‘चुनाव गराए देशमा अराजकता बढ्छ’
प्रचण्डले संविधान भत्काएर हुने चुनाव अलोतान्त्रिक, असंवैधानिक हुने भएकाले त्यसले विभिन्न खालका अतिवाद ल्याउने दावी गरे । उनले संसद पुनःस्थापना हुनेमा आफूहरु पूर्ण विश्वस्त रहेको बताए ।चितवन, फागुन ४ : चुनाव गराए देशमा अराजकता बढ्ने नेपाल कम्युनिष्ट पार्टी नेकपाका दाहाल–नेपाल पक्षका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बताएका छन् ।
आज बिहान चितवनमा पत्रकारहरूसँग कुराकानी गर्दै प्रचण्डले असंवैधानिक र अलोतान्त्रिक ढंगले चुनाव गराए देश अराजकताको भूमरीमा फस्ने बताएका हुन् ।
कुराकानीका क्रममा प्रचण्डले संविधान भत्काएर हुने चुनाव अलोतान्त्रिक, असंवैधानिक हुने भएकाले त्यसले विभिन्न खालका अतिवाद ल्याउने दावी गरे । उनले संसद पुनःस्थापना हुनेमा आफूहरु पूर्ण विश्वस्त रहेको बताए ।
प्रतिपक्षीको मागलाई प्राथमिकतामा राखिने बताउँदै अध्यक्ष प्रचण्डले नेपाली कांग्रेस र जनता समाजवादी पार्टीसँग मिलेर संयुक्त आन्दोलन गर्ने तयारीमा आफूहरु रहेको पनि बताए ।यसका लागि कांग्रेस सभापति शेरबहादुर देउवा र जसपा नताका नेताहरूसँग छलफल भइरहेको बताए।
भरतपुर–७ स्थित जेठो सम्धी नरबहादुर केसीको निधनमा श्रद्धाञ्जली दिन प्रचण्ड सोमबार चितवन गएका हुन् ।











