कांग्रेस सभापति देउवा भन्छन्- साथीहरू ओलीविरुद्ध बोल्न थाले, प्रचण्डविरुद्ध पनि बोलुन्
‘मैले त उतिबेलै भनेको हो, कम्युनिस्टले जिते भने बोल्न पनि पाइँदैन। अहिले आएर हाम्रा साथीहरू ओलीको खिलाफमा बोल्न सक्ने भएछन्, तर प्रचण्डविरुद्ध बोल्न डराउँछन्। अब प्रचण्डको खिलाफमा पनि बोल्न सक्ने हुनुस्, म कम्युनिस्टको विरुद्धमा बोल्न सक्ने पार्टी बनाउन चाहन्छु।’
काठमाडौं, फागुन ७ : कांग्रेस सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी ओलीविरुद्ध आफ्ना पार्टीका नेता-कार्यकर्ताले बोल्न थालेकामा धन्यवाद दिँदै पुष्पकमल दाहाल प्रचण्डविरुद्ध पनि बोल्न आग्रह गरेका छन्।
‘मैले त उतिबेलै भनेको हो, कम्युनिस्टले जिते भने बोल्न पनि पाइँदैन। अहिले आएर हाम्रा साथीहरू ओलीको खिलाफमा बोल्न सक्ने भएछन्,’ देउवाले भने, ‘तर प्रचण्डविरुद्ध बोल्न डराउँछन्। बिचराहरूलाई प्रचण्डको डर अझै हटेको रहेनछ। अब प्रचण्डको खिलाफमा पनि बोल्न सक्ने हुनुस्, म कम्युनिस्टको विरुद्धमा बोल्न सक्ने पार्टी बनाउन चाहन्छु।’
अहिले निर्वाचन नभए पनि डेढ वर्षपछि हुने उल्लेख गर्दै उनले नेता-कार्यकर्तालाई त्यसको तयारीमा लाग्न निर्देशन दिए। नुवाकोटमा शुक्रबार बीपी स्मृति भवन उद्घाटन गर्दै देउवाले अदालतको सम्मान गर्दै उसको निर्णय मान्नुपर्ने बताए।
‘अदालतले जे फैसला गर्छ, त्यो मान्ने हो। अदालतलाई विश्वास गरौं,’ उनले भने, ‘हाम्रा साथीहरू निर्वाचन कहाँ हुन्छ भनिरहेका छन्। भइहाल्यो भने तयारी गर्नुपर्दैन ? चुनावबाट भाग्ने त ?’
नेकपाका दुवै समूहलाई निर्वाचन लागिसकेको उनले बताए। दुवै समूह चुनाव चिह्नको पछाडि लागिरहँदा कांग्रेसका नेताहरू भने चुनाव हुँदैन भनेर बसिरहेको उनले औँल्याए। कांग्रेसलाई कांग्रेसबाहेक कसैले चुनाव हराउन नसक्ने उनले उल्लेख गरे।











