Kathmandu Press

ज्येष्ठ नागरिकलाई फागुन २३ गतेदेखि खोप लगाइने

काठमाडौं, फागुन ५ : सरकारले ज्येष्ठ नागरिकलाई फागुन २३ गतेदेखि कोरोना भाइरसविरुद्धको खोप लगाउने निर्णय गरेको छ।बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा बसेको ईसीएस...
ज्येष्ठ नागरिकलाई फागुन २३ गतेदेखि खोप लगाइने

काठमाडौं, फागुन ५ : सरकारले ज्येष्ठ नागरिकलाई फागुन २३ गतेदेखि कोरोना भाइरसविरुद्धको खोप लगाउने निर्णय गरेको छ।

बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा बसेको ईसीएस (इन्सिडेन्ट कमान्ड सिस्टम)को बैठकले ज्येष्ठ नागरिकलाई फागुन २३ गतेदेखि खोप लगाउने निर्णय गरेको हो। स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार ६० वर्षभन्दा माथिका नागरिकलाई खोप लगाइनेछ।

देशभर ६० वर्षभन्दा माथिका २७ लाख ज्येष्ठ नागरिक रहेको स्वास्थ्य मन्त्रालयको तथ्यांक छ। दोस्रो चरणमा उनीहरु सबैलाई खोप लगाइने प्रवक्ता डा. गौतमले बताए।

पहिलो चरणमा फ्रन्टलाइनमा खटिने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सरसफाइकर्मीलाई खोप लगाइएको छ। उनीहरुलाई लगाउनबाट बचेको खोप पत्रकार र सरकार कर्मचारीलाई लगाइँदै छ।

भारतले नेपाललाई १० लाख कोभिसिल्ड खोप दिएको थियो। चीनले पाँच लाख खोप दिने भएको छ। त्यस्तै, कोभ्याक्स सुविधामार्फत विश्व स्वास्थ्य संगठनले २२ लाख खोप उपलब्ध गराउने भएको छ।

त्यो खोप आउने ढिलाइ हुने देखिएपछि सरकारले भारतबाट खरिद गर्न लागेको छ। मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले अग्रिम भुक्तानी दिएर भारतबाट कोभिसिल्ड खोप खरिद गर्ने निर्णय गरिसकेको छ।

प्रकाशित मिति: १८:०४ बजे, बुधबार, फागुन ५, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्