भागरथीका हत्यारा पत्ता लगाउन माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापनपत्र
बैतडी, माघ २८ : बलात्कारपछि हत्या गरिएकी बैतडीको दोगडाकेदार गाउँपालिका–७ चडेपानीकी १७ वर्षीया भागरथी भट्टको हत्यारा पत्ता लगाउन माग गर्दै प्रधानमन्त्री केपी शर्मा...
बैतडी, माघ २८ : बलात्कारपछि हत्या गरिएकी बैतडीको दोगडाकेदार गाउँपालिका–७ चडेपानीकी १७ वर्षीया भागरथी भट्टको हत्यारा पत्ता लगाउन माग गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र बुझाइएको छ।
भागरथी भट्टको न्यायका लागि गठित सङ्घर्ष समिति र स्थानीय बासिन्दाले बैतडीका प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीमार्फत आज प्रधानमन्त्री ओलीलाई ज्ञापनपत्र बुझाएका हुन्।
घटना भएको एक हप्ता भइसक्दासमेत हत्यारा सार्वजनिक नगरिनुले आशङ्का पैदा भएको र यथाशीघ्र हत्यारा पत्ता लगाई सार्वजनिक गर्न माग गरिएको छ। घटनासम्बन्धी विवरण सार्वजनिक गर्न र हत्यारालाई कारबाहीको दायरामा ल्याउन माग गर्दै ज्ञापनपत्र बुझाइएको स्थानीयवासी भोजराज जोशीले बताए।
कञ्चनपुरकी निर्मला पन्तको जस्तै अनुसन्धान फितलो नहोस् भनेर समयमै सरकारलाई जानकारी गराएको सङ्घर्ष समितिले जनाएको छ। दोषीलाई पत्ता लगाई यथाशीघ्र सार्वजनिक नगरिए आन्दोलनमा उत्रिने समितिले जनाएको छ।
ज्ञापनपत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी जोशीले दोषी छिट्टै पत्ता लाग्ने बताए। यता दोषी पत्ता नलाग्दा हदैसम्मको कारबाही नहुँदासम्म शव नबुझ्ने भागरथीका परिवारले अडान राखेका छन्।
चार दिनअघि जिल्ला अस्पतालमा परीक्षण गरिएको शवलाई अझै बुझ्न मानेका छैनन्। माघ २१ गते विद्यालय गएकी भागरथी साँझ घर नफर्केपछि खोजबिन गर्दा माघ २२ गते घर नजिकैको जङ्गलमा मृत अवस्थामा फेला परेकी थिइन्।
निर्मलाको जस्तै भागरथीका हत्यारा पत्ता नलाग्ने हो कि भन्ने आशङ्का पैदा भइरहेका बेला प्रहरीले भने सफलता नजिक पुगेको जनाएको छ। सुक्ष्म अनुसन्धान र अध्ययन भइरहेकाले सफलता नजिक पुगेको बैतडीका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक नारायणप्रसाद अधिकारीले बताए। उनले भने, 'विभिन्न कोणबाट अनुसन्धान गरिरहेका छौँ, छिट्टै सफलता प्राप्त गर्छौं। अनुसन्धान साँघुरिँदै गएको छ, हामी सफलताको एकदमै नजिक छौँ, अहिले नै सबै कुरा भन्न मिल्दैन।'
घटनाको थप अनुसन्धानका लागि भागरथीको भजाइनल स्वाब र सबुत प्रमाण परीक्षणका लागि काठमाडौँ पठाइएको छ।
यसका साथै घटना भएको दिन उक्त बाटो भएर हिँडडुल गर्ने व्यक्ति, सवारीसाधनमा आवतजावत गर्ने व्यक्ति, शङ्का लागेका व्यक्तिलाई सोधपुछको काम भइरहेको प्रहरीले जनाएको छ।
भागरथीका आफन्तसँग सोधपुछ गर्नुका साथै शङ्कास्पद व्यक्तिमाथि निगरानी बढाएर सुक्ष्म अध्ययन भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ। सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक उत्तमराज सुवेदी नेतृत्वको टोलीले घटनाको अनुसन्धान गरिरहेको छ।
उक्त टोलीमा प्रदेश प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक जनकराज पाण्डे, केन्द्रीय अनुसन्धान ब्युरोका प्रहरी नायब उपरीक्षक पञ्चकुमार बाँखुसहित छन्। (रासस)











