प्रतिनिधिसभा पुनर्स्थापना भएन भने ग्रिन रिभोलुसन हुन्छ : प्रचण्ड
प्रदर्शनीमार्गमा आयोजित सभामा उनले सर्वोच्च अदालत र न्यायाधीशहरूप्रति धम्कीको भाषा बोले। र, प्रतिनिधिसभा पुनर्स्थापनाको फैसला ‘छिटै’ दिन आग्रह गरे।
काठमाडौँ, माघ २८ : नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभा पुनर्स्थापना भएन भने ‘ग्रिन रिभोलुसन’ हुने बताएका छन् ।
प्रदर्शनीमार्गमा आयोजित सभामा उनले सर्वोच्च अदालत र न्यायाधीशहरूप्रति धम्कीको भाषा बोले । र, प्रतिनिधिसभा पुनर्स्थापनाको फैसला ‘छिटै’ दिन आग्रह गरे ।
‘न्यायाधीहहरूले आजको सभा राम्रोसँग देख्नुभएको छ । सबै जाति, समुदाय र क्षेत्रका मानिसले आफ्नो भनाइ राखेका छन्,’ उनले भने, ‘ढिलो नगरी संविधान र लोकतन्त्रको पक्षमा फैसला दिने विश्वास व्यक्त गर्न चाहन्छु, ढिलो नगरी ।’
संविधानको अक्षर र भावना, मर्म र भावना तथा जनचाहनाविपरीत कुनै निर्णय भयो भने विद्रोह हुने बताए । ‘हामी शान्तिपूर्ण राजनीतिमा छौँ, स्वतन्त्र न्यायपालिकाको पक्षमा दृढ छौँ,’ प्रचण्डले भने, ‘संविधानको भावनाविपरीत निर्णय भयो भने आँधी आउँछ, हुरी चल्छ कसैले थाम्न सक्दैन नेपालमा । हिजो एउटा सानो समूहले विद्रोह गर्दा के भयो । यति ठूलो पार्टीले विद्रोह गर्यो भने ग्रिन रिभोलुसन हुन्छ । शान्तिपूर्ण क्रान्ति हुन्छ ।’
ओली समूहमा रहेका दुईजना मन्त्री आफ्नो समूहमा आउन वार्तामा रहेको उनले खुलासा गरे । प्रचण्डले भने, ‘केपी ओलीजी तपाईं कतिन्जेल भ्रममा बाँच्ने हो ? अलिकति आफ्ना लागि ठाउँ राख्ने हो भने राजिनामा दिएर पश्चाताप गर्नुस् ।’
चितवनको माडी नै राम जन्मभूमि अयोध्या भएको पुरातात्विक अन्वेषण र अनुसन्धान गरेर प्रमाणित गर्न उनले ओलीलाई चुनौति दिए । ‘त्यस पाटोमा सिन्को भाँच्नुभएको छैन,’ उनले भने, ‘ओलीको ठगी धन्दा कतिन्जेल पत्याउनु ?’
बिहान वामदेव, दिउँसो माधवकुमार नेपाल र बेलुका प्रचण्डलाई प्रधानमन्त्री दिने ओलीको नाटकको पर्दाफास भइसकेको उनले बताए ।











