Kathmandu Press

अरुण जलविद्युत् आयोजना स्थलमा तोडफोड र आगजनी, कामकाज ठप्प

किमाथाङ्का, फागुन १ : अरुण तेस्रो जलविद्युत् आयोजना निर्माण कम्पनीको टिप्परको ठक्करले एक जनाको मृत्यु भएपछि स्थानीयले आयोजनाको काम ठप्प पारेका छन्।सङ्खुवासभाको...
अरुण जलविद्युत् आयोजना स्थलमा तोडफोड र आगजनी, कामकाज ठप्प

किमाथाङ्का, फागुन १ : अरुण तेस्रो जलविद्युत् आयोजना निर्माण कम्पनीको टिप्परको ठक्करले एक जनाको मृत्यु भएपछि स्थानीयले आयोजनाको काम ठप्प पारेका छन्।

सङ्खुवासभाको मकालु–५ फ्याक्सिन्दामा टिप्परले ठक्कर दिएपछि मकालु–३ हेदाङ्नाका ४२ वर्षीय खड्गबहादुर राईको मृत्यु भएको थियो। उनका आफन्तले क्षतिपूर्तिको माग राख्दै अरुण तेस्रो जल विद्युत् आयोजनाको काम ठप्प पारेका छन्।

शुक्रबार बिहान टिप्परको ठक्करबाट मृत्यु भएका खड्गबहादुरको शव २४ घन्टा बित्दा पनि पनि आफन्तजनले उठाएका छैनन्। उनका आफन्तले घाइतेको उपचार, बालबच्चाको सम्पूर्ण पढाइ खर्च व्यहोर्नुपर्ने माग गर्दै जलविद्य्त् आयोजनाको काम अवरुद्ध बनाएका हुन्।

फ्याक्सिन्दामा जयप्रकाश एसोसिएट कम्पनीले ड्याम साइड निर्माण तथा सुरुङ मार्गको काम गरिरहेको छ। काममै खटिएको टिप्परले मोटरसाइकलमा गइरहेका खड्कबहादुरलाई ठक्कर दिएको थियो।

स्थानीयले क्षतिपूर्तिको माग राख्दै कम्पनीको कार्यालयमा तोडफोड र आगजनी गरेका छन्। स्थानीय आन्दोलित भएपछि घटनास्थलमा ठूलो सङ्ख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ। त्यस क्षेत्रमा नेपाल प्रहरी, सशस्त्र प्रहरीसहित एक सयभन्दा बढी सुरक्षाकर्मी परिचालन भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

भारतको बिहार प्रदेशको ७६१० नम्बरको टिपरले को २३ प ४८१५ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका प्रहरी प्रमुख डिएसपी नवराज मल्लले बताए। टिपरको ठक्करबाट गम्भीर घाइते भएकी प्रेमकुमारी राईलाई उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौं लगिएको छ।

प्रहरीले टिपर चालक काभ्रेको नवबुद्ध नगरपालिका–६ का ३० वर्षीय सुवास चौलागाईं र टिपरलाई नियन्त्रणमा लिएको जनाएको छ।

प्रकाशित मिति: २०:०६ बजे, शनिबार, फागुन १, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्