बैतडीमा कांग्रेस सभामा नेकपा कार्यकर्ताद्वारा आक्रमण, ६ जना घाइते
बैतडी, फागुन ४ : नेपाली कांग्रेसले बैतडीको डिलासैनी गाउँपालिकामा आयोजना गरेको विरोध सभामा नेकपा कार्यकर्ताले आक्रमण गरेपछि झडप भएको छ। झडपमा ६ जना...
बैतडी, फागुन ४ : नेपाली कांग्रेसले बैतडीको डिलासैनी गाउँपालिकामा आयोजना गरेको विरोध सभामा नेकपा कार्यकर्ताले आक्रमण गरेपछि झडप भएको छ। झडपमा ६ जना घाइते भएका छन्।
डिलासैनी गाउँपालिका ३ पङसेरामा कांग्रेस विरोध सभाको आयोजना गरेको थियो। सभामा कांग्रेस नेता एपी साउद, डिला संग्रौला र नैनसिंह महरलगायतका नेता सहभागी थिए।
सभा सुरु भएपछि नेकपा कार्यकर्ताले ढुंगामुढा गरेको नेपाली कांग्रेस डिलासैनी गाउँपालिका कार्यसमितिका सचिव वीरबहादुर विष्टले बताए। उनका अनुसार, नेकपा कार्यकर्ताले ढुंगामुढा प्रहार गरेपछि दोहोरो झडप भएको हो।
झडपमा ६ जना घाइते भएका छन्। उनीहरुको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ।
कांग्रेस नेता साउँदको पेटमा ढुंगा लागेका जनाएको छ। नेताहरुलाई कांग्रेस कार्यकर्ताले जोगाएका थिए।
आक्रमण गर्ने नेकपाको ओली समूहका कार्यकर्ता रहेको जनाएको छ। नेपपा जिल्ला संयोजक सुरेन्द्र पालका छोराको नेतृत्वमा आएको समूहले आक्रमण गरेको विष्टले बताए। पाल ओली समूहका हुन्।
झडप भएको स्थानमा प्रहरी टोली परिचालन गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। झडप साम्य भएपनि थप अशान्ति फैलिन नदिन प्रहरी टोली परिचालन गरिएको जनाएको छ।











