प्रजातन्त्र दिवसमा पाँच सय ९५ कैदीलाई रिहा गर्ने सरकारको निर्णय

काठमाडौं, फागुन ६ : प्रजातन्त्र दिवसको अवसरमा पाँच सय ९५ कैदीलाई रिहा गर्ने सरकारले निर्णय गरेको छ।
बिहीबार ७१औँ प्रजातन्त्र दिवस मनाइँदै छ। प्रजातन्त्र दिवसको अवसरमा सरकारले पाँच सय ८० कैदीको बाँकी कैद सजाय मिनाहा र १५ जनालाई आममाफी दिने निर्णय गरेको हो।
उनीहरुमध्ये एक सय ७९ जनालाई मुलुकी अपराध संहिता २०७४ लागू हुनु अघिको प्रावधानअनुसार सजाय मिनाहा गर्न लागिएको हो। त्यस्तै, सरकारले चार सय एक जनालाई २०७५ भदौ १ गतेबाट लागू भएको अपराध संहिताअनुसार कैद मिनाहा गर्ने निर्णय गरेको हो।
सरकारले गरेको निर्णय अनुसार बाँकी सजाय मिनाहा पाएकाहरुमध्ये एक सय ७९ जना हत्यालगायतका कसुरमा जन्मकैद सजाय पाएका कैदीहरु हुन्। उनीहरु पनि प्रजातन्त्र दिवसको अवसरमा रिहा हुनेछन्।
मन्त्रिपरिषद्को निर्णय राष्ट्रपति कहाँ पठाइनेछ। राष्ट्रपतिबाट कैद मिनाहा र आममाफी गरिएपछि उनीहरु कैदमुक्त हुनेछन्।
चालचलन राम्रो भएका, ५० प्रतशित सजाय भुक्तान भएका कैदीलाई मिनाहाका लागि जेलरले प्रमुख जिल्ला अधिकारीलाई सिफारिश गर्छन्। त्यसपति प्रमुख जिल्ला अधिकारीले गृहमन्त्रालयमा पठाउने गरेका छन्। त्यसका आधारमा मन्त्रिपरिषद्ले निर्णय गर्ने व्यवस्था छ।
मंगलबारको मन्त्रिपरिषद्ले गरेको निर्णय बुधबार राष्ट्रपति कार्यालय पठाइएको छ। शुक्रबार राष्ट्रपति कार्यालयले रिहा हुने कैदीको नाम सार्वजनिक गर्नेछ। त्यसपछि उनीहरु रिहा हुनेछन्।











