सुरोज र पविनको जोडी प्रधानमन्त्री कपको फाइनलमा

काठमाडौं, फागुन १ : सेनाका सुरोज महर्जन र पविन लिनथेपको जोडी चितवनमा जारी योनेक्स सनराइज प्रथम प्रधानमन्त्री कप राष्ट्रव्यापी खुला ब्याडमिन्टन प्रतियोगिताको पुरुष युगलको फाइनल प्रवेश गरेका छन् ।
शनिबार बिहान भएको सेमिफाइनल खेलमा महर्जन र लिनथेपको जोडीले साइनोका अभिषेक बोसको जोडी माथि २१.१७, २१.१५ को सोझो सेटको जित निकाल्दै फाइनलमा बुटवल ब्याडमिन्टन क्लबका विश्वास नेपाल र गणेश रायमाझीको जोडीसँगको भेट पक्का गरेका छन् ।
राष्ट्रिय २० वरीयताबाहेकका खेलाडीका बिच भएको प्रतिस्पर्धाको अर्को खेलमा नेपाल र रायमाझीको जोडीले कास्कीका भुगोल गुरुङ र विशाल खड्काको जोडीलाई १५.२१, २१.१९, २१.१८ को प्रतिस्पर्धात्मक खेलमा पराजित गर्दै उपाधि निकट पुगेका हुन् ।
चितवन जिल्ला ब्याडमिन्टन संघ र हरिलाल धर्मदेवी स्मृती प्रतिष्ठानको संयुक्त आयोजनामा भएको प्रतियोगिताको ५५ बर्ष माथीको प्रतिस्पर्धामा चितवनका बुद्धि चौधरी र चितवन जिल्ला ब्याडमिन्टन संघका पूर्वअध्यक्ष पुष्प श्रेष्ठको जोडीले जित निकाल्दै उपाधि निकट पुगे।
चौधरी र श्रेष्ठको जोडीले चितवनकै कालीदास पाण्डे र राजु थापाको जोडी माथि २१.८, २१.११ को जित निकाले । अब उक्त जोडीले फाइनलमा उपाधिका लागि बागलुङका राजेन्द्र शाक्य र धादिङका विष्णुलाल श्रेष्ठको जोडीसँग प्रतिस्पर्धा गर्नेछ । शाक्य र श्रेष्ठको जोडीले चितवनका राजु कुमााल र उपेन्द्र सिंह पन्तको जोडीलाई २१.१०, २१.७ ले पराजित गरे ।











