Kathmandu Press

आक्रामकबाट रक्षात्मक बन्दै प्रधानमन्त्री ओली

युवा नेता रामकुमारी झाँक्रीलाई राज्यविरुद्धको कसुरमा पक्राउ गरिएको विषय उच्चारणसम्म गरेनन् । शुक्रबार भएको नागरिक आन्दोलनप्रति कुनै शब्द खर्चेनन् । हरेक विषयमा तत्काल प्रतिक्रिया जनाइहाल्ने पुरानो शैली बुटवलको सभामा प्रस्तुत गरेनन् ।
आक्रामकबाट रक्षात्मक बन्दै प्रधानमन्त्री ओली

काठमाडौं, फागुन १ : आफ्नो समूहले शनिबार बुटवलमा आयोजना गरेको सभामा नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी ओली ज्यादा आक्रामक रूपमा प्रस्तुत भएनन् बरु रक्षात्मक देखिए ।

चुनावी भाषण भन्न मिल्ने उनको मन्तव्यको अधिकांश समय तीन वर्षमा आफू नेतृत्वको सरकारले गरेका कामको दाबी प्रस्तुत गर्न खर्च भयो । संविधानको धारा ७६ उपधारा १ अन्तर्गत्को प्रधानमन्त्रीले आफूले उपधारा ७ अनुसार प्रतिनिधिसभा विघटन गरेको दलिल प्रस्तुत गरे ।

भाषणको अधिकांश समय विकास निर्माणका लागि आफूले अग्रसरता लिएको उनको दाबी रह्यो । नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डप्रति उनले कटाक्ष गरे । तर, माधवकुमार नेपाल, झलनाथ खनाललगायत नेताको नाम लिएनन् । युवा नेता रामकुमारी झाँक्रीलाई राज्यविरुद्धको कसुरमा पक्राउ गरिएको विषय उच्चारणसम्म गरेनन् । शुक्रबार भएको नागरिक आन्दोलनप्रति कुनै शब्द खर्चेनन् । हरेक विषयमा तत्काल प्रतिक्रिया जनाइहाल्ने पुरानो शैली बुटवलको सभामा प्रस्तुत गरेनन् ।

प्रचण्ड–नेपाल समूह पार्टीबाट बाहिरिएपछि आयोगहरू गठन भएको पुरानै दाबी दोहोर्‍याए । र, कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटेर नक्सा सार्वजनिक र संविधानको अनुसूचीमा त्यस विषयलाई समेटिएपछि आफूलाई पदबाट हटाउन चलखेल सुरु भएको पुरानै दाबी बुटवलमा पनि दोहोर्‍याए ।

प्रचण्ड–नेपाल समूह रहेसम्म पार्टीमा गुटबन्दी झाँगिएको बताए । उक्त समूह बाहिरिएपछि पार्टीमा अनुशासन कायम भएको दाबी प्रस्तुत गरे । एक हिसाबले प्रचण्ड–नेपाल समूह बाहिरिएकामा उनले खुसी प्रकट गरे । ‘उहाँहरू गएपछि अहिले पार्टी गतिशील भएको छ,’ उनले भने, ‘उहाँहरू रहुन्जेल यस्ता सभा कहाँ गर्न सक्नु ।’

२८ माघमा काठमाडौं प्रदर्शनीमार्गमा आयोजित सभालाई उनले ‘गाली पुराण सभा’ संज्ञा दिए । ‘साथीहरूले गाली पुराणका १७ वटा खण्ड बाचन गरे,’ उनले भने ।

युवा नेता रामकुमारी झाँक्रीलाई राज्यविरुद्धको कसुरमा पक्राउ गरिएको विषय उच्चारणसम्म गरेनन् । शुक्रबार भएको नागरिक आन्दोलनप्रति कुनै शब्द खर्चेनन् । हरेक विषयमा तत्काल प्रतिक्रिया जनाइहाल्ने पुरानो शैली बुटवलको सभामा प्रस्तुत गरेनन् ।

आफू आक्रामकताको पक्षमा नरहेको जिकिर प्रधानमन्त्रीले गरे । आवेश र उत्तेजनामा नलाग्ने बताए । ‘उनीहरू राष्ट्रिय स्वाधिनताको कुरा गर्दैनन्, नक्सा छापेको उच्चारण गर्दैनन्, भूपरिवेष्ठितबाट भूजडित बनाएको कुरा गर्दैनन्,’ उनले भने, ‘नयाँ डिजिटल जमाना र सुरुङ युगमा देश प्रवेश गरेको कुरा उनीहरू गर्दैनन् । विकासको अगुवाइको नेतृत्व गर्ने केपी ओलीलाई लखेट मात्र भन्छन् ।’

प्रधानमन्त्री ओलीले ०७८ मंसिर २ मा आफ्नो पार्टीको महाधिवेशन घोषणा गरे । र, त्यसक्रममा तलदेखि माथिसम्मै ३३ प्रतिशत महिला सहभागिता गराउने बताए । १७ र २७ वैशाखको निर्वाचन कसैले रोक्न नसक्ने जिकिर दोहोर्‍याए । सूर्य चिह्न आफ्नै पार्टीले पाउने दाबी प्रस्तुत गरे ।

‘यो राणाशासनकाल होइन, पञ्चायतीकाल पनि होइन,’ उनले भने, ‘अब प्रचण्डको जमाना गयो, हावडाको पुल देखाएर गाउँघरतिर झुक्याउने जमाना गयो । प्रचण्डले १० वर्षसम्म १० पैसा पचाउनुभयो, पैसा पचाउने समय पनि गयो ।’

विकासको दाबी

आफू नेतृत्वको सरकारले बुटवल–नारायणघाट सडक ६ लेन र चार लेनमा स्तरोन्नती गर्दै गरेको बताए । लुम्बिनी अन्तर्राष्ट्रिय विमानस्थल तयारी हालतमा रहेको बताए । लुम्बिनी–कपिलवस्तु चार लेन सडक, भेरी–बबई डाइभर्सन, लुम्बिनीमा सभाहल, सिद्धार्थ राजमार्गलाई डबल लेनमा स्तरोन्नती, कालीगण्डकी करिडोर, सुस्ता–राजापुर सडक, हुलाकी राजमार्गलगायत आयोजना आफ्नो नेतृत्वमा बनेको र बन्दै गरेको फेहरिस्त प्रधानमन्त्रीले प्रस्तुत गरे ।

लुम्बिनीमा जापानी प्राध्यापक केन्जो टाँगेले तयार पारेको गुरुयोजना दुई वर्षभित्र सम्पन्न हुने बताए । रामग्राम, स्वयम्भूलगायत बुद्धस्थलहरूको उत्खनन् र विकासका काम भइरहेको उल्लेख गरे । योगगुरु पतन्जली अर्घाखाँचीका बासिन्दा भएको बताए । ‘यो क्षेत्र ज्ञानी, ध्यानी र ऋषि मुनिहरूको स्थल हो,’ उनले भने ।

नौमुरे बहुउद्देश्यीय विकास आयोजनाबाट कपिलवस्तुमा सिँचाइ सुविधा उपलब्ध हुने बताए । पूर्वपश्चिम राजमार्गलाई चौडा बनाइँदै गरेको, बुटवलबाट वसन्तपुरसम्म केबलकार निर्माण सुरु भएको उल्लेख गरे । र, देशभर विकासको लहर ल्याइएको दाबी गरे ।

२०७८ सालमा भिखमंगा नभएको देश घोषणा गर्न अभियान चलाइरहेको बताए । र, भने, ‘सरकारको ध्यान जनताको समस्यामा छ । समस्याग्रस्तका लागि सरकार छ । मृत्युदर कम भएको छ । ज्येष्ठ नागरिक भत्ता महिनाको एक सयबाट दिनको एक सय रुपैयाँ पुर्‍याएका छौँ ।’

पुस्तकमा लाग्ने कर घटाइएको, कच्चा पदार्थ आयातमा कर घटाइएकोलगायत दाबी प्रस्तुत गरे । ‘पानीजहाज ल्याउँछु भन्दा मलाई उडाइयो तर कोसी र गण्डकीमा युवाले स्टिमर चलाएर त्यसको उदाहरण प्रस्तुत गरेका छन्,’ उनले भने ।

३ फागुनमा आफूले सरकार सम्हालेको तीन वर्ष पुगेको अवसरमा सिंहदरबाट पत्रकार सम्मेलनमार्फत आफूले गरेका कामको विवरण सुनाउने प्रधानमन्त्री ओलीले जानकारी दिए । ‘हाम्रा विरोधी यत्तिकै आत्तिएका होइनन्, हामीले असाधारण विकास गरेका छौँ,’ उनको दाबी थियो । त्यसो भन्दै गर्दा आफूलाई तीन वर्षमा कामै गर्न नदिइएकाले प्रतिनिधिसभा भंग गर्नुपरेको विरोधाभाषपूर्ण अभिव्यक्ति दोहोर्‍याए । सामाजिक सञ्जालमा नियन्त्रण गर्न निर्देशिका ल्याइने लागेको विषय उच्चारण नगरी ३ फागुनको आफ्नो भाषण घरघरबाट मोबाइल र फेसबुकमा हेर्न आग्रह गरे ।

आफ्नो पार्टीले आगामी निर्वाचनमा ५० लाख समानुपातिक मत ल्याउने र प्रत्यक्षतर्फ पनि बहुमत सिट जित्ने दाबी गरे । ‘किन डराउनु हुन्छ चुनावबाट, हाम्रो त्यो मत घटाएर देखाए भयो नि त,’ उनले विरोधीहरूलाई चुनावमा सहभागी हुन आग्रह गर्दै भने ।

आफ्नो समूहले शनिबार बुटवलमा आयोजना गरेको सभामा नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी ओली ज्यादा आक्रामक रूपमा प्रस्तुत भएनन् बरु रक्षात्मक देखिए ।

दिदीबहिनीलाई लाञ्छित गर्ने, होच्याउने काम हुन दिन नहुने बताए । अनि बोक्सी, दहेजजस्ता कुप्रथा जनतालाई सम्झाइबुझाइ गरेर हटाउनुपर्ने बताए । किशारीद्वय निर्मला पन्त र भागरथी भट्टका हत्यारालाई पानीमुनि गए पनि नछाड्ने बताए । भविष्यमा खर र फुसका छाना देख्न नपाइने दाबी गरे अनि विकसित मुलुकमा पनि नभएको एकै दिनमा तीन सय नौ वटा अस्पताल शिलान्यास गरेको बताए ।

कोभिड–१९ विरुद्ध खोप अभियानको दोस्रो चरण सुरु हुन लागेको उल्लेख गदैै प्रधानमन्त्री ओलीले मास्क लगाउन, भौतिक दूरी कायम गर्न र लक्षण देखियो भने स्वाब परीक्षण गरिहाल्न आग्रह गरे ।

प्रकाशित मिति: १८:०४ बजे, शनिबार, फागुन १, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्