व्यवहारमा देखिएको प्रेम
रश्मी बहिरी हुन्, त्यसमाथि नेवारकी छोरी । जातसँगै शारीरिक अवस्था नमिल्ने भएपछि हरिलाई विश्वास थिएन– आफ्नो रोजाइलाई परिवारले स्वीकृत दिन्छ भन्नेमा । त्यसैले उनले घरमा कुरै नगरी एक्लै रश्मीलाई माग्न रश्मीको घर गएका थिए ।
काठमाडौं, फागुन २ : थरीथरीका रंगका बट्टामा ब्रस चोप्दै क्यानभास रंगाउन व्यस्त थिइन्, रश्मी । कोठाभरि उनले बनाएका थरीथरीका पेन्टिङ मिलाएर राखिएको छ । भित्तामा रश्मीको ठूलो सेल्फ पोट्रेट (आत्मचित्र) छ । यो दृश्य हो, हात्तीवनस्थित ३५ वर्षीया रश्मी अमात्य र ४० वर्षीया हरि अधिकारीको कोठाको ।
रश्मि र हरि दम्पती हुन् । यो अन्तर्जातीय जोडी प्रेम र विवाहको एक उदाहरण हो ।
२०६० सालमा बहिराको जीवनमा आधारित टेलिचलचित्र बनाउने योजनामा हरि अधिकारी लगायत साथीहरू मिलेर नाटकको परिकल्पना गरे । नाटकमा बहिराको भूमिकाका लागि कलाकारको खोजी गर्ने क्रममा रश्मीसँग हरिको भेट भयो । शान्त स्वभावकी रश्मिलाई हरिले नाटक खेल्न प्रस्ताव गरे, तर रश्मीले अभिभावकको अनुमति लिनुपर्ने बताइन् । अभिभावकको अनुमति लिन हरि लगायत टोली रश्मीको घर पुगे र परिवारलाई मनाए । नाटकको रिहर्सल गर्ने क्रममा करिब दुई महिनासँगै काम गरेपछि हरि र रश्मी राम्रो साथी हुन पुगे । नाटक सकिएपछि हरिले अस्ट्रेलिया जाने योजना गरिरहेका थिए, उनको अस्ट्रेलियाको भिसा पनि लाग्यो ।
अस्ट्रेलिया जानुअघिको भेटमा रश्मीले हरिलाई रातो स्विटर उपहार दिएकी थिइन् । हरि भन्छन्, ‘हामी सामान्य साथी थियौँ, अस्ट्रेलिया जानुअघि सबै साथीलाई भेट्ने क्रममा रश्मीलाई पनि भेटेँ ।’ त्यतिबेलासम्म हरि र रश्मीबीच प्रेमको कोपिला लागिसकेको थिएन ।
हरिले अस्ट्रेलिया ‘अशक्तता (डिसएबिलिटिज्) वर्क’ विषयमा एक वर्ष काम गरे । अस्ट्रेलिया बसाइमा दुईबीच इमेलमा सामान्य कुरा हुने गथ्र्यो । एक वर्षपछि हरि नेपाल फर्कंदा उनलाई लिन रश्मी एयरपोर्ट पुगिन् । रश्मी भन्छिन्, ‘हातमा रातो गुलाब लिएर साथी र म उहाँलाई स्वागत गर्न एयरपोर्ट गएका थियौँ ।’
यसपछि भने यी दुईको प्रेम व्यवहारमा देखिन थाल्यो । जाने बेला स्विटर दिनु, आउने बेला लिन जानु– हरिले रश्मीको व्यवहारमा प्रेमको अनुभूत गर्न थाले । इन्टरनेटमार्फत कुरा हुँदा हरिले रश्मीलाई बिहेको प्रस्ताव गरेका थिए ।
हरि भन्छन्, ‘बिहे गरौँ भन्दा रश्मीले पत्याइनन्, मैले गर्छु भनेपछि अन्तिममा घरमा आएर कुरा गर्न भनिन् । रश्मी बहिरी हुन्, त्यसमाथि नेवारकी छोरी । जातसँगै शारीरिक अवस्था नमिल्ने भएपछि हरिलाई विश्वास थिएन– आफ्नो रोजाइलाई परिवारले स्वीकृत दिन्छ भन्नेमा । त्यसैले उनले घरमा कुरै नगरी एक्लै रश्मीलाई माग्न रश्मीको घर गएका थिए ।
‘बहिरी छोरीलाई सपांग, त्यसमा पनि क्षेत्रीको छोरा माग्न आउँदा आमाबुबाले प्रश्न सोध्नु स्वाभाविक थियो,’ रश्मी भन्छिन् ।
यता हरिले आमाबालाई भन्न सकेनन् । उनले बहिनी र भाउजूलाई आफूले बिहे गर्न लागेको बारे बताए । हरि भन्छन्, ‘घरमा खबर पुगेपछि तहल्का नै मच्चियो नि, अस्ट्रेलियाबाट आएको छोरो बिहे गर्छु भन्छ, नेवार केटी, त्यसमाथि बहिरी आमा त रुनु नै भयो ।’
परिवारलाई मनाउन उनले कुनै कसर बाँकी राखेनन्, केही नलागेपछि परिवारले आफ्नो सुर गर भन्यो । उनीहरुले २०६८ सालमा बिहे गरे ।
त्यसपछि हरि र रश्मी छुट्टै मायाको संसारमा रमाउन थाले । रश्मीको पढाइ कक्षा ८ मा रोकिएको थियो, अगाडि पढ्न हरिले प्रोत्साहन गरे । उनले रश्मीलाई डायरीमा लेखेका कुरा ठूलो स्वरले पढ्न लगाउँथे । यसरी अभ्यास गरेपछि दुई–चार शब्द बोल्ने रश्मीको जीवनमा एकाएक परिवर्तन आयो । अहिले उनी सामान्य बुझ्न सक्ने गरी बोल्ने भएकी छन् । हरि भन्छन्, ‘मेरो जीवनको सबैभन्दा ठूलो सफलता भनेकै रश्मी बोल्न सक्ने हुनु हो । उनको बोलीमा सुधार हुँदै छ ।’
अहिले रश्मीले काठमाडौं युनिभर्सिटीबाट फाइन आर्टस्को अध्ययन सकिन् । उनी अचेल नेपालका विभिन्न ठाउँमा आर्ट एक्जिबिसन, तालिम दिन जान्छिन् । उनले तीनपटक अस्ट्रेलियामा आर्ट एक्जिबिसन गरिसकेकी छिन् । रश्मी भन्छिन्, ‘कुनै कुनै मोडले जीवनमा धेरैे परिवर्तन ल्याउने रहेछ, जुन सम्झँदा सपनाजस्तै लाग्छ ।’ अचेल रश्मी देश–विदेशबाट आर्टका लागि आउने अर्डरको काममा व्यस्त हुन्छिन् । उनलाई प्रेमले जीवन बदलिनेमा विश्वास छ । उनी भन्छिन्, ‘आफ्नाको माया, साथ र सहयोग पाइयो भने जस्तोसुकै कठिन समय पनि पार गर्न सकिने रहेछ ।’ अभिभावकले अपांगता भएका बालबालिकालाई गर्नुपर्ने व्यवहारको ज्ञानको अभावमा धेरैको बालापन चित्त दुखाइमा बितेको उनी बताउँछिन् । सबैले बुझ्ने गरी रश्मी बोल्न सक्दिनन् तर उनले अभिव्यक्त गर्न खोजेका हरेक भावलाई हेरेर हरिले शब्दमा उतारिदिन्छन् ।