महिलालाई विदेश जाँदा वडाकाे सिफारिस चाहिने निर्णय भएको छैन : अध्यागमन विभाग
काठमाडौं, माघ २९ : अध्यागमन विभागले भिजिट भिसामा विदेश जाने महिलालाई सम्बन्धित वडाको सिफारिस वा परिवारको सहमति पत्र अनिवार्य नगरेको जनाएको छ । विभागले...
काठमाडौं, माघ २९ : अध्यागमन विभागले भिजिट भिसामा विदेश जाने महिलालाई सम्बन्धित वडाको सिफारिस वा परिवारको सहमति पत्र अनिवार्य नगरेको जनाएको छ । विभागले बिहीबार विज्ञप्ति जारी गर्दै खाडी र अफ्रिकी मुलुकजस्ता जोखिम संभाव्य मुलुकमा पहिलोपटक एक्लै यात्रा गर्ने र आफ्नो यात्राका बारे सामान्य जानकारीसमेत नभएका महिलाहरूका लागि आवश्यक पर्न सक्ने गरी परिवार तथा वडाको स्वीकृति लिनुपर्ने सुझाव आएको र यसबारे कुनै पनि निर्णय नभएको प्रष्ट पारेको छ ।
यसअघि विभिन्न सञ्चार माध्यममा ४० वर्ष नपुगेका महिलाहरु विदेश जाँदा सम्बन्धित वडाको सिफारिस वा परिवारको सहमति पत्र अनिवार्य भएको समाचार प्रकाशित भए पनि त्यस्तो निर्णय नभएको विभागले स्पष्ट पारेको हो ।
विभागले प्रेष विज्ञप्ति जारी गर्दै विभागको आन्तरिक कार्यविधि संशोधन गरी पहिलोपटक जोखिम संभाव्य मुलुकमा नेपाली महिला भिजिट भिषामा जाँदा परिवारका सदस्य वा स्थानीय तहको सिफारिस आवश्यक पर्ने गरी निर्णय हुन लागेको भन्ने सञ्चार माध्यमहरूमा आएका समाचारप्रति गम्भीर ध्यानाकर्षण रहेको भन्दै विभागले त्यस्तो कुनै निर्णय नभएको बताएको छ ।
आन्तरिक छानविन कार्यदलका सुझावहरूका रूपमा आएको विषय र त्यसबारे कुनै पनि निर्णय नभएको विभागको भनाइ छ । यस्तै यस विषयमा हालसम्म कुनै पनि निर्णय नभएको र निर्णय गर्दा संविधान प्रदत्त अधिकारसमेतलाई हेरी नागरिकका मौलिक अधिकार कुण्ठित नहुने गरी निर्णय हुने व्यवहोरा उल्लेख गर्दै विभागले प्रष्ट पारेको हो।












