Kathmandu Press

भागरथीको हत्या प्रकरण : बलात्कारी पत्ता नलाग्दासम्म शव बुझ्न अस्वीकार 

काठमाडौं, फागुन ६ : प्रहरीले अभियुक्त सार्वजनिक गरेको भए पनि भागरथीका आफन्तले भने अझै पनि शव नबुझ्ने बताएका छन् । उनको शव जिल्ला...
भागरथीको हत्या प्रकरण : बलात्कारी पत्ता नलाग्दासम्म शव बुझ्न अस्वीकार 

काठमाडौं, फागुन ६ : प्रहरीले अभियुक्त सार्वजनिक गरेको भए पनि भागरथीका आफन्तले भने अझै पनि शव नबुझ्ने बताएका छन् । उनको शव जिल्ला अस्पताल बैतडीमा रहेको छ ।

अपराधी भनेर प्रहरीले सार्वजनिक गरिएका दिनेशले हत्या मात्रै गरेको बताएकाले बलात्कारीको खोजी गर्नुपर्ने आफन्तको माग छ ।  “दिनेशले हत्या मात्रै गरेको स्वीकारेको छ तर परीक्षण रिपोर्टमा बलात्कारपछि हत्या गरिएको भनिएको छ”, भागरथीका काका शिवराज भट्टले भने, “परीक्षण रिपोर्टले बलात्कारपछि हत्या भनेको छ, हत्यारा पत्ता लागेको भए पनि बलात्कारीलाई पनि खोज्नुपर्छ, बलात्कारी पत्ता नलाग्दासम्म शव बुझ्दैनौँ ।”

गत माघ २१ गते विद्यालयबाट घर फर्किएकी भागरथी साँझ घर नफर्केपछि खोजतलास गर्दा माघ २२ गते बेलुका स्थानीय लवलेक जङ्गलमा निर्वस्त्र र वीभत्स अवस्थामा शव फेला परेको थियो । यता भागरथीको शव भेट्टिएको दिनदेखि नै आन्दोलनमा रहेका आन्दोलनकारीले प्रहरीले चित्त बुझ्दो प्रमाणसहित सार्वजनिक नगरिएको भन्दै आपत्ति जनाएका छन् । भागरथी भट्टको न्यायका लागि गठित सङ्घर्ष समितिका संयोजक निशा भट्टले दिनेश नै अपराधमा संलग्न थिए भन्ने कुरा प्रमाणित गर्नुपर्ने बताए । 

यस्तै सङ्घर्ष समितिका सदस्य भोजराज जोशीले हत्यारा पत्ता लागे पनि बलात्कारी पत्ता नलागेको बताउनुभयो । उहाँले भन्नुभयो, “यो घटनामा एउटै व्यक्तिको संलग्नता हुनै सक्दैन, बलात्कारी पनि सार्वजनिक गर्नुपर्छ ।”

प्रकाशित मिति: ०७:२० बजे, बिहीबार, फागुन ६, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्