Kathmandu Press

कांग्रेसका १० निर्णय : आन्दोलनदेखि महाधिवेशनसम्म

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले प्रतिनिधिसभा विघटनविरुद्ध आन्दोलनदेखि १४औँ महाधिवेशनसम्मका विभिन्न १० वटा निर्णय गरेको छ।
कांग्रेसका १० निर्णय : आन्दोलनदेखि महाधिवेशनसम्म
congress

काठमाडौं, फागुन ६ : कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले प्रतिनिधिसभा विघटनविरुद्ध आन्दोलनदेखि १४औँ महाधिवेशनसम्मका विभिन्न १० वटा निर्णय गरेको छ।

बिहीबार सम्पन्न केन्द्रीय कार्यसमिति बैठकले सर्वसम्मतिले आन्दोलन गर्नेदेखि महाधिवेशनसम्मका विभिन्न निर्णय गरेको कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले बताए। उनका अनुसार, बुधबार प्रस्तुत भएका प्रस्तावमा आज निर्णय गरिएको हो।

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले सबै तहका पदाधिकारी तथा सदस्यको अवधि संविधानबमोजिम ६ महिना थपेको छ। नेपाल संविधानको धारा २६९ (४) (ख)मा विशेष परिस्थिका कारण पाँच वर्षभित्र पार्टीको निर्वाचन हुन नसकेमा ६ महिनो थप गर्न सकिने व्यवस्था छ।

त्यस्तै, कांग्रेसले आफ्नो विधानका केही व्यवस्था सामान्य संशोधन, परिमार्जन र ब्याख्या गरेको छ। त्यसलाई आगामी महाधिवेशनबाट अनुमोदन गरिने भएको छ।

यस्तै, विदेशस्थित नेपाली जनसम्पर्क समितिमध्ये केहीको अवधि सकिएकाले आगामी असारभित्र महाधिवेशन गर्नेगरि म्याद थप्ने निर्णय गरेको छ। म्याद समाप्त भएका सम्पर्क समितिहरु भारत, अमेरिका, इटाली, जर्मनी, स्पेन, कतार, मलेशिया, न्यूजिल्याण्ड, पोल्याण्ड, चीन, फिनल्याण्ड, आयरलैण्ड, स्वीडेन, स्वीटजरलैण्ड, साउदी अरव, बेल्जियम, जापान र अष्ट्रेलिया, दक्षिण कोरिया, पोर्चुगल, मकाउ, बहराईन, ओमन, फ्रान्स र लग्जम्बर्गका रहेका छन्।

कांग्रेस केन्द्रीय कार्यसमितिले समायोजन, क्रियाशील सदस्यता वितरण महाधिवेशनको कार्यतालिका हेरफर गरेको छ। जसअनुसार, कांग्रेसको महाधिवेशन आगामी भदौ ७ देखि १० गतेसम्म काठमाडौंमा हुनेछ।

त्यस्तै, क्रियाशील सदस्यता छानविन समितिलाई थप कार्यादेश दिएको छ। सदस्यबारे परेका उजुरी अनुगमन, निर्देशन र निर्णय गर्ने अधिकार दिएको छ।

कांग्रेसले छैटौँ निर्णयमा प्रतिनिधिसभा विघटनविरुद्धको आन्दोलन रहेको छ। कांग्रेस केन्द्रले आन्दोलनलाई थप सशक्त बनाउन मातहतका समितिलाई निर्देशन दिएको छ। जिल्लाका कार्यक्रमलाई असर नपर्ने गरि भातृ तथा शुभेच्छुक संस्थालाई आन्दोलनका कार्यक्रम ल्याउन निर्देशन दिएको छ।

त्यस्तै, महिलामाथि बढ्दै गएका हिंसा, बलात्कार र हत्याका विरुद्ध समाजको जागरुकता र राज्यको कर्तव्यमा तदारुकता बढाउन अपिल गरेको छ। फागुन ८ गते महिला संघले गर्ने प्रदर्शनमा व्यापक सहभागिताका लागि अपिल गरेको छ।

कांग्रेसको आठौँ निर्णयमा कोरोना भाइरसविरुद्धको खोप ल्याउन सरकारको ध्यानाकर्षण गराएको छ। कोरोना महामारी अझै समाप्त नभएकाले नियन्त्रण गर्न र निःशुल्क खोप लगाउनका लागि विस्तृत कार्ययोजना ल्याउन सरकारसँग माग गरेको छ।

त्यस्तै, निर्वाचनको मिति घोषणापछि सरकारले विभिन्न निकायमा गरेको नियुक्तीको कांग्रेसले विरोध गरेको छ। यसलाई कांग्रेसले सत्ताको चरम दुरुपयोग भनेको छ।

कांग्रेसको १०औँ निर्णयमा पेट्रोलियम पदार्थमा गरेको मूल्य बृद्धिको विरोध रहेको छ। कांग्रेसले मूल्य बृद्धि फिर्ता लिन माग गरेको छ।

प्रकाशित मिति: २२:१५ बजे, बिहीबार, फागुन ६, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्