Kathmandu Press

‘समृद्ध नेपाल’मा महँगीको मार

मःमका लागि आवश्यक मासु, तरकारी, तेल र मरमसलाको भाउ बढेअनुरूप मःमको मूल्य बढेको छैन । उनी भन्छन्, ‘सानो ठाउँ छ, मेरो पसलमा खान आउने अधिकांश ग्राहक मजस्तै श्रमिक, मजदुर हुन्छन्, उनीहरूसँग बढी पैसा कसरी लिनु?’
‘समृद्ध नेपाल’मा महँगीको मार

काठमाडाैं, फागुन : ललितपुर गाबहालस्थित परिज् टेस्टी मःम पसलका सञ्चालक हुन्, प्रदीप गुरुङ (४४ वर्ष) । पाँच वर्षदेखि मःम, चाउमिन, ससेज, आलुचपलगायत फास्टफुडको व्यापार गर्दै आएका उनी दिनानुदिन बढ्दो महँगीले दैनिक व्यापार गरेर पनि छाक टार्न मुस्किल परेको बताउँछन्।

‘कच्चा पदार्थको भाउले आकाश छोइसक्यो, यसरी त कसरी व्यापार गर्नु ?’ उनी प्रश्न गर्छन् । उनले यस वर्ष कोरोना महामारीका कारण लामो समय पसल बन्द गर्नुपर्‍यो । लकडाउनका बेला भएको घाटा असुल गर्न सकेका छैनन्, अझै । लकडाउन खुलेपछि साथीभाइसँग सापटी लिएर फेरि मःम पसल सञ्चालनमा ल्याए । ‘बाँचुन्जेल काम गरौँ, एक दिन त ऋण कसो नतिरिएला,’ उनी आशावादी छन्।

मःमका लागि आवश्यक मासु, तरकारी, तेल र मरमसलाको भाउ बढेअनुरूप मःमको मूल्य बढेको छैन । उनी भन्छन्, ‘सानो ठाउँ छ, मेरो पसलमा खान आउने अधिकांश ग्राहक मजस्तै श्रमिक, मजदुर हुन्छन्, उनीहरूसँग बढी पैसा कसरी लिनु?’

Hardik ivf

बढेको बढ्यै महँगी

नेपाल राष्ट्र बैंकको तीन वर्षको तथ्यांक हेरौँ । जसअनुसार आर्थिक वर्ष ०७४/७५ मा वार्षिक औसत मूल्यवृद्धि चार दशमलव २० प्रतिशत थियो । आव ०७५/७६ मा त्यो चार दशमलव ६५ प्रतिशत पुग्यो । यस्तै, ०७६/७७ मा ६ दशमलव १५ र ०७७/७८ को पहिलो ५ महिनामा तीन दशमलव ७२ प्रतिशत वार्षिक औसत मूल्यवृद्धि भएको छ । त्यसमध्ये खाद्यान्न र पेय पदार्थमा पाँच दमलव ५० तथा गैरखाद्य र सेवामा दुई दशमलव ३५ प्रतिशतका दरले मूल्यवृद्धि भएको छ।

कालीमाटी फलफूल तथा तरकारी बजारको तथ्यांकअनुसार ०७४ देखि ०७६ सालसम्म तरकारीको मूल्य अत्यधिक वृद्धि भएको पाइन्छ । जस्तो– अदुवा ०७४ सालमा औसत प्रतिकिलो ५२ रूपैयाँ ४१ पैसा थियो । ०७५ मा बढेर एक सय १२ रुपैयाँ ३५ पैसा पुग्यो भने ०७६ मा एक सय ६२ रूपैयाँ १६ पैसा भयो । यस्तै, सानो गोलभेँडा ०७४ सालमा प्रतिकिलो ४१ रुपैयाँ ६० पैसा थियो । ०७५ मा ३१ रुपैयाँ २६ पैसा भयो भने ०७६ मा ४४ रुपैयाँ ८५ पैसा पुग्यो । रातो आलु ०७४ सालमा २८ रुपैयाँ ४८ पैसा थियो । ०७५ मा ३७ रुपैयाँ ७६ पैसा भयो भने ०७६ मा ४१ रुपैयाँ ४९ पैसा पुग्यो । सेतो आलु ०७४ सालमा २४ रुपैयाँ ७७ पैसा थियो । ०७५ मा ३३ रुपैयाँ बढेर ९३ पैसा भयो भने ०७६ मा ३२ रुपैयाँ ८१ पैसा पुग्यो।

सुकेको प्याज ०७४ सालमा ४६ रुपैयाँ ७६ पैसा थियो । ०७५ मा २९ रुपैयाँ पाँच पैसा भयो भने ०७६ मा ७८ रुपैयाँ ५४ पैसा पुग्यो । काउली ०७४ सालमा ५२ रुपैयाँ ३० पैसा थियो । ०७५ मा ४५ रुपैयाँ ५५ पैसा भयो भने ०७६ मा ६६ रुपैयाँ ६ पैसा पुग्यो।

यस्तै, सेतो मुला ०७४ सालमा २५ रुपैयाँ दुई पैसा थियो । ०७५ मा २४ रुपैयाँ तीन पैसा भयो भने ०७६ मा ३७ रुपैयाँ १२ पैसा पुग्यो । कांक्रो ०७४ सालमा प्रतिकिलो औसत ५२ रुपैयाँ पाँच पैसा थियो । ०७५ मा ५३ रुपैयाँ नौ पैसा भयो भने ०७६ मा ८० रुपैयाँ २२ पैसा पुग्यो।

महँगीको कहर

काठमाडौं डल्लुकी सोनी मालाकार प्राइभेट अफिसमा काम गर्छिन् । उनले दुई ठाउँमा काम गरेर दैनिकी चलाउँथिन् । लामो समयको लकडाउन र त्यससँगै बढ्दो मूल्यवृद्धिले अहिले चारजनाको परिवार पाल्न पनि उनलाई मुस्किल पर्न थालेको छ ।

‘कोठा भाडा तिर्दा, साँझबिहान खाना खाँदामै ठिक्क छ,’ उनी भन्छिन्, ‘महिनाभरि काम गर्‍यो, एक छाक गतिलो खान पनि सोच्नुपर्छ ।’ घरायसी खाद्यान्नमा बढेको मूल्यले काठमाडौंमा बाँच्नै गाह्रो भएको उनी बताउँछिन् । सामान्य जागिरले दुई छाक खान नसक्ने अवस्था आएको उनको गुनासो छ । परिवारको मासिक खर्च धान्ने मुस्किल परिरहेका बेला उनले २–४ पैसा बचत गर्नेबारे सोच्न पनि सकेकी छैनन्।

ललितपुर इमाडोलकी धुर्पादेवी राई (५२ वर्ष) घर निर्माण मजदुर हुन् । उनले ०५५ सालदेखि निर्माण क्षेत्रमा काम थालेकी हुन् । अचेल मार्बल लगाउने काम गर्छिन् । कोरोना  प्रसार रोक्न लागू गरिएको लकडाउनपछि उनी नियमित काममा जान पाइनन् । ‘अहिले दिन बिराएर फाट्टफुट्ट काममा जान्छु,’ उनी भन्छिन्।

बढ्दो महँगीका कारण मजदुरहरूलाई बाँच्नै सकस भएको उनी बताउँछिन् । ‘महँगीको त कुरा गरी साध्य नै छैन, भोकै मरिने हो कि भन्ने पीर लाग्छ,’ यसो भन्दै गर्दा लामो सुस्केरा फेरिन्, ‘महँगी बढाउनेको मनलाग्दी छ, हामीजस्ता भुईं मान्छेलाई भने असर पारेको छ।’

अन्य वस्तुको मूल्य बढे पनि चामल, दाल, नुन, तेल, मरमसला र तरकारीको भाउ नबढे बाँच्ने आधार तयार हुने उनी बताउँछिन् । भन्छिन्, ‘बजारमा केही छोइसक्नु छैन् । अन्नपानीको भाउ त जति बढे पनि खानैपर्छ, औषधिमुलो र अस्पताल त हामीजस्ता गरिबका लागि धेरै टाढाको कुरा भएका छन्।’

दैनिक ज्यालाबाट आउने आठ सय, हजार रुपैयाँले कोठा भाडा तिर्न र पेट पाल्न निकै गाह्रो भएको उनी गुनासो गर्छिन् । भन्छिन्, ‘यो महँगीले सबै तहसनहस पार्‍यो।’

पूर्णमाया श्रेष्ठ (७५ वर्ष) ले पाटनस्थित ‘धौगः बजा’मा व्यापार गरेको ४० वर्ष बित्यो । उनी लसुन, प्याज, आलु, सुकेको खुर्सानी, सिद्रा माछालगायत सामानको व्यापार गर्छिन् । सामानको मूल्य दिनानुदिन बढेको देख्दा व्यापार गर्न नसकिने अवस्था रहेको उनी बताउँछिन्।

दैनिक अत्यावश्यक सामग्रीको भाउ यसरी बढ्दा किन्ने र बेच्ने दुवैलाई समस्या हुने श्रेष्ठ बताउँछिन् । ‘पहिलाजस्तो व्यापार पनि छैन, टन्न सामान राख्न पनि सक्दिनँ,’ उनी भन्छिन् । सामानको मूल्य पनि ठिक्क मात्र भए व्यापार गर्न सकिने र ग्राहक पनि आउने उनी बताउँछिन् । ‘कोरोनाले गर्दा मान्छेको जागिर पनि छैन, त्यसमाथि यस्तो महँगी बढेको छ । खै कसरी बाँच्छ मान्छे ?’ उनले संशय व्यक्त गरिन्।

काठमाडौं कपनकी रञ्जु थापा विद्यार्थी हुन् । कोरोना महामारीअघि उनी प्राइभेट कम्पनीमा काम गर्थिन् । लकडाउनलगत्तै उनको जागिर गुम्यो । धेरै ठाउँमा कोशिस गर्दा पनि जागिर पाएकी छैनन् । आठ, नौ महिनासम्म कोठामै थुनिएर बस्नु पर्दा निकै सकस भयो, उनलाई । ‘लामो समय काम नहुँदा र कोठामै खुम्चिनुपर्दा मानसिक समस्या नै भोगेँ,’ थापा भन्छिन्, ‘जागिर नहुँदा दैनिक घरखर्च चलाउनै समस्या परिरा’छ, त्यसमाथि आकाशिँदो महँगी।’

प्रकाशित मिति: १४:१९ बजे, बिहीबार, फागुन ६, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्