Kathmandu Press

चिकित्सकको परामर्श शुल्क नबढाउन मन्त्रालयको निर्देशन

'मन्त्रालयले थप निर्णय गर्नुपर्ने तथ्यलाई नबुझी एकलौटी रुपमा संघ र एफिनद्वारा वृद्धि गरिएको परामर्श शुल्कप्रति मन्त्रालयको सहमति नरहेको बेहोरा जानकारी गराइन्छ,’ मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले भने ।
चिकित्सकको परामर्श शुल्क नबढाउन मन्त्रालयको निर्देशन

काठमाडौं, फागुन ६ : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चिकित्सकको परामर्श शुल्क नबढाउन निर्देशन दिएको छ ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नेपाल चिकित्सक संघ र एसोसिएसन अफ प्राइभेट हेल्थ इन्ष्टिच्युसन नेपाल (एफिन)लाई परामर्श र गृहकार्य गरेर मात्र चिकित्सकको परामर्श शुल्क तोक्न निर्देशन दिएका छन्।

उनले कोरोना भाइरस–१९ को संक्रमण र यसले निम्त्याएको आर्थिक शिथिलता समेतलाई मध्यनजर गर्दा चिकित्सको परामर्श शुल्क २०७१ भदौ ११ गते मन्त्रालयले जारी गरिएको पत्रानुसार हुने उल्लेख गरे।

उनले मन्त्रालयसँग सहमति नगरी वृद्धि गरिएको परामर्श शुल्क अमान्य भएको जनाएका छन्।

‘गत माघ ४ गते यस मन्त्रालयका प्रमुख विशेषज्ञको संयोजकत्वमा रहेको कमिटीसँग गरिएको सम्झौता कार्यान्वयन गर्न मन्त्रालयले थप निर्णय गर्नुपर्ने तथ्यलाई नबुझी एकलौटी रुपमा संघ र एफिनद्वारा वृद्धि गरिएको परामर्श शुल्कप्रति मन्त्रालयको सहमति नरहेको बेहोरा जानकारी गराइन्छ,’ उनले भने, ‘यसअघि मन्त्रालयबाट गठित परामर्श शुल्क सिफारिस समितिले सिफारिस गरेको शुल्क परिमार्जनलाई मन्त्रालयले निर्णय नगरिसकेको अवस्थामा र मन्त्रालयसँग थप कुनै पनि परामर्श नगरी शुल्क वृद्धि गर्ने अवस्था रहँदैन ।’     
     
मन्त्रालयले आवश्यक थप गृहकार्य र मन्त्रालयसँगको परामर्श गरी मात्र परामर्श शुल्क वृद्धि गर्न उचित हुने र सर्वसाधारणमा थप दुविधा उत्पन्न भई सेवामा असर पुग्नसक्ने बताए।    

उनले निजी स्वास्थ्य संस्थामा कार्यरत चिकित्सक, नर्स तथा स्वास्थ्यकर्मीको न्यूनतम पारिश्रमिक, अस्पतालको सेवा शुल्क र परामर्श शुल्कसमेतको समयसापेक्षित परिमार्जन गर्न सम्बन्धित सरोकारवालासँग छलफलका लागि मन्त्रालय तयार रहेकोसमेत उनले जनाए। मन्त्रालयले निजी स्वास्थ्य संस्थामा कार्यरत सेवा प्रदायकको तोकिएबमोजिमको न्यूनतम पारिश्रमिक सुनिश्चित गर्न र सो पारिश्रमिक बैंकमार्फत भुक्तानी गर्न आग्रह गरेको छ।

प्रकाशित मिति: १८:५४ बजे, बिहीबार, फागुन ६, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्