Kathmandu Press

झाँक्रीको गिरफ्तारीमा कसले के भने ?

नेकपा नेतृ रामकुमारी झाँक्रीलाई राज्यविरुद्धको कसुर आरोपमा पक्राउ गरिएपछि समाजिक सञ्‍जालमा चर्को विरोध भइरहेको छ।
झाँक्रीको गिरफ्तारीमा कसले के भने ?

काठमाडौं, माघ २९ : नेकपा नेतृ रामकुमारी झाँक्रीलाई राज्यविरुद्धको कसुर आरोपमा पक्राउ गरिएपछि समाजिक सञ्‍जालमा चर्को विरोध भइरहेको छ।

नेकपा नेता तथा पूर्वमन्त्री योगेश भट्टराईले लेखेका छन्, ‘रामकुमारीलाई गिरफ्तार गर्न आदेश दिने राष्‍ट्रपतिका आफ्ना भनिएकाहरूले नै राष्‍्ट्रपतिलाई धुलिसाफ गर्ने भए। राष्‍ट्रपति संस्थाको गरिमालाई गुटको स्वार्थमा कैद नगर। व्यक्तिगत रूपमा रामकुमारीलाई थप परिपक्‍व बनाउने छ र अझ स्थापित गर्नेछ।’

कांग्रेस सांसद गगन थापाले सरकारलाई झ्यालखाना थप्‍न चुनौति दिएका छन्। ‘कर्तव्य निर्वाह गर्न छोडेर असंवैधानिक र अलोकतान्त्रिक कार्य गर्ने अनि त्यसमा प्रश्‍न गर्नेलाई झ्यालखानामा राखेर तर्साउन खोज्‍ने ?’ थापाले लेखेका छन्, ‘उहिले महाराजा अहिले राष्‍ट्रपति! सरकार झ्यालखानाको संख्या थप किनकि सत्यको पक्ष्‍मा बोल्ने मुख तिमीले देखाएको त्रासले बन्द हुँदैन।’

कांग्रेस नेता धनराज गुरुङले झाँक्रीलाई पक्राउ गर्नु संविधानप्रदत्त अभिव्यक्ति स्वतन्त्रताको हक खोसिनु रहेको बताएका छन्। ‘तानाशाही सरकारको जति निन्दा गरे पनि कम हुन्छ। तर, मर्ने बेलामा कमिलाको प्वाँख उम्रनु नौलो कुरा हैन। निरंकुश ओली सरकारको पनि प्वाँख उम्रन थालिसकेछ,’ उनले लेखेका छन्।

विवेकशील साझा पार्टीका पूर्वनेता सूर्यराज आचार्यले राजनीतिक अभिव्यक्तिका आधारमा युवा नेतृ झाँक्रीलाई पक्राउ गर्ने सरकारको रवैया आपत्तिजनक भएको बताएका छन्। ‘राजनीतिक प्रतिस्पर्धामा व्यक्त अभिव्यक्ति ठीक-बेठीक छुट्याउने जनताले हो, सरकारले होइन,’ उनले लेखेका छन्, ‘खबरदार, कुनै पनि अवस्थामा अभिव्यक्ति स्वतन्त्रताप्रतिको अंकुश अस्वीकार्य ! चेतना भया।’

नेकपा प्रदेश सांसद रचना खड्काले अहिलेको सत्ता पञ्‍चायतभन्दा पनि अनुदार देखिएको बताएकी छन्। ‘झाँक्रीको गिरफ्तारी यो सत्ताको कायरताको प्रदर्शन हो। हाम्रो संविधानभन्दा माथि कोही छैनन्। राष्‍ट्रपतिको गतिविधि संविधान र कानूनको रक्षाका खातिर हुनुपर्छ, प्रधानमन्त्रीको व्यक्तिगत अभिष्‍ट पूरा गर्नका लागि होइन,’ उनले लेखेकी छन्, ‘यो धारणा राख्दा राज्यविरुद्दको कसुर मानिन्छ भने अब सरकारले अरू काम छोडेर जेल घरहरू मात्रै निर्माण गर्न थाले भयो। र, आजसम्मको इतिहास जनताले जितेको र तानाशाहहरूले हारेको हो।’

यस्तै, लेखक सरिता तिवारीले झाँक्रीले राष्‍ट्रपतिलाई गरेको आलोचना सर्वथा जायज भएको बताएकी छन्। ‘उनले गरेको आलोचना राष्‍ट्रपतिले गरेको जनविरोधी हर्कतविरुद्ध र व्यक्ति ‘विद्या भण्डारी’ प्रधानमन्त्रीको पपेट बनेर सम्मानित राष्‍ट्रपति पदलाई कलंकित गरेको दुर्भाग्यपूर्ण स्थितिविरुद्ध हो। म झाँक्रीको पक्ष्‍मा छु,’ उनले लेखेकी छन्।

नेकपा विदेश विभाग उपप्रमुख विष्‍णु रिजालले आलोचना गर्नेमाथि मुद्दा लगाउनु तानाशाही र निरंकुशताको पराकाष्‍ठा भएको उल्लेख गरेका छन्। गणतन्त्रका लागि रगत बगाउने झाँक्रीलाई ‘राष्ट्रपतिको आलोचना गरेको’ अभियोगमा गिरफ्तार !’ उनले लेखेका छन्, ‘हेक्का रहोस्- आफूले बसालेको नजीर कुनै दिन आफैंमाथि भारी नहोस् !’
 

प्रकाशित मिति: १४:१० बजे, बिहीबार, माघ २९, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्