Kathmandu Press

टोकियो ओलम्पिकका प्रमुखद्वारा राजीनामा

मोरीले आफूले बोलेका कुराप्रति क्षमा मागेका छन् । तर उनको बोली र व्यवहार विरुद्ध निरन्तर आलोचना भइरहेको छ । 
टोकियो ओलम्पिकका प्रमुखद्वारा राजीनामा

टोकियो, माघ ३० : जापानको राजधानी टोकियोमा आयोजना हुन लागेको टोकियो ओलम्पिक–२०२० को आयोजक कमिटीका सभापति योशिहिरो मोरीले राजीनामा दिएका छन् ।

महिलामाथि गत साता अभद्र शब्द प्रयोग गरेको भन्दै चौतर्फी आलोचना भएपछि उनले राजीनामा दिएका हुन् । 

जापानका पूर्व प्रधानमन्त्री समेत रहेका ८३ वर्षीय मोरीले आयोजक समितिको कार्यकारी समितिको विशेष बैठकमा आफूले राजीनामा दिएको घोषणा गरेका थिए । 

उनले बैठकमा आफूले व्यक्त गरेका शब्दका कारण तनाबको वातावरण सिर्जना भएको भन्दै तत्काल लागू हुनेगरी राजीनामा दिएको बताएका थिए । 

मोरीलाई सन् २०१४ को जनवरीदेखि टोकियो ओलम्पिक आयोजक कमिटीको प्रमुख रहने गरी नियुक्त गरिएको थियो । उनले ‘महिलामा एक प्रकारको इष्र्या हुने गरेको छ, एक महिलाले केही भन्न लागे अरु पनि बोल्नैपर्ने जस्तो गरी बोल्न तम्सिन्छन्’ भनेका थिए । 

मोरीले आफूले बोलेका कुराप्रति क्षमा मागेका छन् । तर उनको बोली र व्यवहार विरुद्ध निरन्तर आलोचना भइरहेको छ । 

मोरीको स्थानमा जापानी फुटबल संघका पूर्व अध्यक्ष ८४ वर्षीय काबुरो कावाबुची नियुक्त गर्ने प्रचार गरिएको छ । एजेन्सी
 

प्रकाशित मिति: १३:५८ बजे, शुक्रबार, माघ ३०, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्