Kathmandu Press

माटो निकालेर फेवातालको आयु लम्ब्याइने

पानीको सतह घटेपछि फेवाताल किनारमा थुप्रिएको माटोलाई यही समयमा निकालेर तालको आयु बढाउनुपर्ने विषय  सम्पदा संरक्षणकर्मी, स्थानीय एवं पर्यटन व्यवसायीको चासो र चर्चामा छ । 
माटो निकालेर फेवातालको आयु लम्ब्याइने

कास्की, फागुन २ : पोखराको फेवातालको बाँध ४२ वर्षपछि मर्मतसम्भार हुँदैछ । यसका लागि जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयले तालको पानीको सतह घटाएको छ । पानीको सतह घटेपछि फेवाताल किनारमा थुप्रिएको माटोलाई यही समयमा निकालेर तालको आयु बढाउनुपर्ने विषय  सम्पदा संरक्षणकर्मी, स्थानीय एवं पर्यटन व्यवसायीको चासो र चर्चामा छ । 

तालको सिरान क्षेत्रबाट बगेर आएको ढुङ्गा माटो ९ग्रेगान०कारण तालको आयु घट्दै गएको जनाउँदै  यसअघि पनि समयसमयमा माटो निकाल्नुपर्छ भन्ने विषयमा कुरा उठ्दै आइरहेको थियो  । सम्पदा संरक्षण अधिकारकर्मी रामबहादुर पौडेलले तालको पानी घटाइएकाले थुप्रिएका माटो निकाल्न उपयुक्त समय भएको बताउँछन् । “फेवाताल पोखराको गहना हो, तालको आयुलाई बढाउन यसरी थुप्रिएको माटोलाई समयमै निकालेर फाल्नुपर्छ”, उनले भने । 

उनले यस विषयसम्बन्धी निकायको ध्यानाकषर्ण गरेर नागरिकस्तरबाट पनि माटो फाल्नका लागि पहल गरिने  जानकारी दिए । पोखरा पर्यटन परिषद्का अध्यक्ष गोपीबहादुर भट्टराईले पनि तालको सौन्दर्यअभिवृद्धि लागि अहिले तालमा बगेर आएको माटोलाई फाल्नुपर्ने धारणा राख्छन् । ‘अहिले सही समय हो जनस्तरबाट पनि माटो फाल्नुपर्छ भन्ने कुरा आएको छ, हामी पनि त्यस कुरामा साथ दिन तयार छौँ’, उनले भने । उनले अहिले फेवाताल वरिपरि रहेको फोेहर मैला व्यवस्थापन गर्ने, फेवातालभित्र रहेको मलिलो माटो झिकेर सही सदुपयोग गर्ने र ताललाई फराकिलो बनाएर थप सौन्दर्यकरण गर्न पोखरा महानगरपालिकालाई समन्वयनका लागि आग्रहसमेत गरिएको बताए । 

Hardik ivf

पोखरा महानगपालिका प्रमुख मानबहादुर जिसीले फेवातालको माटो निकाल्ने विषयमा विज्ञको रायसुझाव लिएर मात्र निर्णय गरिने जानकारी दिए । ‘अहिले बाँध निर्माणका लागि फेवातालको पानी घटाइएको छ, सिरानबाट आएका ग्रेगानले तालको लगभग नौ मिटर पुरिसकेको अवस्था रहेकाले यसलाई निकै चासोका रुपमा महानगरले लिएको छ’, उनले भने । 

उनले तालको माटोलाई कसरी निकाल्न सकिन्छ र कहाँ व्यवस्थापन गर्न सकिन्छ भन्ने बारे पहिला सरोकारवाला विज्ञसँग परामर्श गरेर अघि बढ्ने बताए । ‘फेवातालले लामो समयदेखि आफ्नो आकार बनाएको छ, माटो फाल्दा ताल सुक्ने पो हो कि ? माटो अध्ययन नगरी डोजर लगाउन भएन, माटो फाल्दा पोखरी सुकेका धेरै उदाहरण छ’, उनले थपे, ‘यो बेलामा माटो झिक्न कति बजेट लाग्छ, कहाँ व्यवस्थापन गर्ने, सबै अध्ययन र योजना बनाएर मात्र काम थालनी हुन्छ ।’ बाँध बनाउन डेढ दुई महिना लाग्ने भएकाले तत्काल फालिहाल्नु पर्छ भनेर दबाबले मात्र नभई ग्रेगान निकाल्दा जलचर र ताललाई कम असर हुने उपायको खोजीबाट अघि बढ्ने उनले जानकारी दिए । तालको आयु दिनप्रति घटिरहेको अवस्थामा तालको आयु बढाउन सरोकारवालासँग छलफल गरिने उनको भनाइ छ । 

ताल संरक्षण तथा प्राधिकरणका प्रमुख अनुप गुरुङले तालको फोहर व्यवस्थापन र तालमा थुप्रिएको माटो निकाल्न अहिले उपयुक्त समय रहेको बताए । ‘अहिले सही समय देखिएको छ, यसबारेमा महानगरले विज्ञको राय सल्लाह लिएर अघि बढ्दा राम्रो हुन्छ । महानगसँग समन्वय गरेर सुकिसकेको माटो निकाल्न मिल्छ’, उनले भने । महानगरबाटै यसको अगुवाइ गर्नुपर्ने उनको भनाइ छ । 

वन विज्ञान अध्ययन संस्थानका पोखराका प्राध्यापक राजन सुवेदी यतिबेला ताल छेउमा देखिएका फोहर र थुप्रिएको माटो निकाल्न सहज हुने बताउँछन् । उनले पानीको सतह घटाउँदा जलचरलाई एक किसिमको असर परिसकेको र अब माटो निकाल्दा कम क्षति हुने तरिकाबाट निकाल्न सकिने बताए । ‘अहिले नै जलचरलाई असर त परिसकेको छ ,अब वरिपरिको फोहर व्यवस्थापन र माटो निकाल्दा कम क्षति हुने गरेर सफा गर्न सकिन्छ’, जलाधार विज्ञ उनले भने । उनले थुप्रिएको माटोको गहिराइसम्म नभई केही माथिबाट माटो निकाल्दा धेरै असर नपर्ने बताए । ‘क्ले सोइल भयो भन पानी रहन्छ नत्र बलौटे माटोले पानी सोस्छ, फेवातालको भू–बनोट हेर्दा धेरै पहिले देखिको माटो थिग्रिएको छ अहिले दुई÷चार मिटर मात्रै निकाल्न सके पनि तालको आयु बढाउन सकिन्छ ।’ उनले भने । 

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बाले भावनामा बगेरभन्दा पनि तथ्यको विश्लेषण गरेर काम गर्नुपर्ने बताए । ‘सिमसार र तालको एकल अधिकार सङ्घलाई छ, प्रदेशको गहनाका रुपमा रहेको तालको सौन्दर्यअभिवृद्धिका विषयमा धेरै कुरा उठेका छन् । हामीले हाम्रो क्षेत्राधिकारभित्रको सिमाङ्कनका विषयलाई तीव्ररुपमा काम गरेका छौँ यसै वर्ष यो टुङ्गो लाग्छ, अब यसको संरक्षण व्यवस्थापन स्थानीय तहको हो, समन्वय गरेरर ठोस धारणासहित अघि बढ्न सकिन्छ’, उनले भने । उनले प्राकृतिक सम्पदाको संरक्षण र सौन्दर्यीकरणका लागि विज्ञको राय सुझाव र दीर्घकालीन हितका लागि काम गर्नुपर्ने भएकाले लहडको भरमा नभई विज्ञको सल्लाह लिएर अघि बढ्नुपर्ने बताए । 

विसं २०१८ मा बाँँधिएको ताल फुटेपछि  पुनः २०३५ सालमा नयाँ बाँध बाँधिएको थियो । शुरुको ४६ फिट अग्लो बाँध भारतीय सहयोग मिसनले र पछि संयुक्त राष्ट्रसङ्घको सहयोगमा पुनःनिमाण गरिएको थियो । त्यसयता लामो समयसम्म बाँध मर्मतसम्भार हुन नसक्दा जीर्ण हुँदै गएको थियो । उक्त बाँधमा अहिले रबर शिल्ड र लञ्चिङ एप्रोन राखेर मर्मत कार्य हुँदैछ । बाँध मर्मतका लागि हाल पानीको सतह एक मिटरको घटाइएको छ, प्राविधिकको सल्लाहअनुसार आवश्यकता हेरेर पानीको सतह घटाउँदै लगिने जनाइएको छ । 

जलाधार क्षेत्रबाट वर्षेनी बगेर आउने गेग्रानले गर्दा फेवाताल पुरिँदै गएको निष्कर्षसहित फेवाताल संरक्षण अभियानअन्तर्गत पोखरा महानगरपालिका वडा नं २३ खहरे खोलामा सिल्टेसन ड्याम निर्माण गरिएको छ । प्रदेश उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालय र पोखरा महानगरले पाँच ठाउँमा बाँध र पोखरीका २८ करोड ९६ लाख रुपैयाँमा निर्माण कम्पनीसँग सम्झौता भई काम भएको हो ।  महानगरपालिकाले २०७७ सालमा प्रधानमन्त्रीलाई बुझाएको पछिल्लो प्रतिवेदनमा फेवातालको क्षेत्रफल ९५।०८ वर्गकिलोमिटर० १० हजार  रोपनी छ । जमुनावर्षा शर्मा, रासस

प्रकाशित मिति: १३:५७ बजे, आइतबार, फागुन २, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्