ला लिगामा बार्सिलोनाको शानदार जीत, एट्लेटिको मड्रिड शीर्षता कायमै

काठमाडौं, फागुन २ : स्पेनिस ला लिगा फुटबलमा शीर्ष स्थानको एट्लेटिको मड्रिडले जित निकालेको छ ।
शनिबार राति भएको खेलमा एट्लेटिकोले ग्रानडालाई २-१ गोल अन्तरले हराएको हो । ग्रानडाको मैदानमा भएको खेलमा एट्लेटिकलाई जिताउन मार्कुस लोरेन्ट र एन्जल कोर्रेयाले एक/एक गोल गरे । ग्रानडाका लागि यान्जल हरेराले एक गोल फर्काए । जितसँगै एट्लेटिकोले २१ खेलमा ५४ अंक जोडेको छ भने ग्रानडा ३० अंक जोडेर आठौं स्थानमा रहेको छ।
गएराति नै भएको अर्को खेलमा बार्सिलोनाले अलाभेसमाथि फराकिलो जित निकालेको छ। क्याम्प नाउमा सम्पन्न खेलमा घरेलु टोली बार्सिलोनाले अलाभेसमाथि ५-१ गोलअन्तरको फराकिलो जित निकालेको हो। बार्सिलोनाका लागि फ्रान्सिस्को ट्रिन्काओको र लियोनल मेस्सी दुई/दुई गोल र जुनियर फिर्पोले एक गोलको योगदान गरे ।
अलाभेसका लागि लुइस रिओजाले एक गोल फर्काए । जितसँगै बार्सिलोना अंकतालिकाको दोस्रो स्थानमा उक्लिएको छ। मड्रिडले समान २२ खेलबाट ४६ अंक जोड्दै क्रमस दोस्रो र तेस्रो स्थानमा छन्। गएराति नै भएको अर्को खेलमा सेभिल्लाले हुयस्कालाई एक शुन्यले हराउँदै तालिकाको चौथो स्थानमा उक्लिएको छ।











