प्रधानमन्त्रीको दाबी– अर्को वर्ष १० प्रतिशत आर्थिक वृद्धि
आफ्नो तीन वर्षे कार्यकालमा भएका कामको फेहरिस्त सुनाउन सोमबार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा प्रधानमन्त्रीले ओलीले आगामी आवमा १० प्रतिशत आर्थिक वृद्धि हासिल हुने दाबी गरेका हुन् ।
काठमाडौं, फागुन ३ : मुलुकको आर्थिक वृद्धिमा दोहोरो अंक हासिल गर्ने पुरानै लक्ष्य हो, जुन हालसम्म प्राप्त भएको छैन ।
प्रधानमन्त्री केपी ओलीले भने आगामी आर्थिक वर्षमै दोहोरो अंकको वृद्धि हासिल गर्ने दाबी गरेका छन् ।
आफ्नो तीन वर्षे कार्यकालमा भएका कामको फेहरिस्त सुनाउन सोमबार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा प्रधानमन्त्रीले ओलीले आगामी आवमा १० प्रतिशत आर्थिक वृद्धि हासिल हुने दाबी गरेका हुन् ।
तीन वर्षमा साढे पाँच प्रतिशतको आर्थिक वृद्धि हासिल भएको उनको दाबी छ । प्रदेशहरूको आर्थिक वृद्धि ६ प्रतिशतभन्दा माथि रहेको प्रधानमन्त्रीको दाबी छ । ‘कोभिडले विश्वभरको अर्थतन्त्र भत्कायो तर सरकारको सुझबुझ र पूर्वसक्रियताका कारण नेपाली अर्थतन्त्रमा खासै प्रभाव परेन,’ प्रधानमन्त्रीले भने, ‘पुनः उच्च आर्थिक वृद्धिको बाटोमा अर्थतन्त्र छ । आगामी वर्ष १५ औँ योजनाले प्रक्षेपण गरेको १० प्रतिशत आर्थिक वृद्धि हासिल हुनेछ ।’
कोभिड–१९ पनि गरिबी नबढेको प्रधानमन्त्रीले दाबी गरे । अनि प्रतिव्यक्ति आय ८ सय ८७ बाट १ हजार ९७ डलर पुगेको दाबी प्रस्तुत गरे । ‘नेपाल अति कम विकसित मुलुकबाट विकासशील मुलुकमा स्तरोन्नती हुँदैन,’ प्रधानमन्त्रीले भने ।











