Kathmandu Press

जलविद्युत आयोजनाको बोलेरो दुर्घटना, दुई इन्जिनियरसहित तीनको मृत्यु

लमजुङ, माघ २९ : लमजुङको दोर्दी गाउँपालिकामा निर्माणाधीन ५४ मेगावाटको सुपर दोर्दी ‘ख’ आयोजनाको बोलेरो दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ।बेँसीशहर नगरपालिका–१...
जलविद्युत आयोजनाको बोलेरो दुर्घटना, दुई इन्जिनियरसहित तीनको मृत्यु

लमजुङ, माघ २९ : लमजुङको दोर्दी गाउँपालिकामा निर्माणाधीन ५४ मेगावाटको सुपर दोर्दी ‘ख’ आयोजनाको बोलेरो दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ।

बेँसीशहर नगरपालिका–१ उदिपुरबाट आयोजनास्थलतर्फ जाँदै गरेको प्रदेश ३–०१–२२ च १३८३ नम्बरको बोलेरो बिहीबार साँझ ५ः१५ बजे बेँसीशहर ६ सिमिताजेमा दुर्घटना भएको हो।

दुर्घटनामा चालक खोटाङ घर भएका २६ वर्षीय किशोर राई, स्याङ्गा घर भएका ३४ वर्षीय इञ्जिनीयर यदुनाथ भट्टराई र तनहुँस्थित भानु नगरपालिका १० घर भएका इन्जिनियर प्रकाश लौडारीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

सडकबाट १२० मिटर तल जीप खसेको र दुर्घटना हुनुका कारण भने खुली नसकेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक गङ्गाबहादुर थापाले बताए।

उनका अनुसार तीन जना घाइते भएका छन्। घाइते हुनेमध्ये एक जना सोही आयोजनामा कार्यरत धरान घर भएका सुनिलकुमार शाह रहेको र अन्य दुई जना एक महिला र बच्चाको ठेगाना भने खुल्न बाँकी रहेको प्रहरी नायब उपरीक्षक थापाले बताए।

प्रहरीका अनुसार घाइतेको टाउको खुट्टा टाउकामा चोट लागेको छ। उपचारका लागि बेँसीशहर नगरपालिकामा रहेको जिल्ला अस्पतालमा ल्याउँदै गरेको प्रहरी नायब उपरीक्षक थापाले बताए।

प्रहरीका अनुसार मृत्यु हुने तीन जना र घाइते हुने एक जनासहित आयोजनामा कार्यरत चार जना कर्मचारी दुर्घटनामा परेका छन्।

प्रकाशित मिति: २०:३५ बजे, बिहीबार, माघ २९, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्