विदेशबाट पार्सल आएको भन्दै ठगी गर्ने पक्राउ
काठमाडौं, फागुन ५ : विदेशबाट पार्सल आएको लोभ देखाएर एक समूहले लाखौँ रकम ठगी गरेको पाइएको छ। ठगीमा एक व्यक्तिलाई प्रहरीको केन्द्रीय अनुसन्धान...
काठमाडौं, फागुन ५ : विदेशबाट पार्सल आएको लोभ देखाएर एक समूहले लाखौँ रकम ठगी गरेको पाइएको छ। ठगीमा एक व्यक्तिलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को टोलीले पक्राउ गरेपछि यो रहस्य खुलेको हो।
पक्राउ पर्नेमा पर्वत घर भई काठमाडौंको टोखा बस्ने हरिप्रसाद बस्याल रहेका छन्। उनलाई काठमाडौंको गोङ्गबुबाट पक्राउ गरिएको सिआइबीका प्रमुख सहकुलबहादुर थापाले बताए।
बस्यालसहितको टोलीले सामाजिक सञ्जालमार्फत बेलायतमा बसोबास गर्ने डा. माइकल अलवर्ट भन्ने नामको फेसबुकमा साथी बनाई भाइबरबाट फोन आदानप्रदान गरी लोभमा पारेर रकम ठगी गरेको खुलेको प्रहरीले जनाएको छ।
गिरोहले शुरुमा आइफोन पठाइदिने प्रलोभन देखाएको थियो। त्यसपछि बेलायतबाट विभिन्न उपहारका सामान पठाएको र उक्त सामान भारत हुँदै नेपाल आउँदैछ भनेर आश्वासन दिएका थिए।
लगत्तै भारतीय नम्बरबाट नेपाली भाषा बोल्ने महिलाले पीडितलाई पटकपटक सम्पर्क गरी बेलायतबाट आएको पार्सल सामान भारतको दिल्लीमा आइपुगेको र त्यसमा बहुमूल्य सामानका साथै पाउन्डसमेत भएकाले भन्सार छुटाउन भन्दै पैसा माग गरेका थिए।
उनीहरुले सामान छुटाउन नेपालस्थित एजेन्टको खातामा १० लाख ७० हजार माग गरेका थिए। गिरोहको निर्देशनमा पीडितले उक्त रकममध्ये पाँच लाख २० हजार गङ्गबु बसपार्कस्थित कालीगण्डकी गेष्टहाउसमा पुगी बस्याललाई भेटेर दिएका थिए।
त्यसपछि पीडितले आफू ठगिएको थाहा पाई प्रहरीमा उजुरी दिएका र सोही उजुरीका आधारमा ठगी कार्यमा संलग्न उनलाई पक्राउ गरिएको थापाले जानकारी दिए। उनलाई थप कारवाहीका लागि महानगरीय प्रहरी वृत्त महाराजगञ्ज पठाइएको छ।
प्रहरीले उनको साथबाट एक लाख सात हजार नगदसहित विभिन्न व्यक्तिको नाममा रकम जम्मा गरेको १० थान भौचरसमेत बरामद गरेको छ। (रासस)











