Kathmandu Press

नेपाली समाजमा किन लखेटिन्छ महिलालाई ?

राजनीतिमा होस् या सामाजिक जीवनका अन्य कुनै क्षेत्र, महिलालाई चरित्रसँग जोडेर ट्रोल बनाइने प्रवृत्ति रोकिनु साटो बढ्दो छ । पितृ सत्तात्मक नेपाली समाजमा अगाडि बढ्न खोज्ने या उचाइमा पुगेका महिला पनि प्रताडित बन्छन् ।
नेपाली समाजमा किन लखेटिन्छ महिलालाई ?

प्रसंग–१

‘राष्ट्रपतिका कुरा त के गर्नु ? बडामहारानीले चुनाव हुन्छ भन्नुभएछ, अस्ति निर्वाचन आयोगको प्रतिवेदनमा । बडामहारानीलाई यही गोरखाबाटै सन्देश दिन चाहन्छु, निर्वाचनको तयारीका लागि कारगेट छोडेर, सुखसुविधा, ऐश आराम, शीतल निवास छोडेर पहिला कोटेश्वरमा आउनूस्, चाबहिल कि कता बानेश्वरतिर बसाइ छ भन्ने सुन्याथेँ, होइन भने बालकोटै गए पनि हुन्छ ।’

गोरखा छोप्राकमा आयोजित सभामा नेता रामकुमारी झाँक्रीले दिएको अभिव्यक्ति हो यो । भाषणका क्रममा चिप्लिएको उनको मन्तव्यप्रति सामाजिक सञ्जालमा चर्को आलोचना भयो । मुलुकको पहिलो महिला राष्ट्रपति विद्यादेवी भण्डारीविरुद्ध झाँक्रीको अभिव्यक्ति आपत्तिजनक र अशोभनीय थियो । तर, त्यस अभिव्यक्तिको आलोचना गर्दै गर्दा सामाजिक सञ्जाल प्रयोगकर्ताले झाँक्री पनि महिला भएको हेक्का राखेनन्, तथानाम गाली गर्न छाडेनन् । महिला भएकै कारण राष्ट्रपति भण्डारी र झाँक्री दुवै पीडित बने, त्यस प्रकरणबाट ।

Hardik ivf

राजनीतिमा होस् या सामाजिक जीवनका अन्य कुनै क्षेत्र, महिलालाई चरित्रसँग जोडेर ट्रोल बनाइने प्रवृत्ति रोकिनु साटो बढ्दो छ । पितृ सत्तात्मक नेपाली समाजमा अगाडि बढ्न खोज्ने या उचाइमा पुगेका महिला पनि प्रताडित बन्छन् । त्यस्तो प्रताडना कहिलेकाहीँ महिलाले महिलाबाटै भोग्नुपरिरहेको छ ।

पछिल्ला दिनमा प्रतिनिधिसभा विघटनविरुद्ध सत्तारुढ नेकपाको पुष्पकमल दाहाल प्रचण्ड–माधवकुमार नेपाल समूह आन्दोलनमा छ । सडक प्रदर्शनका क्रममा राष्ट्रपति भण्डारीलाई पनि तारो बनाइने गरेको छ । त्यसमा पनि उनको कार्यशैलीको आलोचनाभन्दा बढी चरित्रमाथि आक्षेप लगाउँदै नाराबाजी गर्ने गरिएको छ । महिला भएकै कारण राष्ट्रपति अनर्गल आरोप खेप्नुपरिरहेको छ ।

प्रसंग–२

पत्रकार सहनशीला शर्मा झा काठमाडौं असनस्थित अन्नपूर्ण नारायण मन्दिरमा पूजारी नियुक्त भएको विषयले ठूलै चर्चा बटुल्नु स्वाभाविक थियो । किनकि, मन्दिरमा महिला पूजारी भएको कमै सुनिने गर्छ । एकातिर उनले श्रद्धा र प्रशंसा बटुल्दै थिइन्, अर्कातिर उनीविरुद्ध सामाजिक सञ्जालमा विष बमन गर्नेहरूको पनि कमी देखिएन । खासमा, उनी मन्दिरमा चाडबाडका बेला मुल पूजारीकी सहयोगी नियुक्त भएकी हुन् । तर, झाले दिल खालेर त्यो खुशी बाँड्न सकिनन् । झाले आफू पूजारी नियुक्त भएको सामाजिक सञ्जालमा राख्नासाथ उनीविरुद्ध जाइलाग्नेहरू ह्वात्तै बढे । कतिपयले पूजारीका लागि मापदण्ड पनि तोक्न छाडेनन् । र, त्यो मापदण्डमा झा पर्नै नसक्ने जिकिर पनि गरे ।

पूर्वसांसद तथा लेखक कुन्ता शर्मा पछिल्ला दुवै घटना पितृसत्तात्मक सोचको उपज मान्छिन् । ‘महिला भएर पनि महिलाको अस्तित्व स्वीकार्न नसक्नु पनि सामन्ती पितृसत्ताकै उपज हो,’ शर्मा भन्छिन्, ‘पुरुषवादी नेपाली समाजमा महिलाले पुरुषसरह नेत्तृत्व लिन सक्दैनन् भन्ने मानसिकता कायम रहेका उदाहरण हुन् यी ।’

पुरुष सँगसँगै महिलाको मानसिकतामा रहेको सामन्ती पितृसत्ताले महिलालाई असफल तुल्याउन उसको नैतिकता र चरित्रमाथि प्रश्न उठाउने कुरा प्रथाकै रूपमा स्थापित भएको उनी बताउँछिन् । ‘महिला जति नै प्रमुख स्थानमा किन नहोस्, उसको काम गलत भए सोहीअनुरूप विचार व्यक्त गर्न सकिन्छ । तर, यो त सामान्ती पितृसत्तात्मक मानसिकताको चरम रूप हो ।’ चरित्रलाई महिलाको ठूलो कमजोरी मान्ने समाजले अन्ततः महिलालाई असफल देखाउन यस्ता निन्दनीय कदम चाल्ने गरेको उनको ठम्याइ छ ।

राजनीतिमा होस् या सामाजिक जीवनका अन्य कुनै क्षेत्र, महिलालाई चरित्रसँग जोडेर ट्रोल बनाइने प्रवृत्ति रोकिनु साटो बढ्दो छ । पितृ सत्तात्मक नेपाली समाजमा अगाडि बढ्न खोज्ने या उचाइमा पुगेका महिला पनि प्रताडित बन्छन् ।

वैज्ञानिक समाजवादी नेता धनकुमारी सुनार राष्ट्रपति भण्डारीका तमाम कमी–कमजोरीका बावजुद व्यक्तिगत आक्षेपमा उत्रिनु गलत रहेको बताउँछिन् । ‘समस्या सामाजिक व्यवस्थामा छ, जात र लिंगका आधारमा व्यक्तिलाई आलोचना गर्नु राजनीतिभन्दा बाहिरको कुरा हो,’ सुनार भन्छिन्, ‘व्यक्तिको आचरण र पदमाथि टिप्पणी गर्दा मानसिकतामा पितृसत्तात्मक चेत रहेको सहजै थाहा पाउन सकिन्छ ।’ पुरुषले गरेको नेतृत्व र महिलाले गरेको नेतृत्वमा फरक देख्नु पितृसत्तात्मक संरचनाको उपज रहेको उनको भनाइ छ ।

लेखक आन्विका गिरी पनि नेपाली समाजमा चरित्रमाथि आक्रमण गर्दा महिलालाई कमजोर बनाउन सकिन्छ भन्ने सोच यथावत छ । उनी भन्छिन्, ‘महिलालाई कुनै पुरुषसँग नाम जोडिदिए, जाँडरक्सी, चुरोट खान्छिन् भनिदिए उनी बिग्रेको, असामाजिक र काम नलाग्ने भनेर बुझ्ने सामाजिक चेतना अझै उस्तै छ ।’

पितृसत्तात्मक संरचनामा हुर्काइएका पुरुषहरूको नजरमा सुशील र असल नारीको मानक अविवाहित छँदा बाबुआमा, दाजुभइ, विवाहपछि श्रीमान् र आमा बनेपछि छोराको निगरानीमा बस्नुलाई बनाइएको गिरी बताउँछिन् । त्यही मानसिकताका कारण नेपाली समाजले महिलाको नेतृत्व स्वीकार्न नसकेको उनको बुझाइ छ । ‘राजनीतिक व्यवस्था परिवर्तन भए पनि हाम्रो सामाजिक चेतना उस्तै छ, शिक्षाको स्तर बढे पनि शिक्षा प्रणाली नै परिवर्तन हुन जरुरी छ,’ गिरी भन्छिन् ।

यस्ता घटना यसअघि पनि नभएका होइनन् । अभिनेत्री दीपाश्री निरौलाले एक अन्तर्वार्तामा अभिनेता राजेश हमालको महानायकत्वमाथि प्रश्न उठाउँदा हमालका समर्थक यसरी खनिए कि उनले माफी नै माग्नुपरेको थियो । जब कि, कसैलाई महानायक मान्न र नमान्न व्यक्ति स्वतन्त्र हुन्छ । जसरी कसैले मान्न पाउँछन्, त्यसरी नै नमान्न पनि ।

अनुसन्धानकर्ता तथा लेखक कैलाश राई भन्छिन्, ‘पदमा महिला, पुरुष वा अन्य लैगिंक पहिचान भएका व्यक्ति जो भए पनि व्यक्तिगत आक्षेप र गाली गलौज गर्न पाइँदैन ।’

यस्तै, जनता समाजवादी पार्टीकी नेता सरिता गिरीलाई सीमाका विषयमा बोलेकै कारण पार्टीले सांसदबाटै निष्कासन गरेको थियो । सामाजिक सञ्जाल प्रयोगकर्ताले त उनलाई देशबाटै निकाल्नुपर्ने अभिव्यक्तिसम्म दिन भ्याएका थिए । अभिनेत्री मनिषा कोइरालाले लिपुलेकदेखि लिम्पियाधुरासम्म समटिएको नक्सा सार्वजनिक गरेकामा नेपाल सरकारलाई धन्यवाद दिइन् । त्यसपछि भारतका सामाजिक सञ्जाल प्रयोगकर्ताहरू उनीविरुद्ध खनिए । र, महिला भएकै कारण तथानाम गाली गर्न भ्याए । काठमाडौं विशालनगरस्थित उनको घरमा ढुंगामुढा पनि भयो ।

स्तम्भकार सरिता तिवारीको भनाइमा समाजमा पितृसत्तात्मक चेत हालीमुहाली रहेकै कारण महिलालाई ट्रोल बनाउने प्रवृत्ति फस्टाएको हो । नेता झाँक्रीको अभिव्यक्ति राष्ट्रपति व्यक्तिप्रति नभएर पद र पदीय मर्यादामाथि भएको तिवारीको भनाइ छ ।

अनुसन्धानकर्ता तथा लेखक कैलाश राई भने पुरुषमा मात्र नभई महिलामा पनि पितृसत्तात्मक चेत रहेकाले यस्ता अभिव्यक्ति आउनले गरेको बताउँछिन् । ‘राष्ट्रपति पदमा महिला नभएर पुरुष हुन्थ्यो भने चरित्रमाथि आक्रमण गरिँदैनथ्यो,’ उनी बताउँछिन् । पुरुषमाथि गरिने र महिलाको चरित्रमाथि उठाइने प्रश्नको धरातल नै फरक रहेको उनी बताउँछिन् ।

पूर्वसांसद तथा लेखक कुन्ता शर्मा भन्छिन्, ‘महिला भएर पनि महिलाको अस्तित्व स्वीकार्न नसक्नु पनि सामन्ती पितृसत्ताकै उपज हो । पुरुषवादी नेपाली समाजमा महिलाले पुरुषसरह नेत्तृत्व लिन सक्दैनन् भन्ने मानसिकता कायम रहेका उदाहरण हुन् यी ।’

कुनै महिलालाई असक्षमताको आक्षेप लगाउन उसको चरित्रमाथि प्रहार गरेपछि थला पार्न सकिन्छ भन्ने मनोविज्ञान समाजमा हाबी देखिन्छ । महिला र पुरुष हुर्किने संरचना, धर्म र संस्कार तथा महिला र पुरुषको विभेदपूर्वक हुर्काइले पनि महिलाको नेतृत्व स्वीकार्ने मानसिकता तयार नभइसकेको राई बताउँछिन् । ‘पदमा महिला, पुरुष वा अन्य लैगिंक पहिचान भएका व्यक्ति जो भए पनि व्यक्तिगत आक्षेप र गाली गलौज गर्न पाइँदैन,’ उनी भन्छिन्, ‘राष्ट्रपतिले महिलाको हक–अधिकार निम्ति काम गरे–नगरेको भन्ने अलग्गै मूल्यांकनको विषय हो । तर, त्यसलाई चरित्रसँग जोडेर टिप्पणी गर्नु गलत हो ।’

नेतृत्व दिन महिला कमजोर छैन भन्ने कोभिड–१९ महामारीयता विश्वभर उदाहरण दिइने गरेको छ– न्युजिल्यान्डका प्रधानमन्त्री जेसिन्डा आर्डेन, जर्मनीका चान्सलर एन्जेला मर्केल र वैज्ञानिक डा. सराह क्याथरिन गिल्बर्ट । प्रधानमन्त्री आर्डेन र चान्सलर मर्केलले अन्य मुलुक कोभिड–१९ महामारीमा पिल्सिइरहँदा आफ्ना मुलुकमा महामारी नियन्त्रणमा सफलता प्राप्त गरेका थिए । यस्तै, कोरोनाविरुद्ध खोप तयार पारेर डा. गिल्बर्टले संसारभरबाट प्रशंसा बटुलेकी थिइन् । नेपालमा पनि महिलाले आफ्नो नेतृत्व क्षमता बेलाबेलामा प्रदर्शन गरेका छन् । त्यसैले फरक लैंगिकताकै कारण उनीहरूमाथि प्रश्न उठाइनुको कुनै अर्थ देखिँदैन ।

प्रकाशित मिति: १४:४९ बजे, मंगलबार, माघ २७, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्