पत्रकार अहिराज प्रदेश २ को प्रदेश प्रमुख नियुक्त
प्रधानमन्त्री तथा मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार अहिराजलाई प्रदेश २ प्रदेश प्रमुखमा नियुक्त गरेकी हुन्।
काठमाडौं, फागुन ७ : प्रदेश २ को प्रदेश प्रमुखमा राजेश अहिराज नियुक्त भएका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार अहिराजलाई प्रदेश २ प्रदेश प्रमुखमा नियुक्त गरेकी हुन्। तिलक परियारलाई हटाउँदै अहिराजलाई प्रदेश प्रमुखमा नियक्त गरिएको हो ।
राष्ट्रपति विद्यादेवी भण्डारीबाट प्रदेश २ को प्रदेश प्रमुख नियुक्त भएका डा. राजेश झा 'अहिराज' पेसाले पत्रकार हुन्। उनी काठमाडौंबाट प्रकाशित हुने मधेशवाणी पत्रिकाका सम्पादक हुन्। ६ जेठ ०३६ मा रौतहट संग्रामपुर-४ (हाल गढीमाई नगरपालिका-४) मा जन्मेका उनी मधेश मामिलाका जानकार मानिन्छन्।
अहिराजले त्रिभुवन विश्वविद्यालयवाट ‘मधेश आन्दोलन र मधेशवादको विकासक्रम’ विषयमा विद्यावारिधि गरेका छन्। पछिल्लो समय स्वतन्त्र विश्लेषकका रूपमा उनी परिचित थिए। उनी करिब दुई दशकदेखि पत्रकारितामा सक्रिय थिए।
अहिराजले माध्यमिक शिक्षा श्रीमती कृष्णादेवी मावि विष्णुपुर, रौतहटबाट पूरा गरेका थिए। भारतको बिहार इन्टरमिडिएट एजुकेशन काउन्सिल मातहतको एसएलके कलेज सीतामढीबाट एसएलसी उत्तीर्ण गरेका थिए। यस्तै, त्रिभुवन विश्वविद्यालयबाट बीए, बीएड र एलएलबी गरेका छन्।











