नहरमा बस खस्दा ३७ जनाको मृत्यु
नयाँ दिल्ली, फागुन ४ : भारतको मध्य प्रदेशमा मंगलबार एउटा बस नहरमा खस्दा कम्तीमा ३७ यात्रुको मृत्यु भएको भारतीय अधिकारीहरूले बताएका छन्...नयाँ दिल्ली, फागुन ४ : भारतको मध्य प्रदेशमा मंगलबार एउटा बस नहरमा खस्दा कम्तीमा ३७ यात्रुको मृत्यु भएको भारतीय अधिकारीहरूले बताएका छन् ।
प्रहरीले स्थानीयको सहयोगमा घटनास्थलमा अन्य घाइतेहरूलाई उद्धार गरेको छ एक अधिकारीले बताए । मंगलबार बिहान ५० भन्दा बढी यात्रुसहितको बस सटना गाउँ नजिक दुर्घटना भई नजिकैको नहरमा डुबेको थियो ।
बस दुर्घटनाको कारण अझै खुलिसकेको छैन । भारतको सडकको विशाल सञ्जाल कमजोर तथा खराब रहेको कारण बर्सेनि हजारौँ भारतीयको सडक दुर्घटनाका कारण मृत्यु हुने गर्छ ।
स्थानीय सञ्चारमाध्यमका अनुसार बस पूर्ण रूपमा डुबेको छ र सामजिक सञ्जालमा आएका तस्वीरहरूमा उद्धारकर्ताहरूले लाइफ ज्याकेट लगाएर निरन्तर उद्धार गरिरहेको देखाइएको छ । प्राप्त विवरणअनुसार दुर्घटनापछि चालकसहित सात व्यक्ति पौडी खेली पानीबाट सुरक्षित स्थलमा जान सफल भएका बताइएको छ ।
प्रहरी अधिकृत धर्मवीर सिंहले घटनालाई पुष्टि गर्दै भने, ‘हामीले अहिलेसम्म ३७ जनाको मृत शरीर पानीबाट निकालेका छौँ र तिनीहरूलाई अन्तिम परीक्षणका लागि पठाइएको छ । बेपत्ता अन्य यात्रुहरूको खोजी तथा उद्धारका लागि स्थानीयको सहयोगमा प्रहरी तथा उद्धार टोलीहरू खटिरहेका छन् ।’
घटनापछि नहरको पानी बन्द गरी बसलाई दुर्घटना भएको तीन घण्टापछि क्रेनको सहयोगमा पानी बाहिर निकालिएको छ । यसैबीच भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दुर्घटनामा मृत्यु भएका परिवारका सदस्यलाई क्षतिपूर्ती तथा राहत स्वरूप दुई लाख भारतीय रूपैयाँ सहयोग प्रदान गर्ने ट्वीटर सन्देशमा बताएका छन् ।
भारतमा कमजोर सडक संरचना, चालकको लापरबाही, पुराना गाडीलगायतका कारण सन् २०१९ मा एक लाख ५१ हजार ११३ जनाको मृत्यु भएको सरकारी तथ्याङ्क छ ।












