले देश र जनतलाई समस्यामा पारेकाे उनकाे भनाइ थियाे।











