Kathmandu Press

तोकिएको समयमा नै निर्वाचन हुन्छ : परराष्ट्रमन्त्री ज्ञवाली

तोकिएको समयमा नै निर्वाचन हुन्छ : परराष्ट्रमन्त्री ज्ञवाली

बनेपा, फागुन ५ : परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले तोकिएको समयमा नै निर्वाचन हुने बताएका छन्।

धुलिखेल नगरपालिकाको ३५औँ स्थापना दिवसका अवसरमा काभ्रेपलाञ्चोकको धुलिखेलमा बुधबार आयोजित उद्घाटन कार्यक्रममा बोल्दै मन्त्री ज्ञवालीले मुलुक नयाँ निर्वाचनको पूर्वतयारीमा केन्द्रित रहेकाले आगामी वैशाख १७ र २७ गते नै निर्वाचन हुने बताए। मन्त्री ज्ञवालीले सङ्घीय संसद्को डेढ वर्ष बाँकी रहँदै ताजा जनादेशमा जानुपर्ने बाध्यता आएको कारण प्रनितिधिसभा विघटन गरेर निर्वाचनमा जानुको विकल्प नभएको जिकिर गरे।

यसअघिको निर्वाचनमा मुलुकमा स्थिरता र समृद्धि दिन्छौँ भनेर प्रतिबद्धता जनाएअनुसार कामलाई निरन्तर अगाडि बढाइरहेको अवस्थामा केही नेताको ध्यान निरन्तर कुर्सीतिर गएको उनको आरोप थियो। प्राप्त जनादेशलाई भागबण्डा गरेर प्रधानमन्त्रीको कुर्सीलाई म्युजिकल चियरजस्तो बनाउने र आलोपालोमा सीमित गर्न खोजेर अस्थिरतातिर धकेल्न खोजेको कारण पनि ताजा जनादेशमा जानुपरेको उनको भनाइ थियो।

मन्त्री ज्ञवालीले राष्ट्रियता, सुशासन, विकास, सामाजिक न्यायको पक्षमा देशले अगाडि फड्को मार्दै गएको बेला केही नेताको ध्यान देशको विकासतिरभन्दा पनि कुर्सीतिर गएकाले यो अवस्था आएको जिकिर गरे। 'अतृत्प आकांक्षाको निम्ति जनतालाई प्रयोगको थलो बनाउनु हुँदैन,' उनले भने, 'जनतामाथि विश्वास भए निर्वाचनमा जान बाटो खुला भएको छ। जनताले जनादेश दिने, सरकारले काम गर्ने र राम्रो काम गरेन भने जनताले नै दण्डित गर्ने भएकाले त्यस प्रकारको राजनीतिक पद्धतिले मात्रै लोकतन्त्रलाई सुदृढ गर्न सक्छ।' 

पूर्वसञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले प्रधानमन्त्रीलाई काम गर्न नदिएको कारण पाँच वर्षका लागि निर्वाचित भएको प्रतिनिधिसभा भङ्ग गर्नुपरेको बताए। उनले राम्रो काम गरेबापत दण्डित हुनुपर्ने हो भने लोकतन्त्रको कुनै अर्थ नहुने बताए। सही कुरा स्थापित गर्न सकेन भने खराबले राज गर्ने भएकाले सच्चा लोकतन्त्रको लागि निर्वाचन अपरिहार्य भएको उनको भनाइ थियो।

 

प्रकाशित मिति: २०:५५ बजे, बुधबार, फागुन ५, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्