जापानमा कोरोनाविरुद्धको खोप लगाउन शुरु
टोकियो, फागुन ५ : जापानमा कोरोना भाइरसविरुद्धको खोप लगाउन बुधबारदेखि शुरु गरिएको छ।पहिलो चरणमा स्वास्थ्यकर्मीलगायतका अग्रपक्तिंमा कार्यरत व्यक्तिहरुलाई खोप लगाउन थालिएको अधिकारीहरुले जनाएका...
टोकियो, फागुन ५ : जापानमा कोरोना भाइरसविरुद्धको खोप लगाउन बुधबारदेखि शुरु गरिएको छ।
पहिलो चरणमा स्वास्थ्यकर्मीलगायतका अग्रपक्तिंमा कार्यरत व्यक्तिहरुलाई खोप लगाउन थालिएको अधिकारीहरुले जनाएका छन्। खोप लगाउनका लागि प्राथमिकता क्रम निर्धारण गरिएको छ।
जापानमा फाइजर र बायोएनटेकले विकास गरेको खोप लगाउन थालिएको हो। राजधानी टोकियोमा रहेको राष्ट्रिय अस्पताल टोकियो मेडिकल सेन्टरमा खोप लगाउने व्यवस्था गरिएको छ।
पहिलो चरणमा झण्डै ४० हजार स्वास्थ्यकर्मीले खोप लगाउन पाउने अधिकारीहरुको अनुमान छ। पहिलो दिन बुधबार मात्रै झण्डै ८०० स्वास्थ्यकर्मीहरुले खोप लगाएका छन्।
टोकियो मेडिकल सेन्टरका प्रमुख कजुहिरो अराकीले सबैभन्दा पहिलो खोप लगाएका थिए। उनले खोप लगाएपछि कसै कसैलाई सामान्य सहायक असर देखिए पनि नकारात्मक असर भने नपर्ने बताए। खोप अभियानमा सबै सक्रिय सहभागी हुने र कोरोनाविरुद्धको अभियानलाई परास्त गर्न सकिने उनको विश्वास थियो।
प्रधानमन्त्री योशिहिडे सुगाले पनि अहिले प्रारम्भिक चरणका लागि मात्रै खोप ल्याइएको र सबैलाई पुग्नेगरी ल्याउने गृहकार्य भइरहेको जानकारी दिए। जापानको स्वास्थ्य मन्त्रालयले १६ वा सोभन्दा बढी उमेरका व्यक्तिलाई यो खोप लगाउन अनुमति दिने निर्णय गत आइतबार मात्रै गरेको हो।
कोरोना भाइरसबाट धेरै प्रभावित मुलुकमा पर्ने जापानमा अन्य प्रभावशाली र विकसित मुलुकको तुलनामा धेरै ढिला खोप अभियान शुरु भएको हो। (सिन्ह्वा)












