Kathmandu Press

राजधानीका पाँच स्थानबाट प्रचण्ड-नेपालको जुलुस

संसद् विघटनविरुद्ध नेकपा (प्रचण्ड-नेपाल) समूहले आज काठमाडौंमा गर्न लागेकाे जनप्रदर्शन लागि राजधानीका पाँच स्थानबाट जुलुस निस्कन लागेको छ।
राजधानीका पाँच स्थानबाट प्रचण्ड-नेपालको जुलुस

काठमाडौं, माघ २८ : प्रतिनिधिसभा विघटनको विरोधमा नेकपा (प्रचण्ड–नेपाल) समूहले आज काठमाडौंमा प्रदर्शन गर्न लागेको छ। राजधानीका पाँच ठाउँबाट जुलुस निस्कन लागेको छ।

प्रचण्ड–नेपाल समूहको प्रदर्शनका कारण बिहानैदेखि राजधानीको यातायात आवागमन प्रभावित भएको छ। ठूला गाडीहरुलाई चक्रपथभित्र प्रवेश गर्न दिइएको छैन। साना गाडीलाई पनि विभिन्न ठाउँबाट वैकल्पिक बाटो प्रयोग गर्न लगाइएको छ।

आज नेकपाले प्रदर्शनीमार्गमा गर्ने जनसभाका लागि पाँच ठाउँबाट जुलुस निकाल्न लागेको छ। पुल्चोक, त्रिपुरेश्वर, माइतीघर, केशरमहल र जमलबाट जुलुस निकाल्न लागेको छ। त्यसका लागि केन्द्रीय नेताहरुलाई कमान्डर बनाएको छ।

पाँचै स्थानबाट आएको जुलुस सुन्धरामा पुगेर एकै ठाउँमा मिसिनेछ। त्यहाँबाट फेरि प्रदर्शन हुने भएको छ। सुन्धाराबाट वीर अस्पताल, जमल, घन्टाघर, बागबजार, पुतलीसडक र पद्मोदय मोडहुँदै प्रदर्शनीमार्गमा पुग्नेछ।

नेकपाको प्रदर्शनलाई ध्यानमा राखेर कालीमाटी, थापाथली, लैनचौर, रत्नपार्क, पुतलीसडक क्षेत्रतिर आउने साना गाडीलाई बैकल्पिक बाटो प्रयोग गर्न लगाइएको छ। बिहानैदेखि जाम शुरु हुन थालेकाले बैकल्पिक बाटो प्रयोग गर्न लगाइएको महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता एसपी श्यामकृष्ण अधिकारीले बताए।

जुलुस निस्कने पाँच वटै स्थानमा नेकपाका नेता तथा कार्यकर्ता भेला हुन थालिसकेका छन्। केही स्थानबाट ससाना जुलुस निस्केर ति ठाउँमा पुगिरहेका छन्।

प्रकाशित मिति: १०:०७ बजे, बुधबार, माघ २८, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्