कुवेतमा काम लगाइदिने बहानामा श्रीलङ्का पुर्याएर बेचबिखन
काठमाडौं, फागुन २ : दलालको एक समूहले कुवेतमा काम लगाइदिने बहानामा भारतबाट मलेसिया हुँदै श्रीलङ्का पुर्याएर एक महिलालाई बेचबिखन गरेको पाइएको छ।पीडितले १०...
काठमाडौं, फागुन २ : दलालको एक समूहले कुवेतमा काम लगाइदिने बहानामा भारतबाट मलेसिया हुँदै श्रीलङ्का पुर्याएर एक महिलालाई बेचबिखन गरेको पाइएको छ।
पीडितले १० महिना जेल जीवन बिताई नेपाल फर्किएर उजुरी दिएपछि बेचबिखन भएको खुलेको हो। कुवेतमा घरायसी काममा लगाइदिने र त्यसबाट आकर्षक तलब पाउने लोभ देखाएर श्रीलङ्कामा मानव बेचबिखन गरेको आरोपमा बेचबिखनमा संलग्न गिरोहमध्ये एक जनालाई प्रहरीले पक्राउ पनि गरेको छ।
प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरोका प्रहरी उपरीक्षक अनुरागकुमार द्विवेदीले बर्दिया स्थायी घर भई हाल पर्वत बस्दै आएका ३६ वर्षीय खेमबहादुर सुवेदीलाई पक्राउ गरिएको बताए। खेमबहादुरलाई ब्यूरोबाट खटिएको प्रहरी टोलीले पर्वतको कुस्मामा लुकिछिपी बसेको अवस्थामा फेला पारी पक्राउ गरेको जनाएको छ।
गिरोहले पीडितको राहदानीसमेत आफ्नै खर्चमा बनाएर प्रलोभनमा पारेका थिए। उनले नेपालको विमानस्थलबाट जान नमिल्ने भन्दै भारतबाट मलेसिया हुँदै श्रीलङ्का पुर्याएको अनुसन्धानमा खुल्न आएको छ। त्यहाँ पुगेपछि श्रीलङ्कन नागरिक सिराक खान र आलिक खानले बन्धक बनाइराखेको अवस्थामा प्रहरी आई जाँच गर्दा भिषा नभएको पाइएपछि १० महिना जेल बस्नु परेको पीडितले बताइन्।
त्यसपछि नेपाली दूतावास र महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयसमेतको सहयोगमा नेपाल फर्काइएको थियो।
हेमबहादुरलाई आवश्यक अनुसन्धानका लागि काठमाडौं जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी अनुसन्धान जारी रहेको तथा अन्य फरार प्रतिवादीको खोजी कार्य जारी रहेको ब्यूरोले जनाएको छ।











