खोपको प्रभावकारिता ७८ प्रतिशत, ढुक्क भएर लगाउनुस् : स्वास्थ्य मन्त्रालय
काठमाडौं, फागुन ३ : सरकारले कोरोना भाइरसविरुद्धको खोप ‘कोभिशिल्ड’को प्रभावकारी ७८ प्रतिशत रहेकाे जनाउँदै ढुक्क भएर लगाउन आग्रह गरेको छ।सोमबार स्वास्थ्य पत्रकार मञ्च,...
काठमाडौं, फागुन ३ :सरकारले कोरोना भाइरसविरुद्धको खोप ‘कोभिशिल्ड’को प्रभावकारी ७८ प्रतिशत रहेकाे जनाउँदै ढुक्क भएर लगाउन आग्रह गरेको छ।
सोमबार स्वास्थ्य पत्रकार मञ्च, नेपालले आयोजना गरेको ‘कोभिड–१९ को महामारी र कोभिशिल्ड खोपको प्रभावकारिता’ विषयक अन्तरक्रिया कार्यक्रममा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका खोप शाखाका प्रमुख डा. झलक शर्मा गौतमले खोपको प्रभावकारिता ७८ प्रतिशत देखिएकाले ढुक्क भएर लगाउन आग्रह गरेका हुन्।
खोपले अहिलेसम्म ठूलै नकारात्मक असर नगरेकाले खोप निर्धक्क भएर लगाउनुपर्नेमा जोड दिँदै डा. गौतमले खोप लगाउँदा सामान्य असर देखिएपनि त्यो असर विस्तारै आफैँ हराएर जाने बताए।
उनले पहिलो चरणको दोस्रो प्राथमिकतामा परेका व्यक्तिलाई खोप लगाउन थालिएको बताए। पहिलो चरणको प्राथमिकतामा परेका व्यक्तिमा खोप लगाउँदा ८३ प्रतिशतलाई समेट्न सकिएको उनको भनाइ थियो। भारत सरकारको अनुदानमा प्राप्त १० लाख मात्रा कोभिशिल्ड खोप यहि माघ १४ गतेदेखि लगाउन थालेको छ।
यस्तै शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका प्रवक्ता डा. अनुप बाँस्तोलाले खोप लगाएकामध्ये कोही पनि सिकिस्त विरामी हुनु नपरेकाले खोप लगाउन अनुरोध गरे। उनले खोपबारे भ्रम फैलाइरहेकाले त्यो भ्रमलाई पत्रकारले चिर्न आवश्यक रहेको बताए।
पहिलो पटक खोप लगाउँदा यसले शरीरलाई चिनेर काम गर्न थाल्ने र दोस्रो पटक लगाउँदा रोग प्रतिरोधात्मक क्षमता बनाउने डा. बाँस्तोलाले बताए। 'खोप लगाउँदा फेरि सङ्क्रमण भएपनि मृत्यु नहुने र जटिल अवस्थामा पुर्याउदैन,' उनले भने, 'दोस्रो पटक चार÷पाँच हप्तामा खोप लगाउँदा रोगसँग लड्ने क्षमता बढाउँछ।'
डा. बाँस्तोलाले खोप लगाएपनि स्वास्थ्यका मापदण्ड मास्क, भौतिक दूरी कायम राख्नुपर्ने र स्यानिटाइजर अनिवार्य रुपमा प्रयोग गर्न सुझाब दिए।
औषधि व्यवस्था विभागका महानिर्देशक भरत भट्टराईले कोभिड–१९ विरुद्ध बनेका भारत, रसियालगायत देशबाट खोप दर्ता गर्नका लागि निवेदन आएको उल्लेख गर्दै गुणस्तर र प्रभावकारिता हेरेर मात्र अनुमति दिने बताए।
मन्त्रालयका प्रमुख विशेषज्ञ डा. रोशन पोखरेलले कोभिड–१९ ले नेपालमा महामारीको बेला कसरी काम गर्न सकिन्छ भनेर पाठ सिकाएको भन्दै स्वास्थ्यकर्मी राम्रोसँग काम गर्दा कोभिड–१९ बाट धेरै क्षति व्यहोर्नु नपरेको बताए।
कार्यक्रममा स्वास्थ्य राज्यमन्त्री नवराज रावतले सरकारले कोभिड–१९ को रोकथाम र नियन्त्रणमा प्रभावकारी काम गरेको बताए। उनले अन्य देशको तुलनामा सरकारले कोभिड–१९ लाई नियन्त्रण गरेको दाबी गरे। (रासस)











