महिलामाथि हुने हिंसा र बलात्कारको विरोधमा मार्चपास
महिलामाथि हुने हिंसा र बलात्कारको विरोधमा शुक्रबार वसन्तपुर दरबार क्षेत्रदेखि भद्रकालीसम्म मार्चपास गरिएको छ।.jpeg)
काठमाडौं, माघ ३० : टाउँकोमा सेतो कपडा र कम्मरमा सेतै कछाड बाधेका एक युवा हातमा टपरी लिएर अन्नपात पोख्दै थिए। सेतै वस्त्र धारण गरेका अर्धनग्न युवा काधमा सेतै कपडाले छोपिएको शवजस्तै बोकिरहेका थिए। शवयात्रामा मलामी हिडिरहेको जस्तो देखिन्थ्यो।
यो दृश्य हो, शुक्रबार वसन्तपुरदेखि भद्रकालीसम्म पुगेको नागरिक आन्दोलन महिला मार्चपासको। जहाँ आभा फर क्रियटिभिटीले प्रतिकात्मक शवयात्रा नाटक प्रस्तुत गरेको थियो।

बाटोमा हिडिरहेका कलाकारहरु देख्दा दर्शक पनि टक्क उभिएर हेर्दै गरेको दृश्य निकै भावविह्वल देखिन्थ्यो। यो नाटकीय विरोधले नयाँ उर्जा सञ्चार गरेको थियो।
कवि प्रणिका कोयूको ‘पूरुष तिमी मौन हौ अनि म हुँ ताप, म अर्थात् महिला’ कविताका हरफ भएका पम्प्लेट बोकेर नारा लगाउँदै थिए, अभियन्ताहरु।
मार्चपासमा ‘महिला हिंसाबन्द गर, तलाई सत्ताको नसा छ निर्मलापन्तको दशा छ, ए हजुर एउटा प्रश्न सोध्न पाइन्छ ? हामीले सास फेर्न कस्को सिफारिस चाइन्छ?’ लगायतका नारा लगाइएको थियो।
.jpeg)
वसन्तपुरदेखि सुरु भएको महिला मार्च न्युरोड गेट, रत्नपार्क हुँदै भद्रकालीमा सभामा परिणत भएको थियो।
सभामा स्रष्टाहरुले कविता वाचना गरेका थिए। कवि सपना संजिवनीले मैथली भाषामा कविता वाचन गरिन्। उनको गर्जन थियो, ‘अब टाउँको फोड या गोली चलाउ, आफ्नै रगतले क्रान्ति लेख्छु ।’
दिनानुदिन बढ्दै गएको महिला हिंसाका अनेकौ आन्दोलहरुमा सहभागी भएपनि मनको आक्रोस कवितामार्फत प्रस्तुत गरेको उनले बताइन्। बलियो कानून ल्याउनको सट्टा झन महिलालाई कमजोर बनाउने नियम बनाउन थालेपछि चुप बस्न नसकेको उनको भनाइ थियो।
त्यस्तै, लेखक दुर्गा कार्कीले निर्मला पन्तदेखि भागिरथी भट्टसम्म न्यायका लागि गरिएको बिरोध प्रदर्शनमा आक्रोस् पोखिएको बताइन्। हरेक दिन बलात्कारको घटना पढ्दा नेपालमा महिलाको सुरक्षाको अवस्था खुलस्त हुने उनको भनाइ थियो।
अभियान्ता हिमा विस्ट जब भद्रकालीको चौतारीमा गर्जिन् उपस्थित सबैको ध्यान उनीतिरै केन्द्रित भयो। सत्तामा पुग्नेले पनि आफूले भोगेको कुरा बिर्सने गरेको उनले बताइन्। सरकारले ४० वर्ष मूनिीका महिला बिदेश जाँदा वडाको सिफारिश चाहिने कुरा बिरोध गरिन्।
.jpeg)
कवी रजनी मिलाले जब शासकहरु निरंकुश बन्दै जान्छन्, तब जनताहरु सडकमा आउँनु पर्ने बताइन्। नागरिकले आफ्नो अधिकार सुनिश्चित गर्नका लागि सत्ताबाट आउँने चुनौतीको सामाना गर्न सडकमा उत्रिनु परेको उनको भनाइ थियो। ‘यो सरकार निरिह छ, लाचार छ र असफल छ। नागरिकको सुरक्षा दिन सक्दैन्, दैनिक बालिकाहरु, किशोरीहरु बलात्कृत हुँदा पनि मौन छ। यो सरकार निकम्मा भएको छ,’ उनले भनिन्।
लेखक रिता साहले मधेशी, जनजाती, दलित, मुस्लिम, आदीबासीलगायतका समुदायमाथिको प्रतिगमन बिरोधमा सडकमा उत्रिएको बताइन्। ‘कामचलाउ प्रधानमन्त्रीको असंबैधानिक निर्णय देशको लागि संकट हो,’ उनले भनिन्।
रिना रसाईलीदेखि मैना सुनुवारसम्म, सुन्तली धामीदेखि भागिरथी भट्टसम्मको अवस्था अझै उस्तै रहेको अधिकारकर्मी मोहना अन्सारीको भनाइ थियो। ‘सिंहदरबारमा बिराजमान शासकहरुलाई छोरी, बहिनी, श्रीमतीले प्रश्न गर्नेछिन्, आज वसन्तपुरबाट महिलाहरु भद्रकालीसम्म किन आएका थिए?,’ उनले भनिन्।
नेपाली समाजको पितृसत्तात्मक संरचनाले बलात्कारी अपराधिलाई नभएर पिडितमाथि दोष थुपार्ने परिपाटी रहेको लेखक अर्चना थापाले बताइ्न। ‘पिडितलाई थप पिडा दिनका लागि उसले लगाएका पहिरनमा टिप्पणी गर्छ, पे्रम सम्बन्धका कारण बलात्कार भयो, उत्ताउँलो चरित्रका कारण बलात्कार भयो जस्ताआक्षेप लगाउँछ,’ उनले भनिन्।
पितृसत्तात्मक सोचले हेर्ने र ब्याख्या गर्ने तरिका परिवर्तन हुनुपर्ने उनले बताइन्। महिला हिंसालाई प्रबद्धन गर्ने शब्दहरु प्रयोग नगर्न उनले सञ्चार माध्यमलाई पनि अनुरोध गरिन्।











![सुनिल थापालाई अन्तिम श्रद्धाञ्जली [तस्बिरहरु]](https://kathmandupress.com/uploads/posts/550X700/Untitled-1-1770543019.jpg)