Kathmandu Press

खुम्चिएको खुम्चियै टुँडीखेल

काठमाडौं, फागुन ७ : टुँडीखेल टुक्र्याएर निर्माण गरिएको सैनिक मञ्‍चमा शुक्रबार बिहान प्रजातन्त्र दिवसका अवसरमा राष्‍ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा सरकारले समारोह आयोजना गर्‍यो।...
खुम्चिएको खुम्चियै टुँडीखेल
‘बृहत नागरिक आन्दोलन’ले आयोजना गरेको ‘लोकतन्त्रको टुँडीखेल मार्च’

काठमाडौं, फागुन ७ : टुँडीखेल टुक्र्याएर निर्माण गरिएको सैनिक मञ्‍चमा शुक्रबार बिहान प्रजातन्त्र दिवसका अवसरमा राष्‍ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा सरकारले समारोह आयोजना गर्‍यो। कार्यक्रममा सैनिक परेडलगायत कार्यक्रम आयोजना भए। सैनिक मञ्‍चकै उत्तरतर्फबाट शुक्रबार अपराह्न प्रतिनिधिसभा विघटनविरुद्ध सुरु भएको ‘बृहत नागरिक आन्दोलन’ले टुँडीखेलको पुरानो स्वरूप फर्काउन माग गर्दै ‘लोकतन्त्रको टुँडीखेल मार्च’ आयोजना गर्‍यो।

२०१३ साल अघिसम्म दक्षिण एसियाकै खुला ठाउँमध्येमा पर्ने टुँडीखेल त्यसयता निरन्तर खुम्चिँदै-खुम्च्याइँदै आएको छ। टुँडीखेललाई पुरानै स्वरूपमा फर्काउनुपर्ने माग बृहत नागरिक आन्दोलनले पनि अगाडि सारेको छ। नागरिक आन्दोलनअघि ‘अक्युपाई टुँडीखेल’ ले खुलामञ्‍चमा कार्यक्रम आयोजना गर्‍यो। अन्तर्राष्‍ट्रिय स्वतन्त्रता दिवसको अवसर पारेर २३ माघ ०७६ देखि सुरु भएको हो, ‘अक्युपाई टुँडीखेल’ आन्दोलन। यसबीचमा टुँडीखेल घेराउलगायत कार्यक्रम भइसकेका छन्।

Hardik ivf

६४ वर्षयता टुँडीखेल निरन्तर खुम्चिँदो छ। समयक्रममा यसको खण्डीकरण हुँदै आयो। ०१३ साल अघिसम्म रानीपोखरीदेखि त्रिपुरेश्‍वरस्थित दशरथ रंगशालासम्म विशाल क्षेत्र थियो, जसलाई टुँडीखेल भनिन्थ्यो। ०१३ सालमा दशरथ रंगशाला बनेपछि यसको क्षेत्र खुम्चियो। जानकारहरूका अनुसार त्यतिन्जेलसम्म हालको सहिदगेटमा सडक नै थिएन।

२०२० को दशकमा बेलायतकी महारानी एलिजावेथ द्वितीय नेपाल भ्रमणमा आउने भएपछि हालको सहिदगेट क्षेत्रमा सडक निर्माण भएको हो। उक्त सडकले टुँडीखेललाई दुई भागमा विभक्त गरिदियो।

०२१ सालमा उत्तरतर्फको केही भागलाई रत्‍नपार्क नाममा बगैंचा बनाइयो। त्यससँगै सैनिक मञ्‍च निर्माण गरियो। सेना त्यतिमै रोकिएन, थप संरचना निर्माण गर्दै गयो। अहिले टुँडीखेलकै क्षेत्र ओगटेर प्यारापिट र तीनवटा भवन बनाएको छ, सेनाले।

‘टुँडीखेल नागरिकको हो, नागरिककै स्वामित्वमा आउनुपर्छ। टुँडीखेल अब बन्दुकको मौजा हुनु हुँदैन, शासकीय कर्मकाण्डको किल्ला हुनु हुँदैन, टुँडीखेल अब मुक्त हुनुपर्छ,’ नागरिक आन्दोलनले टुँडीखेल (तिनिख्यः) मार्चका लागि आह्वान गर्दै भनेको छ।

टुँडीखेलको पूर्वतर्फ रहेको पुरानो बसपार्कमा बहुउद्देश्यीय भवन निर्माण गर्ने उद्देश्यले त्यहाँ पार्किङ हुने गरेका सार्वजनिक सवारी साधन ०६८ सालदेखि खुलामञ्‍चलाई आधा टुक्र्यार पार्क गर्न थालियो। खुलामञ्‍चको आधा भागमा पनि अनियन्त्रित रूपमा टहरा बनाइएको थियो, जसलाई बुधबार महानगरले हटाएको छ। अझै खुलामञ्‍चको आधा भागमा बसपार्क छँदैछ, जुन शंघरधर पार्कबाट खुलामञ्‍च प्रवेश गर्ने थलोको अवरोधक बनेको छ। अझै पनि खुलामञ्‍च अघिल्तिर निर्मित चिनियाँ कामदारको क्वार्टर हटाउन बाँकी नै छ, जुन दरबार हाइस्कुल पुनर्निर्माण क्रममा आएका चिनियाँ नागरिकलाई राखिएको थियो।

यो त्यही खुलामञ्‍च हो, जहाँ ०४६ सालको परिवर्तनपछि विजय उत्सव मनाइएको थियो। त्यसयता राजनीतिक दलहरूले निरन्तर आफ्ना सभा खुलामञ्‍चमा आयोजना गरे। ०६२(६३ को परिवर्तनको पनि साक्षी हो, खुलामञ्‍च। तर, त्यसयता यसलाई अतिक्रमण गरियो। र, अभिव्यक्ति स्वतन्त्रता उपयोग गर्न पाइने थलो बसपार्क र अव्यवस्थित टहराबाट छोपियो।

खुलामञ्‍च नभएकै कारण अहिले अभिव्यक्ति स्वतन्त्रताका लागि माइतीघर मण्डला नै पुग्‍नुपर्छ, सडक जाम गराएर कार्यक्रम आयोजना गर्नुपर्छ। प्रधानमन्त्री केपी ओली नेतृत्वको नेकपाले केही दिनअघि दरबारमार्गमा सवारी आवागमन रोकेर सभा गर्‍यो। त्यसलगत्तै र अघि पनि नेकपाकै प्रचण्ड(नेपाल समूहले प्रदर्शनीमार्गमा सभा आयोजना गर्‍यो। काठमाडौंमा ठूला सभा आयोजना गर्ने ठाउँ नै उपलब्ध छैनन्, अहिले।

सहरको मध्यभागमा खुला ठाउँको माग मात्र जोडिएको छैन टुँडीखेल, यसको महत्व उपत्यकाको सांस्कृतिक स्थलका रूपमा पनि छ।

सन् १८५० मा बेलायती नागरिक हेनरी एम्ब्रोस ओल्डफिल्डको पुस्तक ‘स्केचेज अफ नेपाल’मा उल्लेख भएअनुसार रानीपोखरीदेखि दशरथ रंगशालासम्म टुँडीखेल फैलिएको थियो। टुँडीखेलको लम्बाइ २(३ माइल र चौडाइ करिब नौ सय फिट रहेको अनुमान ओल्डफिल्डले आफ्नो पुस्तकमा गरेका छन्।
 

प्रकाशित मिति: १५:१० बजे, शुक्रबार, फागुन ७, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्