पिछडिएका क्षेत्रमा चीनले तयार पार्यो ५९ हजार किलोमिटर सडक
गत सेप्टेम्बर अन्तिमसम्ममा सबै सहर, बस्ती र प्रशासनिक क्षेत्रमा अस्फाल्ट र कंक्रिट सडक पुगेको छ। र, सबै क्षेत्र यातायात सञ्जालमा जोडिएका छन्।
बेइजिङ (पिपुल्स डेली), माघ २८ : चीनले देशभरका पिछडिएका क्षेत्रलाई राष्ट्रिय सञ्जालमा आबद्ध गराउन ५९ हजार किलोमिटर सडक सञ्चालनमा ल्याएको छ।
बढीभन्दा बढी दुर्गम क्षेत्रलाई राष्ट्रिय सडक र रेल सञ्जालमा जोड्न चीनले सन् २०१२ मा चार दशमलव सात ट्रिलियन युआन खर्चिने योजना घोषणा गरेको थियो। विकटमा यातायात पहुँच पुर्याएर समृद्धिको ढोका खोल्ने चिनियाँ नीतिअन्तर्गत् तीन सयभन्दा बढी परियोजना सञ्चालन गरिएको थियो। सोहीअन्तर्गत् ५९ हजार किलोमिटर सडक तयार भएको हो।
पिछडिएका क्षेत्रमा यातायात, पर्यटन र व्यावसायिक विकास गर्ने नीति चीन सरकारको छ। यसबाट किसानमाझ विकास सुनिश्चित गर्ने चीन सरकारको विश्वास छ।
गत सेप्टेम्बर अन्तिमसम्ममा सबै सहर, बस्ती र प्रशासनिक क्षेत्रमा अस्फाल्ट र कंक्रिट सडक पुगेको छ। र, सबै क्षेत्र यातायात सञ्जालमा जोडिएका छन्।
सोही परियोजनाअन्तर्गत् सरकारले १७ हजार किलोमिटर राष्ट्रिय द्रुतमार्गको स्तरोन्नतीलाई प्राथमिकता दिएको छ। यस्तै, ५३ हजार किलोमिटर राष्ट्रिय राजमार्गको स्तरोन्नती पनि सरकारको प्राथमिकतामा छ।
पिछडिएका क्षेत्रमा ग्रेड-२ तहको सडक पुगेको छ। ‘मेरो गाउँमा सडक सञ्जाल जोडिएपछि व्यापारिक गतिविधि उच्च भएको छ,’ गुइचउ प्रान्तको बुएई स्वायत्त काउन्टी पिङ्चाई गाउँका याङ सियाओयानले भने। पहाडी इलाकाको उक्त गाउँ पहिलोपटक बाह्य दुनियाँसँग गाँसिएको छ।
साङ्सी प्रान्तमा यसबीचमा एक हजार एक सय ८६ किमि सडक निर्माण भएको छ। र, सडकसँगै तीन सय ५२ वटा पुल निर्माण भएका छन्। यसबाट स्थानीय कृषि उपज सीधै सहरी क्षेत्रमा पुग्न थालेका छन्। ग्रामीण इलाकाको कायापलट नै भएको छ।
र, स्थानीयस्तरमै रोजगारी सिर्जना भएकाले ग्रामीण भेगका युवाले सहरी र औद्योगिक क्षेत्रहरूसम्म पुग्नुपर्ने बाध्यता हटेको छ। सडक निर्माणका क्रममा पनि युवाले स्थानीय स्तरमै रोजगारीको अवसर पाएका छन्।
अगस्ट २०२० मा चीनले ६ लाख ६८ हजार युवालाई सडक निर्माणमा रोजगारी दिएको थियो। त्यसमध्ये दुई लाख ७० हजार सरकारी सेवामा आबद्ध भएका थिए। उनीहरूसँग निर्भर तीन लाख ७० हजार जनसंख्या त्यसबाट लाभान्वित भएका थिए।
पछिल्ला दिनमा फुजियान प्रान्तको लियानचेङ काउन्टीले सखरखण्डका परिकार पस्किँदै आन्तरिक पर्यटकलाई आकर्षित गर्न थालेको छ। ‘यसबाट हाम्रो गाउँको लोकप्रियता मात्र बढेको छैन, हामी आर्थिक रूपमा बलियो पनि बन्दै गएका छौँ,’ उक्त काउन्टीका वु चाइयाङले भने।

सन् २०२० मा ग्रामीण क्षेत्रमा दिइएको एक्स्प्रेस प्याकेजको संख्या ३० अर्ब पुगेको छ। यस्तै, सहरी र ग्रामीण क्षेत्रबीच औद्योगिक उत्पादन र कृषि उपजको आदानप्रदान एक दशमलव पाँच ट्रिलियन युआन पुगेको छ।
ग्रामीण इलाकालाई राष्ट्रिय सडक सञ्जालमा आबद्ध गराउने अभियान जारी रहेको यातायात मन्त्रालयले जनाएको छ।
चीनले सन् २०२० सम्ममा सबै जनसंख्यालाई गरिबीको रेखामाथि उकासिसक्ने लक्ष्य तय गरेको थियो। त्यसका लागि सडक सञ्जाल नै एक मात्र आधार रहेको ठम्याइ सरकारी अधिकारीहरूको थियो।
चीनको फरक भौगोलिक अवस्थाका कारण चीनको दक्षिण र दक्षिण-पश्चिमी भागमा बस्ने ठूलो जनसंख्या अन्य भागको तुलनामा अलगथलग अवस्थामा थियो। सोही जनसंख्यालाई समृद्धिको मार्गमा ल्याउने सरकारी नीति छ।












