झाँक्रीलाई रिहा गर्न कांग्रेसको माग
काठमाडौं, माघ २९ : राज्यविरुद्धको कसुर आरोपमा सरकारले पक्राउ गरेकी नेकपा प्रचण्ड-नेपाल समूहकी केन्द्रीय सदस्य तथा सांसद रामकुमारी झाँक्रीलाई अविलम्ब रिहा गर्न कांग्रेसले माग गरेको छ।
काठमाडौं, माघ २९ : राज्यविरुद्धको कसुर आरोपमा सरकारले पक्राउ गरेकी नेकपा प्रचण्ड-नेपाल समूहकी केन्द्रीय सदस्य तथा सांसद रामकुमारी झाँक्रीलाई अविलम्ब रिहा गर्न कांग्रेसले माग गरेको छ।
कांग्रेसले भनेको छ, ‘एकपक्षीय रूपमा पूर्वाग्रहपूर्ण व्यवहार गरेर अभिव्यक्तिलाई नै राज्यविरुद्धको अपराध करार गरेर अधिनायक चिन्तनसाथ प्रतिशोधपूर्ण राजनीति नगर्न सरकारलाई सजग गराउँछौँ,’ कांग्रेसले भनेको छ।
कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले प्रकाशित गरेको विज्ञप्तिमा पछिल्लो समय नेपाली राजनीतिमा बढ्दै गएको उत्तेजक अभिव्यक्ति र व्यवहारको शृंखलाप्रति गहिरो चिन्ता प्रकट गरिएको छ। ‘खासगरी नेकपाका दुई समूहको नेतृत्व पंक्तिबाट व्यक्त हुँदै आएका कतिपय अभिव्यक्ति सभ्य र सुसंस्कृत समाजअनुकुल विल्कुलै छैनन्,’ विज्ञप्तिमा भनिएको छ, ‘यस्ता अभिव्यक्तिले त्यस्ता दल र व्यक्तिप्रति समाजमा नकारात्मक प्रभाव त पार्छ नै, सिंगो राजनीतिप्रति वितृष्णा जन्माउन योगदान गर्छ।’
संयमपूर्वक यसको समाधान पहिल्याउन अपिल गर्दै कांग्रेसले झांक्रीलाई रिहा गर्न माग गरेको हो। ‘संविधानले सुरक्षित गरेको अभिव्यक्ति स्वतन्त्रताको मर्यादा राख्न हामी दुवैथरिलाई आग्रह गर्छौँ,’ विज्ञप्तिमा उल्लेख छ।











